कविराज घिमिरे
हिले, जेठ १९ गते । धनकुटाको पाख्रिबास नगरपालिकाले पाँच वर्षअघि ठुलो उत्साह र आशाका साथ सुरु गरेको कफी विकास कार्यक्रम अलपत्र परेको छ । नगरपालिका तथा प्रदेश सरकारले गरेको एक करोड रुपियाँभन्दा बढीको लगानी बालुवामा पानी झैँ भएको छ । नगर र प्रदेश सरकार मिलेर एक करोड ३२ लाख रुपियाँ खर्च गरिएको पाख्रिवासको कफी योजनामा अहिले न बिरुवा बाँकी छ, न त पूर्वाधार नै काम लाग्ने अवस्थामा छन् ।
यो कार्यक्रम २०७७ सालमा तत्कालीन नगरप्रमुख वृषबहादुर राईका पालामा सुरु गरिएको थियो । नगरपालिकाले झन्डै ३२ लाख रुपियाँ अनुसन्धान, बिरुवा उत्पादन, नमुना कफी बगान र अन्य तयारीमा खर्च गरेको थियो । प्रदेश सरकारबाट आएको एक करोड रुपियाँ कफी प्रशोधन भवन, हाइटेक नर्सरी र पहुँचमार्ग निर्माणमा प्रयोग गरिएको थियो ।
तथापि अहिले करिब पाँच लाख बिरुवा झाडीमा परिणत भएको छ । ६० रोपनीमा लगाइएको नमुना कफी बगान नष्ट भइसकेको छ । कफी प्रशोधनका लागि निर्माण गरिएको भवन र हाइटेक नर्सरी तोडफोड हुँदा कामै नलाग्ने अवस्थामा पुगेको छ । धनकुटाको पाख्रिबास नगरपालिकाले पाँच वर्षअघि ठुलो आशाका साथ सुरु गरेका कार्यक्रममध्ये कफी कार्यक्रम एक हो । पूरै पालिकालाई कफीमय बनाउने उद्देश्यले सुरु गरिएको यो कार्यक्रम पालिकाको नेतृत्व परिवर्तन भएसँगै जीर्ण अवस्थामा छ । पुरानो नेतृत्वले अघि बढाएको काममा नयाँ नेतृत्वले अपनत्व ग्रहण नगर्दा एक करोड ३२ लाख रुपियाँ स्वाहा भएको छ ।
कफी कार्यक्रम अघि बढाउन तथा हुर्किएका बिरुवा व्यवस्थापन गर्न पटक पटक आग्रह गर्दा पनि वर्तमान जनप्रतिनिधिले बेवास्ता गरेको पाख्रिबास नगरपालिका–८ का निवर्तमान वडाध्यक्ष सीताराम राई बताउनुहुन्छ । बिक्री गर्ने अवस्थाका करिब पाँच लाख बिरुवा काम नलाग्ने अवस्थामा पुगेको उहाँको भनाइ छ ।
तत्कालीन प्रमुख राईले पूर्वाधार निर्माणका लागि पालिकालाई चार रोपनी जग्गा दिएर भवन तथा हाइटेक नर्सरी निर्माण गरिएको थियो । त्यस्तै नमुना बगान प्रमुख राईकै बारीमा बनाइएको आरोप तथा यो कार्यक्रममा भ्रष्टाचार भएको भन्दै २०७९ सालमा अख्तियारमा उजुरी पर्यो ।
त्यसै वर्ष ज्ञानबहादुर गुरुङ प्रमुखमा निर्वाचित भएपछि नयाँ नेतृत्वले यो योजनाको मुद्दा अख्तियारमा परेको भन्दै कुनै पनि काम अघि बढाएन । त्यस्तै कफीका लागि तयार गरिएको पूर्वाधारलगायतको पालिकाको सम्पत्ति संरक्षणमा समेत पालिकाले अहिलेसम्म चासो देखाएको छैन । जसले गर्दा अहिले सबै पूर्वाधार जीर्ण अवस्थामा छन् ।
कफी प्रशोधन भवनका लागि बनेको भवनका झ्यालढोका फुटिसकेका छन् । भवन बन्द गरेर पालिकाले चाबीसम्म लगाएको छैन । यता हाइटेक नर्सरीमा प्रयोग हुने धेरै संरचना भत्किइसकेका छन् । अन्य पूर्वाधारमा समेत धेरै क्षति पुगिसकेको छ ।
पाख्रिबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङ अख्तियारमा उजुरी परेकाले आफूहरूले हात नहालेको बताउनुहुन्छ । “यो हामी आउनुभन्दा पहिले सुरु भएको योजना हो पछि यो योजनाबारे अख्तियारमा उजुरी पर्यो । उजुरी परेको काममा हामीले हात हालेनौँ,” गुरुङ भन्नुहुन्छ । अख्तियारले मुद्दाको छिनोफानो नगरेका कारण समस्या भएको भन्दै उहाँले अख्तियारले यो मुद्दा चाँडो टुङ्ग्याइदिए काम गर्न सजिलो हुने दाबी गर्नुभयो ।
यता अख्तियारले भने उजुरी परे पनि अख्तियारले काम अघि बढाउन नरोकेको जनाएको छ । अख्तियारका सूचना अधिकारी देवीप्रसाद थपलियाले अख्तियारमा उजुरी परे पनि आफूहरूले काम रोक्न नभनेको, पत्राचार नगरेको बताउनुहुन्छ । “हामीले उहाँहरूलाई काम रोक्न पत्राचार गरेको छैनौँ उहाँहरूले काम अघि बढाउन सक्नुहुन्छ,” थपलियाले भन्नुभयो ।
निवर्तमान प्रमुख वृषबहादुर राईले भने यो योजना बाँझो जमिनमा कफी खेती बढाउने उद्देश्यले सुरु गरिएको र यसले समग्र पालिकालाई फाइदा पुग्ने भएकाले यो कार्यलाई निरन्तरता दिनुपर्ने माग राख्दै आउनुभएको छ ।