भारदह समाचारदाता
भारदह (सप्तरी), जेठ २० गते । सप्तरीका किसानलाई चैते धान भित्र्याउने चटारो छ । यहाँका किसान एक हप्तायता चैते धान भित्र्याउन व्यस्त देखिएका हुन् ।
यसपालि १५ दिनपहिले मनसुन भित्रिएकाले पानीमा धान भित्र्याउन समस्या आउने सम्भावना भएकाले खेतमा पाकिसकेको धान भित्र्याउन किसान हतारिएका हुन् । पानी निरन्तर पर्न थालेपछि पाकिसकेको धान भित्र्याउन सकिन्न कि भन्ने डर कृषकमा छ । मौसमी धान असारमा रोपेर मङ्सिरमा काटेपछि खेतमै सुकाएर दाइँ गरेर मात्र भित्र्याइने भए पनि अहिले जेठमा काटेको धान घर लगेर मौसम हेरेर सुकाउनुपर्ने र दाइँ गर्नुपर्ने बाध्यता रहेको किसान बताउँछन् ।
फागुनमा धानको बिउ छर्ने, चैतको सुरुमा रोप्ने र जेठ १५ देखि काट्न सुरु हुन्छ । ८० देखि ९० दिनको छोटो समयमा यो धान उत्पादन भए पनि मङ्सिरमा उत्पादन हुने धानभन्दा दोब्बर उत्पादन हुँदै आएको सप्तरीको किसानको भनाइ छ ।
खेतमा धान काट्दै गरेकी सप्तरीको विष्णुपुर गाउँपालिका–६, गोरगामाकी ५० वर्षीय विन्दादेवी मुखियाले छोटो समयमा दोब्बर धान उत्पादन भए पनि खर्चिलो रहेको बताउनुभयो ।
सप्तरीका १८ वटा पालिकामध्ये विष्णुपुर गाउँपालिका, छिन्नमस्ता गाउँपालिका, राजगढ गाउँपलिका, तिलाठी कोइलाडी गाउँपालिका, महदेवा गाउँपालिका, रूपनी गाउँपालिका, हनुमाननगर कङ्कालिनी नगरपालिका, बोदेबरसाइन नगरपालिका, खडक नगरपालिका र शम्भुनाथ नगरपालिकासहितका स्थानमा यसपालि जिल्लामा दुई हजार पाँच सय हेक्टर जग्गामा चैते धान लगाइएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ ।