घोराही समाचारदाता
घोराही, जेठ २२ गते । दाङको घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत ग्वारखोलामा पुल निर्माण सुरु भए पनि कालाखोलामा काम हुन सकेको छैन । पुल निर्माणका लागि ग्वारखोला र कालाखोलामा तीन वर्षअघि शर्मा सगुन जेभीसँग ठेक्का सम्झौता भएको थियो ।
निर्माण व्यवसायीको चरम लापर्बाहीका कारण ठेक्का सम्झौता भएको तीन वर्षसम्म पनि कालाखोलामा पुल निर्माणको काम हुन सकेको छैन । २०८२ भदौ २८ गते कालाखोलामा पुल निर्माणको काम सक्ने गरी २०७९ असार २९ गते शर्मा सगुन जेभी बुटवलसँग ठेक्का सम्झौता भएको थियो । सम्झौताको म्याद सकिन चार महिना मात्र बाँकी रहँदासम्म पनि काम सुरु भएको छैन ।
पुल सेक्टर कार्यालय नेपालगन्ज बाँकेका इन्जिनियर रामकिसुन चौधरीले ९० मिटर लम्बाइ र २०.५ मिटर चौडाइ रहेको चार लेनको पुल निर्माणका लागि १७ करोड ८२ लाख ७९ हजार आठ सय रुपियाँमा ठेक्का सम्झौता भएको जानकारी दिनुभएको छ । उहाँका अनुसार पुल निर्माणको कामलाई अघि बढाउन पटक पटक निर्माण कम्पनीलाई ताकिता गर्दासमेत काम अघि बढ्न सकेको छैन । एउटै निर्माण कम्पनीले धेरै ठाउँमा ठेक्का लिने तर काम गर्ने जनशक्ति कम हुँदा पुल निर्माणमा ढिलाइ भएको छ ।
इन्जिनियर चौधरीले निर्माण व्यवसायीको लापर्बाहीका कारण काम नै सुरु नभएर सम्झौता म्याद सकिने अवस्था देखिएको बताउनुभयो ।
ग्वारखोलामा काम सुरु
घोराही–तुलसीपुर सडकखण्डकै ग्वारखोलामा भने म्याद सकिने बेला पुल निर्माणको काम सुरु भएको छ । म्याद सकिन चार महिना मात्र बाँकी रहेको समयमा पुल निर्माणको काम सुरु भएको हो ।
ग्वारखोलामा दुई लेन पुल शर्मा सगुन जेभीले निर्माणको जिम्मा पाएको छ । पुल निर्माणका लागि शर्मा सगुन जेभीसँग २०७९ असार २९ गते ठेक्का सम्झौता गरेको थियो । पुल सेक्टर कार्यालय नेपालगन्ज बाँकेका इन्जिनियर रामकिसुन चौधरीले २०८२ भदौ २८ गतेभित्र पुल निर्माणको काम सक्ने गरी २२ करोड पाँच लाख ४७ हजार पाँच सय रुपियाँमा ठेक्का सम्झौता भएको बताउनुभयो ।
उहाँका अनुसार ग्वारखोला पुलको लम्बाइ २२० मिटर र चौडाइ ११ मिटर रहेको छ । इन्जिनियर चौधरीका अनुसार निर्माण कम्पनीले ग्वारखोलामा फाउन्डेसन निर्माणको काम सुरु गरेको छ । पुल निर्माणको काममा भएको ढिलाइका कारण सम्झौता मितिमा काम सकिने अवस्था छैन । ग्वारखोलामा दुई लेन पुल पहिले बनिसकेकाले अहिले अर्को दुई लेन पुल बन्दै छ ।