• २३ जेठ २०८२, शुक्रबार

आइबिएसको समस्या र समाधान

blog

आइबिएस (इरिटेबल बाउल सिन्ड्रोम) को बारेमा जानकारी हुन जरुरी छ । किनकि यस रोगको बारेमा धेरैमा जानकारी छैन । यो रोग ४० वर्षमाथिका युवा विशेष गरी महिलामा १५–२५ प्रतिशतको हाराहारीमा देखिन्छ । साथै युवामा मात्र नभई बालबालिका र वृद्धहरूमा पनि हुन सक्छ । आइबिएस पेट तथा आन्द्रासँग सम्बन्धित सामान्य तथा जटिल समस्या हो । जसको मुख्य समस्याका रूपमा पेट दुख्ने, पेट फुल्ने, ग्यास बन्ने, दिशा असामान्य हुने, खाना खाएपछि दिशा लाग्ने, दिशा गरिसकेपछि राहत महसुस हुने हुन्छ । यी समस्या सँगसँगै कसै कसैमा झाडा र कब्जियत वा दुवै समस्या देखिन सक्छ । यी समस्याले मानिसको दिनचर्या तथा गुणस्तरमा असर पार्ने गर्छ । यो दीर्घकालीन (क्रोनिक) रोग हो, यसको पूर्ण उपचार छैन तर नियन्त्रण सम्भव छ । यो समस्या रोगभन्दा पनि आन्द्राको कार्य असन्तुलन तथा आन्द्रासम्बन्धी चिडचिडापनको समस्याले आउने समस्या हुन् । 

रोगका मुख्य लक्षण 

यो रोगमा पेट दुख्ने तथा चाप बढ्ने, पेटमा ऐँठन हुने गर्छ । यस्तै दिशामा परिवर्तन (झाडा, कब्जियत वा दुवै), दिशा असामान्य देखिने (बनावट, रङ र गन्ध) हुन्छ । साथै पेटको बिच भागमा दुख्ने, फुल्ने, ग्यास भरिने, खाना खाएपछि दिशा लाग्ने, दिशा गरेपछि केही राहत महसुस हुने हुन्छ । सबै लक्षणमध्ये केही मात्रै पनि हुने तथा यी लक्षण हप्तामा एक दुईचोटि र कम्तीमा तीन महिना वा बर्सौंसम्म बारम्बार दोहोरिने गर्छ । यी लक्षणहरू प्रायः समय समयमा बर्सांैसम्म बारम्बार दोहोरिने गर्छ । मानसिक तनाव तथा विशेष खाना खाँदा लक्षणहरू झन् तीव्र हुन जान्छ ।

आइबिएसका कारण

आइबिएसको ठ्याक्कै कारण थाहा छैन । कारण पत्ता लगाउन विविध अनुसन्धान पनि हुँदैन । आन्द्रा लामो पाइप जस्तो हुन्छ, जसको लम्बाइ करिब छ–आठ मिटरसम्म हुन्छ । यसलाई चलाउनका लागि खाना एक ठाउँबाट अर्को ठाउँमा जानका लागि एक प्रकारको बेगले आन्द्राको मांसपेशीलाई सार्ने काम गर्छ । यो बेग राम्ररी उत्पन्न नभएर अथवा बढी सक्रिय भए पेट दुख्ने, झाडा वा कब्जियतका समस्याहरू आउने गर्छ । यसका सटिक कारण थाहा नभए पनि शारीरिक तथा मानसिक तनाव, चिन्ता तथा डिप्रेसन, आन्द्रा र मस्तिस्कबिचको सन्देश आदानप्रदानमा समस्या भई नशा प्रणालीको समस्या हुनु, केही खाद्य पदार्थ र पेय जस्तै कसैलाई दुध, मैदा, मसलेदार वा बोसोयुक्त खाना आदि, आन्द्राको असामान्य सङ्कुचन, आन्द्राको सूक्ष्म जीवमा असन्तुलन र आन्द्रामा स–सानो सङ्क्रमण जस्ता कारणले यो समस्या हुने गर्छ । 

