कृष्णबहादुर धामी
दार्चुला, जेठ २२ गते । नेपाल–भारत सीमा क्षेत्रमा हुने वन्यजन्तुको चोरी सिकारी अवैध व्यापार नियन्त्रणका लागि सूचना तथा तथ्य र तथ्याङ्क आदान–प्रदान गरेर अपराध नियन्त्रण गर्न नेपाल र भारतका सरकारी अधिकारीबिच सहमति भएको छ ।
नेपालको दार्चुला, बैतडी र डडेल्धुरा जिल्लाका वन अधिकृत तथा भारतको पिथौरागढ जिल्लाका वन अधिकृतबिच दार्चुला जिल्ला सदरमुकाम खलङ्गामा बुधबार भएको जैविक विविधता संरक्षणका लागि नेपाल–भारत सीमापार बैठकमा उक्त सहमति भएको हो ।
नेपाल–भारत सीमा क्षेत्रमा पर्ने पहाडी र उच्च पहाडी भू–भाग जैविक विविधता संरक्षणका लागि महत्त्वपूर्ण क्षेत्र रहेको बताइएको छ । यो क्षेत्रमा वन्यजन्तुले सीमा ओहोरदोहोर गर्ने गरेको वन तथा वन्यजन्तु संरक्षणकर्मीहरुले बताएका छन् । नेपाल–भारत सीमा क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व, वन स्रोतको अति दोहन यार्सागुम्बा, वन्यजन्तुको चोरी सिकार, अवैध व्यापार चुनौती रहेको विषयमा बैठकमा बृहत छलफल गरी निर्णय गरेको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका वार्डेन विनय झाले बताउनुभयो ।
भारतको वन डिभिजन कार्यालय पिथौरागढअन्तर्गतको धारचुला क्षेत्रमा पर्ने वन र नेपालको अपिनाम्पा संरक्षण क्षेत्रको उत्तरी क्षेत्रमा चरिचरन तथा गैरकाष्ठ वनपैदवारको अति दोहनका कारणले उच्च पहाडी क्षेत्रको पारिस्थितिक प्रणालीमा खलल पुगेको उहाँले बताउनुभयो । छलफलमा उठेका समस्या र चुनौतीहरु सँग जुध्न दुबै देशका सम्बन्धित अधिकारीहरु बिचमा समन्वय, सूचना सम्प्रेषणलाई सहजीकरण गर्न नियमित सञ्चारकार्य गर्ने सहमति भएको डिभिजन वन कार्यालय पिथौरागढका डिभिजन वन अधिकृत आषुतोस सिंहले बताउनुभयो ।
डिभिजन वन कार्यालय बैतडीका वन अधिकृत भरतप्रसाद भट्टले नेपाल–भारत सीमा क्षेत्रको संवेदनशील ठाउँहरुमा नियमित गस्ती गर्ने र वन्यजन्तुको संयुक्त अनुगमन गर्ने, दुई देशका वन जङ्गल र संरक्षित वन्यजन्तुहरुको संरक्षण गर्ने लगायतका विषयबारे समेत बैठकमा छलफल गरिएको बताउनुभयो । बैतडी जिल्लाको पञ्चेश्वर क्षेत्र भारतको पिथौरागढ जिल्ला सङ्ग सीमानाका जोडिएको क्षेत्रमा पर्दछ ।
डिभिजन वन कार्यालय दार्चुलाका वन अधिकृत लक्ष्मीराज जोशीले अन्तर सीमा वन्यजन्तु ओहोरदोहोर गर्ने जैविकमार्गहरुको पहिचान गरी पुनःस्थापन गर्ने, स्थानीयस्तरमा कार्यरत वन संरक्षणकर्मीहरुको क्षमता अभिवृद्धि गर्न संयुक्त तालिम तथा कार्यक्रमहरुको आयोजना गर्ने सहमति भएको जानकारी दिनुभयो ।
बैठक नेपाल सरकार राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) द्वारा सञ्चालित उच्च पहाडी क्षेत्रमा बाघ संरक्षण कार्यक्रमअन्तर्गत आयोजना गरिएको शुक्लाफाँटा संरक्षण कार्यक्रमका वरिष्ठ संरक्षण अधिकृत जोशीले जानकारी दिनुभयो । हिमाली जिल्ला दार्चुलाको अपिनाम्पा संक्षण क्षेत्रभित्र हिँउ चितुवा, रेड पाण्डा, मृग, रतुवा, घोरल, नाउर, झारल, कालो भालु, दुम्सी, थारलगायत वन्यजन्तु तथा डाँफे मुनाल, चिर, चिल, भ्याकुर, च्याखुरा लगायत दुई सयभन्दा बढी प्रजातीका चरा पाइने गर्दछन् । सीमापार बैठकमा नेपाल र भारतका वन अधिकृत, वन तथा वन्यजन्तु संरक्षणकर्मी लगायतको सहभागिता रहेको थियो ।