गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ १९ गते । किसानले सरकारद्वारा तोकिएको चैते धानको न्यूनतम समर्थन मूल्य पाउन सकेका छैनन् । सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार ८६९ रुपियाँ तोकेको भए पनि बजार मूल्य एक हजार ६२५ क्विन्टलमा समेत धान बिक्री नभएर कुहिने अवस्था आएको छ ।
यसबाट किसान हतोत्साही भएको धारणा अखिल नेपाल किसान महासङ्घले व्यक्त गरेको छ । चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्लटल दुई हजार ८६९ रुपियाँ भए तापनि हालको बजार मूल्य प्रतिक्विन्टल सरदर एक हजार ६२५ (प्रतिमन ६५०) रुपियाँ मात्र भएको र उक्त मूल्यमा समेत धान बिक्री नभई कुहिने अवस्थाले किसान हतोत्साही भइरहेको प्रति अखिल नेपाल किसान महासङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
सरकारले औपचारिकताका लागि न्यूनतम समर्थन मूल्य निर्धारण गरिदिने तर खरिद गर्ने व्यवस्था नगरी किसानलाई बारम्बार झुक्याउने, हरेक क्षणमा हतोत्साही र निराश बनाउने प्रवृत्ति आपत्तिजनक रहेको महासङ्घले जनाएको छ ।
सरकारको मन्त्रीपरिषद् (२०८१ फागुन २१) गते बसेको बैठकले चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार ८६९ निर्धारण गरेको थियो । समयमै धानको समर्थन मूल्य निर्धारण भएकाले किसानले उत्साहित भई चैते धान लगाएका थिए । सरकारले तोकेको न्यूनतम समर्थन मूल्य र बजार मूल्यबिच ठुलो अन्तर रहेको छ । महासङ्घका अध्यक्ष डा. प्रेम दङ्गालले सरकारले न्यूनतम समर्थन मूल्य निर्धारण गरिसकेपछि धान उत्पादन हुनासाथ उक्त मूल्यमा धान खरिद गर्ने सुनिश्चित गर्नुपर्ने माग गर्नुभयो ।
उत्पादित धान किसानबाट खरिद गरी भण्डारण गर्ने र आवश्यकता अनुसार वितरण गर्नका लागि खाद्यव्यवस्था तथा व्यापार कम्पनीमार्फत खरिदको व्यवस्था गर्न महासङ्घले सरकारसँग माग गरेको छ ।
साथै महासङ्घले चैते धान तोकिएको मूल्यमा यथाशीघ्र खरिद गर्न र निर्धारित मूल्यभन्दा कममा बिक्री गरिएका धानको समर्थन मूल्य बराबरको रकम किसानले प्राप्त गर्ने गरी शोधभर्नाको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।