• १३ साउन २०८१, आइतबार

युवा नीति निर्माण अन्तिम चरणमा

blog

गलकोट,  जेठ ३१ गते । गण्डकी प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रालयले प्रदेश युवा नीति निर्माणलाई अन्तिम चरणमा पु-याएको छ । मन्त्रालयले युवा नीतिका लागि तयार पारेको मस्यौदाउपर अन्तरक्र्रिया, राय तथा सुझाव सङ्कलनको कामलाई तीव्रता दिएको छ ।

युवालाई स्वदेशमै रोजगारी दिने, खेलकुद क्षेत्रमा लागेका युवालाई प्रोत्साहन गर्ने, सीप सिकाएरमात्रै स्वरोजगार बनाउनेलगायतका विषय समावेश गरेर प्रदेशस्तरीय युवा नीति बनाउनका लागि मस्यौदाउपर छलफल गरिरहेको गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले जानकारी दिनुभयो । उहाँले अहिले ११ जिल्लाका युवाबाट सुझाव सङ्कलन गरिरहेको बताउँदै युवाको सुझाव तथा सल्लाहबाट मात्रै युवा नीति ल्याउने योजनाका साथ प्रदेशका ११ जिल्लामै युवा भेला गरेर सुझाव सङ्कलन गरिरहेको बताउनुभयो । 

“युवालक्षित कार्यक्रम अब नीतिअनुसार आउनेछन्, जसका लागि युवा नीतिको खाँचो परेको थियो, मस्यौदा तयार भइसकेर राय तथा सुझाव सङ्कलन भइरहेको छ”, अधिकारीले भन्नुभयो, “युवा नीतिलाई प्रभावकारी बनाउनका लागि प्रत्यक्ष युवाको रायका लागि सुझाव आवश्यक हुन्छ, त्यसैले जिल्ला–जिल्लामा मन्त्रालयको टोली पुगेर युवा भेला गर्दै सुझाव सङ्कलन गर्दै हिँडेका छौँ, केही महत्वपूर्ण सुझाव आएका छन्, हामी सुझावअनुसार नीति बनाएर कार्यान्वयनमा जान्छौँ ।”

उहाँले सोमबार बागलुङमा युवा भेला गरेर मस्यौदाउपर सुझाव सङ्कलन गरिएको र ११ जिल्लाबाट सङ्कलन भएको सुझावका आधारमा नीति ल्याउने उहाँको भनाइ छ । सुझाव सङ्कलन भेलामा प्रस्तुत गरिएको नीतिउपर बागलुङका युवाहरूले भाषा तथा संस्कृति संरक्षणमा युवालाई अग्रसरता दिने, अपाङ्गमैत्री खेलकुद संरचना तयार पार्ने, खेलाडीलाई प्रोत्साहन गर्ने, युवा स्वरोजगारका लागि रचनात्मक कार्यक्रम ल्याउने नीति बनाउन सुझाव दिएका थिए । मन्त्रालयले युवा नीतिमार्फत युवा तथा खेलाडी लक्षित कार्यक्रम ल्याउने गरी प्रदेश युवा नीति बनाउन थालेको हो । 

लोकमार्गको सदरमुकाम खण्ड ११ किमी कालोपत्र

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत बागलुङ जिल्ला सदरमुकामअन्तर्गत बागलुङ बजारबाट खहरेसम्म सडक कालोपत्र भएको छ । बागलुङ बजारको उपल्लाचौरबाट घोडाँबाधेसम्मको सडक दुई खण्डमा विभाजन गरी ठेक्का सम्झौता गरिएको सडक तल्लो खण्डको खहरेसम्म र उपल्लो खण्डमा इनारपानीसम्म सडक कालोपत्र भइसकेको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालयले जनाएको छ । उक्त खण्डमा ठेक्का सम्झौता भएको छ वर्षपछि सडक कालोपत्र भइरहेको छ । अहिले बागलुङ बजार खण्ड र बिहुँ खण्डमा कालोपत्रको काम भइरहेको छ । 

लामो समयदेखि अलपत्र मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको सदरमुकाम खण्डमा अहिले धमाधम सडक कालोपत्र र पूर्वाधार निर्माण भइरहेको छ । सडकको अछेते आसपासमा कालोपत्रका लागि नाी निर्माण गर्ने, पर्खाल लगाउने, ग्याबिन लगाउनेलगायतका पूर्वाधारको काम धमाधम भइरहेको छ । सदुमुकामको उपल्लाचौरबाट घोडाँबाधेसम्मको २५ किलोमिटर सडकमध्ये घोडाबाँधे–बिहुँ खण्डमा छ किलोमिटर र उपल्लाचौरबाट खहरेसम्म पाँच किलोमिटर सडक गरी जम्मा ११ किलोमिटर थप सडक कालोपत्र सम्पन्न भइसकेको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आयोजना कार्यालय पर्वतका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिनुभयो । 

“उपल्लो खण्डमा त केही ढिलाइ भएको छ, तल्लो खण्डमा कामको सन्तोषजनक अवस्था छ । अहिले खहरेबाट अछेतेसम्म असारअघि कालोपत्र गर्ने हाम्रो योजनाअनुरुप बेश हाल्ने काम भइरहेको छ, उपल्लो खण्डमा सामान्य काम भइरहेको छ”, भण्डारीले भन्नुभयो, “२५ किमीमध्ये ११ किमी सडक कालोपत्र भइसकेको छ” अब १४ किमी सडक कालोपत्र र्न बाँकी छ, असारसम्म चार किमी कालोपत्र गर्ने लक्ष्य छ ।”

भण्डारीले असारसम्म पानीले समस्या नपारे हदैसम्म सडक सुधार हुने बताउनुभयो । उहाँले केही सडक कालोपत्र सम्पन्न भइसक्दा यो बर्खामा यात्रुले यात्रामा केही कम सास्ती खेप्नेछन् । अहिले भइरहेको कामको प्रगति हेर्दा लोकमार्ग कालोपत्रले सार्थकता पाउने आसमा स्थानीयवासी छन् । २६ वर्षदेखि सडकको धुलो खादै आएका जनता लोकमार्गले पूर्णता पाउनेमा आशावादी छन् । लोकमार्गको टाउको दुखाइ रहेको बोक्से–खाल्टोले समेत यो बर्खामा सताउने छैन । अहिले बोक्सेको पहिरोग्रस्त क्षेत्रमा ३०० मिटर क्षेत्रमा ढलान गरिएको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत जिल्ला सदरमुकाम खण्डको २५ किमीबाहेक अन्य सडक यसअघि नै कालोपत्र भइसकेको छ । 

उपल्लाचौरबाट अक्षेते–बिहुँ खण्ड विसं २०७३ माघ १४ गते भारत/सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाँधे खण्ड २०७२ माघ १० गते एमपी/एससिएफ/इसिसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा कालोपत्र गर्ने ठेक्का सम्झौता गरेको थियो । कूल एक हजार ७७६ किमी लोकमार्गको बागलुङ खण्डमा मात्रै १४२ किमी पर्छ ।