इनरुवा समाचारदाता
इनरुवा, जेठ २२ गते । स्वदेशमा बेरोजगारी समस्या बढेकाले सुनसरीबाट मात्रै वार्षिक २३ हजार जनाभन्दा बढी वैदेशिक रोजगारमा जाने गरेका छन् । स्वदेशमा काम नपाउने, पाएको काममा पनि सोचे अनुसारको पारिश्रमिक नपाउने समस्या रहेकाले बर्सेनि रोजगारीका लागि बिदेसिनेको सूची बढ्दै गएको तथ्याङ्क सार्वजनिक भएको छ ।
सुनसरीबाट आर्थिक वर्ष २०८०/८१ मा २३ हजार ९४९ नागरिक वैदेशिक रोजगारीमा गएको तथ्याङ्क रहेको सुरक्षित आप्रवासन (सामी) कार्यव्रmम जिल्ला संयोजक धीरज भट्टराईले जानकारी दिनुभयो । आप्रवासन जाने बढेकाले विप्रेषणसमेत बढेको भट्टराईको भनाइ छ । वैदेशिक रोजगारमा पछिल्लो समय महिलासमेत जाने व्र्रmम बढेको छ । दशकअघि १० देखि २० जना महिला मुस्किलले विदेश रोजगारीका लागि गएकामा अहिले एक वर्षमा दुई हजार ३४९ जना अर्थात् ९.८० प्रतिशत महिला वैदेशिक रोजगारीमा गएका छन् ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार चालु आवको पुससम्ममा जिल्लाबाट वैदेशिक रोजगारीमा १३ हजार १२२ जना गएकामा त्यसमा एक हजार ३६१ जना महिला रहेका छन् । कोशी प्रदेशबाट एक लाख ६० हजार ६७२ जना वैदेशिक रोजगार भएकोमा ४.७० प्रतिशत महिला वैदेशिक रोजगारीमा गएका छन् । सुनसरीसहित कोशी प्रदेशबाट वैदेशिक रोजगारको मुख्य गन्तव्य मलेसिया, कतार, दुबई, कुबेत, कोरिया, रोमानिया, क्रोएसिया, माल्टा, साइप्रस र माल्दिभ्सलगायतका मुलुक रहेका छन् ।
श्रम स्वीकृति नलिई वैदेशिक रोजगारमा जानेको सङ्ख्या पनि उल्लेख्य रहेको सरोकारवालाको भनाइ छ । वैदेशिक रोजगारीका लागि खुला गरिएका १११ वटा देशमा हाल रोक्का गरिएका देश अफगानिस्तान, लिबिया, इराक, रसिया र युक्रोन रहेको छ । व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर गएका १७८ देश रहेको भट्टराईले जानकारी दिनुभएको छ । यसैबिच वैदेशिक रोजगारीका नाममा हुने ठगी, उद्धार र राहतका विषयमा जानकारी दिने उद्देश्यले सुरक्षित आप्रवासन (सामी) कार्यव्रmमले जिल्ला प्रहरी कार्यालय र मातहतमा इलाकाका प्रहरीसँग र सुनसरीको इनरुवा नगरपालिकाका स्थानीय जनप्रतिनिधिसँग अन्तव्रिर्mया कार्यक्रम सम्पन्न गरेको छ । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, व्यवस्थित, उपलब्धिमूलक र भरपर्दो बनाउने उद्देश्यले सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत स्थानीय जनप्रतिनिधि, सरोकारवाला र कर्मचारीसँग अन्तव्रिर्mया सम्पन्न गरेको हो ।