राजन रावत
हुम्ला, जेठ २२ गते । कर्णाली करिडोरको हुम्ला जिल्ला भित्र पर्ने बोक्चे गौडादेखि याङ्चुकुना सडकको स्तरोन्नती गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । सेनाले निर्माण कार्य धमाधम गरिरहेका कारण सडक निर्माण अन्तिम चरणमा पुगेको हो ।
नेपाली सेना विकास निर्माण दलका गुल्मपति अम्रित पराजुलीले उक्त क्षेत्रको सडकको स्तरोन्नती गर्ने कार्यको जिम्मेवारी पाएका बताउनुभयो । उहाँले बोक्चे गौडामा पाँँच मिटर कडा चट्टानलाई तल झार्ने कार्य पूरा भएको र अब तीनदेखि चार राउण्ड विस्फोट गरेपछि सो खण्डको सडकको निर्माण कार्य पूरा हुने बताउनुभयो ।
यसैगरी, उहाँले याङ्चुकुनादेखि भिगौडासम्मको चार सय मिटर सडकको स्तरोन्नती गर्ने कार्य पूरा भएको बताउनुभयो । सो सडक आठदेखि दस मिटर चौडा रहेको । त्यस्तै, भिगौडामा पनि विस्फोट गर्ने कार्य जारी रहेको र आवश्यक परे राति पनि विस्फोट गर्ने कार्य भइरहेको छ । उक्त क्षेत्रमा हालको मोडल सिधा सडकमा लिनु पर्ने भएका कारण केही समय लाग्ने छ । याङचुकुनाको काम सकिएको र बोक्चे गौडाको काम अन्तिम चरणमा पुगेकाले अव सबै जनशक्ति र मेशिन पनि भिगौडामा परिचालन गरिने उहाँले बताउनुभयो । बोक्चे गौडामा पनि आठददेखि दस मिटर सडक हालको अवस्थाभन्दा तल झरिने छ ।
बोक्चे गौडा सडक चार दिन सुचारु हुने
बोक्चे गौडा सडक चार दिनका लागि सुचारु हुने भएको छ । सर्वसाधारण र विकास निर्माणको कार्यलाई ध्यानमा राखेर हाल सो स्थानमा सडकको स्तरोन्नती कार्य गर्दै आएको नेपाली सेनाले निर्माण कार्य रोकेर सडक सुचारु गर्न लागेको हो । बोक्चे गौडा र भिगौडा कडा चट्टनी भिरमा सडक स्तरोन्नती गर्ने कार्य गर्दै आएको काम जिम्मा पाएको नेपाली सेनाले चार दिन काम रोकेर सो क्षेत्रमा सडक सुचारु गर्ने प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो ।
उहाँँले यही जेठ २४ देखि २७ गतेसम्म उक्त खण्डको सडक सुचारु हुने बताउनुभयो । असार मसान्त लागेको र सर्वसाधारणको हितलाई ध्यानमा राखी निर्माण कार्य रोकेर यतायात सेवा सुचारु गर्न लागिएको हो । सेनाको यस कार्यवाट चार दिन लगातार साना ठुला सबै खाले यातायातका साधनहरु सुचारु हुन पाउने छन । गत चैत २५ गतेबाट सेनाले सो खण्डमा काम गर्दै आएको छ । यो सहित तेस्रो पटक काम रोकेर यातायात सेवा सुचारु हुन गएको हो ।