धनगढी समाचारदाता
धनगढी, जेठ १८ गते । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को विनियोजन बजेटको सिद्धान्त र प्राथमिकता प्रदेश सभामा प्रस्तुत गरेको छ ।
शनिबार दोस्रो पटक बसेको प्रदेश सभाको बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले आगामी आवको बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको हो । सार्वजनिक वित्त सन्तुलन र बजेट अनुशासन, व्यवसायमैत्री वातावरण सिर्जना र लगानी प्रवर्धन, विकासमा सहकार्य र समन्वय प्रदेश सरकारको बजेटको सिद्धान्त रहेको छ ।
यसै गरी सामाजिक न्याय र समता, नागरिकमैत्री सेवा प्रवाह र सुशासन बजेटको सिद्धान्त रहेको मन्त्री थापाले बताउनुभयो । प्रदेश सरकारले कृषिको व्यवसायीकरण, पर्यटन क्षेत्रको विकास र विस्तार, रोजगारी सिर्जना, स्वरोजगार प्रवर्धन र मानव पुँजी निर्माण, गुणस्तरीय शिक्षालाई बजेटको प्राथमिकतामा राखेको छ । त्यस्तै गुणस्तरीय स्वास्थ्य सेवा, डिजिटल पूर्वाधार र डिजिटल अर्थतन्त्र निर्माण, सामाजिक न्याय र समावेशी विकास, युवा, महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति बजेटको प्राथमिकतामा रहेको जनाइएको छ ।
गुणस्तरीय भौतिक पूर्वाधार र विकास, बजेट प्रणाली सुधार, विनियोजन दक्षता र कार्यान्वयन दक्षता अभिवृद्धि, राजस्व प्रणालीको सुदृढीकरण बजेटको प्राथमिकता रहेको छ । दिगो विकास, जलवायु परिवर्तन र विपत् व्यवस्थापन, सङ्घीयता कार्यान्वयन, सार्वजनिक, निजी, सहकारी साझेदारी र लगानीमैत्री वातावरण निर्माण बजेटको प्राथमिकता रहेको मन्त्री थापाले बताउनुभयो ।
प्रदेश सभाको छैटौँ अधिवेशन शनिबारदेखि सुरु भएको छ । प्रदेश सभाको बैठकमा विरोध यथावत् राखेको प्रतिपक्षी दलहरूसँग समसामयिक प्रस्ताव सदनमा लैजाने सहमतिपछि अधिवेशन सुरु गरिएको हो । छैटौँ अधिवेशन पहिलो बैठक बस्नुअघि मुख्यमन्त्री कमलबहादुर शाहले बोलाएको सर्वदलीय बैठकमा समसायमिक प्रस्ताव सदनमा लैजाने सहमति भएको छ । त्यसका लागि आठ सदस्यीय सर्वपक्षीय समिति गठन गरिएको छ ।
बैठकमा शुभकामना मन्तव्य राख्दै नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले प्रदेश सरकारले प्रतिपक्षीसँग हदैसम्मको लचकता देखाएर प्रदेश सभा सुचारु हुने वातावरण बनाएको बताउनुभयो । उहाँले सर्वदलीय बैठकबाट गठित सर्वपक्षीय समितिले समसामयिक प्रस्तावको प्रतिवेदन आइतबार बुझाउने बताउनुभयो ।
त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता खगराज भट्टले प्रदेश सभाको आधा कार्यकाल बितिसकेकाले के के भयो त्यस विषयमा समीक्षा हुनुपर्ने बताउनुभयो । नेता भट्टले सन्तुलित विकास यो प्रदेशका नागरिकको अधिकार रहेको उल्लेख गर्नुभयो । नेकपा (एमाले) को संसदीय दलका नेता राजेन्द्रसिंह रावलले गत वर्ष बजेटमा देखिएको समस्याबाट पाठ सिकेर अब बजेट बनाउनुपर्ने बताउनुभयो ।