• २३ जेठ २०८२, शुक्रबार

‘विपत् व्यवस्थापनमा समुदाय परिचालन जरुरी’

blog

भैरहवा समाचारदाता

भैरहवा, जेठ २२ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मनसुनजन्य विपतकाे पूर्वतयारी र प्रतिकार्यका लागि उच्च सतर्कताका साथ तयारी अवस्थामा रहन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । 

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी) मा बुधबार आयोजित प्रदेश विपत्‌ व्यवस्थापन परिषद्को बैठकलाई सम्बोधन गर्दै उहाँले अन्य प्रदेशको तुलनामा लुम्बिनी प्रदेश सबैभन्दा बढी प्रभावित हुने प्रक्षेपण गरिएकाले उच्च सतर्कता आवश्यक भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मनसुनजन्य विपत्बाट लुम्बिनी प्रदेश सबैभन्दा बढी प्रभावित हुने आकलन गरिएको छ । त्यसैले क्षति न्यूनीकरणमा ध्यानकेन्द्रित गरी उच्च सतर्कताका साथ खटिन आवश्यक छ । समुदायको परिचालनबाट मात्रै विपत्बाट हुने क्षति न्यूनीकरण गर्न सकिन्छ ।” 

मुख्यमन्त्री आचार्यले विपत्पूर्वको अवस्थाबाट नै प्रभावकारी सूचना प्रवाह, सुरक्षित स्थानको व्यवस्था, नागरिक शिक्षा तथा सचेतनामूलक अभियान सञ्चालन, खोज तथा उद्धार कार्य प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । उहाँले जोखिमयुक्त क्षेत्रमा सुरक्षाकर्मी तथा स्वयंसेवक परिचालन गर्नुपर्ने तथा विपत्पछिको राहत, पुनस्र्थापन, खाद्यान्न उपलब्ध, शुद्ध खानेपानी र स्वास्थ्य सेवा सुनिश्चित गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय विपत्‌ जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२’ अनुसार यस वर्ष लुम्बिनी प्रदेश सबैभन्दा बढी प्रभावित हुने देखिएको छ । उक्त कार्ययोजनाका अनुसार लुम्बिनीमा करिब एक लाख १९ हजार ८३० घरधुरीका पाँच लाख २३ हजार ६५६ जनसङ्ख्या प्रभावित हुने अनुमान गरिएको छ । सोही अनुसार प्रदेश तहमा सतर्कता र तयारीका काम अघि बढाइएको छ ।

आठ हजार परिवार प्रभावित

लुम्बिनी प्रदेशमा पछिल्ला एक दशकमा वर्षमा मनसुनजन्य विपत्का एक हजार ६१८ घटना भएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपत्‌ फोकल पर्सन गङ्गाधर पाण्डेले ती घटनामा ४५९ जनाको मृत्यु, ६१९ जना घाइते, ३२ जना बेपत्ता र आठ हजार ३१५ परिवार प्रभावित भएको जानकारी दिनुभयो ।

गत वर्ष मात्रै २९२ विपत्का घटना भएका थिए । मानवीय क्षतिको हिसाबले सबैभन्दा धेरै २०७३ सालमा १०७ जनाको ज्यान गएको थियो । गत वर्ष लुम्बिनी प्रदेशमा बाढी, पहिरो, भारी वर्षाका कारण ५३ जनाको मृत्यु, ७० जना घाइते, नौ जना बेपत्ता र १०९ परिवार प्रभावित भएका थिए । करिब ५४ करोड रुपियाँ बराबरको क्षति भएको थियो । जल तथा मौसम विज्ञान कार्यालय भैरहवाका वरिष्ठ मौसमविद्‌ वरुण पौडेलले यस वर्ष लुम्बिनी प्रदेशका पहाडी जिल्लामा अधिक वर्षाको सम्भावना रहेकाले त्यस अनुसार प्रभावकारी विपत्‌ प्रतिकार्य योजना निर्माणमा जोड दिनुपर्ने बताउनुभयो ।