सुजन बज्राचार्य
खाँदबारी (सङ्खुवासभा), जेठ १९ गते । शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभा जिल्लाको भोटखोला गाउँपालिका–३ स्थित हटिया र हुङ्गुङ क्षेत्रमा सडक बगाएको छ।
भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेका अनुसार करिब ५० मिटर कच्ची सडक बगाएको छ। बाढीका कारण सडकसँगै लघु जलविद्युत् आयोजना, काठेपुल लगायत संरचनामा पनि क्षति पुगेको छ।
अध्यक्ष भोटेका अनुसार १७ किलोवाट क्षमताको क्षुक्सुम लघु जलविद्युत् आयोजना पूर्णरूपमा बगाएको छ। सो आयोजनाबाट १६० घरधुरीमा विद्युत् आपूर्ति हुँदै आएको थियो। ‘बाढीले आयोजनालाई पूर्णरूपमा बगाएको छ, अहिले गाउँ अन्धकारमा डुबेको छ’ उहाँले भन्नुभयो ।
त्यस्तै, १२० किलोवाट क्षमताको हुङ्गुङ जलविद्युत आयोजनाको मुहानसमेत बाढीले बगाएको अध्यक्ष भोटेले बताउनुभयो । उक्त आयोजनाबाट २५० घरधुरीले विद्युत् उपभोग गर्दै आएका थिए।
घटनास्थलमा अहिले प्रहरी, प्राविधिक टोली र जनप्रतिनिधिहरू पुगिसकेका छन्। ‘सडक तथा विद्युत् संरचनाको तत्काल मर्मतका लागि प्रक्रिया अघि बढाइने छ, अध्यक्ष भोटेले जानकारी दिनुभयो।