बुटवल समाचारदाता
बुटवल, जेठ १८ गते । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रक्तसञ्चार केन्द्र (ब्लड बैङ्क) स्थापना भएको छ । अस्पतालमा भर्ना भएका बिरामीले रगत लिनकै लागि अस्पतालबाहिर जानु नपर्ने भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शनिबार रुपन्देही व्यापार सङ्घको उपकरण सहयोगमा निर्मित रक्तसञ्चार केन्द्रको उदघाटन गर्नभयो ।
रुपन्देही व्यापार सङ्घले चार वर्षअघि नै एक करोड ५८ लाख २० हजार रुपियाँ सङ्कलन गरेर मेसिन खरिद गरी अस्पताललाई हस्तान्तरण गरेको थियो । रक्तसञ्चार केन्द्रको उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले बिरामीलाई नयाँ जीवन प्रदान गर्न रक्तदान नै महादान भएकाले यसप्रकारको दानमा जोडिन सबैमा आह्वानसमेत गर्नुभयो ।
मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले सबै बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रम अघि सारेको स्पष्ट पार्नुभयो । उहाँले निजी र सामुदायिक अस्पतालमा उपचार गराइरहेका बिरामीलाई रगत उपलब्ध गराउन केही कानुनी जटिलता रहेको र त्यसलाई फुकाउने गरी सरकारले ध्यान दिने बताउनुभयो । मुख्यमन्त्रीले भन्नुभयो, “रगतमा लाग्ने शुल्क छ, त्यसलाई निःशुल्क बनाउने गरी सरकारले काम अघि बढाएको छ, निजी र सामुदायिक अस्पतालमा उपचार गराइरहेका बिरामीको हकमा उपलब्ध गराउन केही कानुनी जटिलता देखिएको छ । सरकार सबैलाई निःशुल्क रगत उपलब्ध गराउन चाहन्छ ।”
समुदायको क्षेत्रबाट रक्तसञ्चार केन्द्र स्थापना गर्न खेलेको भूमिकाको मुख्यमन्त्री आचार्यले प्रशंसा व्यक्त गर्नुभयो । दान र सेवाका माध्यमबाट सामाजिक कामलाई अघि बढाउन सकिने र सबैमा सेवाको भावनाको भोग जाग्न जरुरी रहेकोसमेत बताउनुभयो । मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई गौरवको आयोजनाका रूपमा अघि बढाएको र अस्पतालभित्रका सेवा विस्तार भइरहेको जानकारी दिनुभयो ।
अस्पतालमा शल्यक्रिया सेवाका लागि पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न सरकार सेवा प्रवाहलाई चुस्त बनाउँदै अघि बढेको उहाँको भनाइ थियो । बिरामीले अपरेसनका निमित्त धेरै दिन कुर्न नपरोस् भन्ने उद्देश्यले प्रदेश सरकारले लक्ष्यसहित काम अघि बढाएको बताउँदै उहाँले सेवा प्रवाह नै पहिलो सर्त हो, यसमा सरकार दृढ छ भन्नुभयो ।