• २० जेठ २०८२, मङ्गलबार

खानेपानी ट्याङ्की निर्माण, मिटर जडान ढिला हुँदा समस्यामा उपभोक्ता

blog

बङ्गलाचुली गाउँपालिका–७ जबरकोटमा निर्माण गरिएको खानेपानी ट्याङ्की । तस्बिर : लीलाधर वली

लीलाधर वली 

घोराही, जेठ १८ गते । दाङको बङ्गलाचुली गाउँपालिका–७ जबरकोटमा चार वर्षअघि निर्माण भएको खानेपानी योजना विद्युत् मिटर जडान ढिला हुँदा सञ्चालनमा आउन सकेको छैन । सुन्दर बस्ती खानेपानी योजना स्किम नं. २ अन्तर्गत २०७९ सालमा धारापानीमा खानेपानीका लागि पानी सङ्कलन गर्ने ट्याङ्कीदेखि पाइप विस्तार गर्ने काम भएको थियो।

धारापानीबाट पानी लिफ्टिङ गरेर रातामाटा लगेर त्यहाँबाट पाइप लाइनमार्फत घरघरमा पानी पुर्‍याउनका लागि ट्याङ्की निर्माणदेखि पाइपलाइन विस्तार गर्ने काम भएपनि विद्युत् नहुँदा पानी घरघरमा पानी पुर्‍याउन समस्या भएको छ । खानेपानी योजना सञ्चालन नहुँदा स्थानीयलाई खोलामा अस्थायी धारा बनाएर पानी खानुपर्ने बाध्यता रहेको जबरकोट निवासी टिकाराम विश्वकर्मा बताउनुहुन्छ । 

खोलामा अस्थायी धारा बनाएर पानी खाँदा हिउँदमा खास्सै समस्या नभएपनि बर्षादको समयमा धमिलो पानीसँगै पानीमा किराहरु भेटिने र पातपतिङ्गर गल्ने भएका कारण समस्या हुने गरेको बताउनुभयो । 

खानेपानीका लागि स्थानीयलाई धेरै समस्या भएको भन्दै विश्वकर्माले भन्नुभयो, "घरघरमा शुद्ध खानेपानी पुर्‍याउने योजनाअन्तर्गत गाउँमा पानी ट्याङ्की निर्माण भएपछि दुःख हट्छ कि भन्ने लागेको थियो तर वर्षाैंसम्म पनि पानी सञ्चालन नहुँदा शङ्का लाग्न थालेको छ ।" निर्माण भएको खानेपानी योजना सञ्चालनका लागि खानेपानी समितिदेखि वडा कार्यालयलाई पटक पटक भन्दा समेत सञ्चालनमा ढिलाई गरेको बताउनुहुन्छ ।  

निर्माण भइसकेको खानेपानी आयोजना सञ्चालन नहुँदा जबरकोटका स्थानीयसँगै सरस्वती माध्यामिक विद्यालयमा अध्ययनरत बालबालिकालाई समेत समस्या हुने गरेको छ । विद्यालयमा खानेपानी नहुँदा बालबालिका पानी पिउनै लागि खोलासम्म जानुपर्ने बाध्यता रहेको शिक्षक विजय खरेल बताउनुहुन्छ । उहाँका अनुसार हिउँदमा खोलामा धारा बनाएर पानी खादा समस्या नहुने भएपनि बर्षादको समयमा पानी दुषित हुने भएका कारण समस्या हुने गरेको बताउनुहुन्छ। 

खासगरी पानी परेपछि असारदेखि असोजसम्मै स्थानीयलाई खानेपानीका लागि समस्या हुने गरेको भन्दै शिक्षक खरेलले भन्नुभयो, "हिउँदमा पानी नपर्ने भएका स्थायी धारामा पनि शुद्ध पानी आउने गर्दछ तर पानी पर्‍याे भने दुषित भइहाल्छ । जस्ले गर्दा बालबालिकाहरू बिरामी समेत पर्ने गर्दछन् ।" वर्षाको समयमा दुषित पानी हुने भएका कारण तताएर पानी खानुपर्ने बाध्यता हुने गरेको बताउनुहुन्छ । 

गाउँमा खानेपानीको समस्या भए पनि बजेट अभावका कारण काम गर्दा खानेपानी योजना सञ्चालनमा ढिलाइ भएको सुन्दर बस्ती खानेपानी निर्माण समितिका अध्यक्ष डोमबहादुर खत्री बताउनुहुन्छ । अध्यक्ष खत्रीका अनुसार सुन्दरबस्ती खानेपानी योजनाअन्तर्गत स्किम नं. १ र २ गरेर दुई वटा खानेपानीका काम भइरहेको र एक सञ्चालनमा आएपनि विद्युत् मिटर जडान गर्नुपर्ने भएका कारण ढिलाई भएको बताउनुभयो । खानेपानी योजनाका लागि सम्पूर्ण काम सकेर विद्युत् मिटर जडान गर्ने तयारी भइरहेपनि स्किम नं. १ मा पनि विद्युत् जडान गर्नुपर्ने भएकाले स्किम नं. २ मा ढिलाइ भएको बताउनुभयो । 

अध्यक्ष खत्रीले भन्नुभयो, "खानेपानी योजनाअन्तर्गत स्किम नं. १ सोलारबाट सञ्चालन गरेपनि घाम नलाग्दा पानी नतान्ने समस्या छ । त्यही भएर अव सोलार हटाएर विद्युत् मिटर जडान गरेर पानी तान्ने योजना रहेको र दुवै योजनाको कामसँगै गर्न खोज्दा ढिलाइ भएको हो ।" निर्माण भइसकेको योजनालाई सञ्चालनमा ल्याउनका लागि मिटर जडान गर्नेगरी तयारी भइरहेको समेत बताउनुभयो । 

अध्यक्ष खत्रीका अनुसार सुन्दरबस्ती खानेपानी योजनाअन्तर्गत प्रदेश सरकारको करिब एक करोडको लागतमा खानेपानी योजना निर्माण भएको र योजना सञ्चालनमा आएमा करिव ६० देखि ७० घर लाभान्वित हुने छन् ।