पहिचान र जाँच 

आइबिएसको पहिचानका लागि कुनै निश्चित परीक्षण छैन । यो रोगमा कुनै पनि क्षेत्रमा आँखाले देखिने परिवर्तन हुँदैन । किनभने यसमा शरीरको काम गर्ने तरिका मात्रै बिग्रिएको हुन सक्छ । यसको पहिचानको लागि बिरामीसँगको कुराकानी तथा पुरानो इतिहास वा अरू कुनै गम्भीर रोग नभएको यकिन गरेपछि यो रोग हुन सक्ने अनुमान गरिन्छ । आइबिएसका लक्षणसँगै केही गम्भीर रोगका केही सावधानी सङ्केत हुन्छन्, जस्तै उमेर ५० वर्षमाथि, रातिको समयमा दिशा लाग्नु, पेटको दुःखाइ बढ्नै जानु, तौल अकस्मात् घट्नु, रक्तअल्पता (रगतको कमी) विशेष आइरनको कमी, थकावट तथा रिँगटा लाग्नु, परिवारमा आन्द्राको अर्बुद रोग तथा क्यान्सर भएमा र ज्वरो आउनु । त्यस्तो अवस्थामा तुरुन्तै जाँच        (कोलोनोक्कोपी), आन्द्राको परीक्षण, रगत, दिशा परीक्षण गर्नु पर्छ । गम्भीर रोगका सङ्केत देखिएमा तुरुन्तै पेट रोग विशेषज्ञ चिकित्सकलाई भेटेर उपचार सुरु गर्नु पर्छ । 

उपचार तथा नियन्त्रण

यो समस्या पूर्ण रूपमा निको नहुने हुँदा यसका लक्षणहरूलाई नियन्त्रण गर्न सकिन्छ । त्यसका लागि खानपानमा सुधार, मानसिक स्वास्थ्यको हेरचाह, जीवनशैलीमा परिवर्तन तथा औषधीले मद्दत पु¥याउन सक्छ । बिरामीले हप्ताभरिको तालिका तयार गरी कुन खानेकुराले आफूलाई असहज बनाएको छ त्यो पत्ता लगाई त्यस्ता खानपान बार्नु पर्छ । बढी कब्जियत भएकाहरूलाई फाइबरयुक्त खानाले फाइदा देखिए पनि सबैलाई फाइदा नहुन पनि सक्छ । फोडम्याप खाना जुन कार्बोहाइडेट भएको खाना (जस्तै मैदा, दुधजन्य पदार्थ, काउली, बन्दाकोभी, स्याउ, आलु, मिठाई) खानामध्ये छ देखि आठ हप्तासम्म कम खाएर हेर्नु पर्छ । ध्यान, योग, थकान कम गर्ने, चिन्ता कम गर्ने, राम्रो निद्रा आउने गरी सुत्नु पर्छ । पेट दुख्ने तथा ऐठन कम गर्ने, झाडा कम गर्ने, कब्जियत कम हुने तथा मानसिक तनाव कम गर्ने, एन्टी डिप्रेसन औषधीले मद्दत पु¥याउन सक्छ तर यस्ता औषधीको प्रयोग सम्बन्धित विशेषज्ञ चिकित्सकको सल्लाहबमोजिम मात्रै लिनुपर्ने हुन्छ । 

पेट दुख्ने सबै समस्या ग्याष्ट्रिक मात्रै नभई आइबिएस पनि मुख्य कारण हुन सक्छ । जथाभाबी ग्याष्ट्रिकको औषधी सेवन नगरौँ । बहिरङ्ग (ओपीडी) सेवामा आउने प्रत्येक १० जना बिरामीमध्ये तीनदेखि पाँच जना बिरामीमा आइबिएससम्बन्धी समस्या देखिएको छ । यो कुनै रोगभन्दा पनि आन्द्राको चिढचिढाहटको लक्षण हो । खानपानमा परिवर्तन तथा तनावयुक्त जीवनशैलीबाट छुट्कारा लिएपछि यसलाई नियन्त्रण गर्न सकिन्छ ।