• १९ जेठ २०८२, सोमबार

चितुवा आतङ्कले स्थानीय त्रसित

blog

फाइल तस्बिर ।

 विष्णुप्रसाद पोखरेल

दमक, जेठ १७ गते । हात्तीबाट अति प्रभावित क्षेत्रको रूपमा चिनिएको झापाको मेचीनगर नगरपालिका २ र ४ बाहुण्डागी तथा आलडागी क्षेत्रमा एकसातादेखि चितुवा आतङ्कका कारण स्थानीयहरू त्रसित बनेका छन् । केही दिनयता चितुवाले दुई दर्जन कुकुर, बाख्रा, सुँगुरका पाठा लगायतका घरपालुवा जनावर मारेपछि स्थानीयहरू त्रसित भएका छन् ।

वडा नं. २ का वडाध्यक्ष अर्जुन कार्कीका अनुसार स्थानीय जङ्गल, काँसघारी र खेतबारीमा दिनहुजसो चितुवा देखिने गरेको बताउनुभयो । रातको समयमा स्थानीयका घरपालुवा जनवार मार्ने गरेको उहाँको भनाइ छ । बालबालिका, जेष्ठ नागरिक र सबैलाई सचेत भएर हिँड्नका लागि वडा कार्यालयले सबै वडावासी तथा यहाँ आउने पर्यटकलाई सचेत गराएको पनि उहाँले जानकारी दिनुभयो ।

स्थानीय क्षेत्रमा देखिँदै आएको चितुवालाई नियन्त्रणमा लिएर सुरक्षित स्थलमा लैजानका लागि डिभिजन वन कार्यालय झापा, राष्ट्रिय प्रकृति संरक्षण कोष, सुरक्षाकर्मीलाई जानकारी गराइएको कार्कीले बताउनुभयो । यो वडाले गर्न सक्ने काम भएन र सरोकारवाला सबैलाई आग्रह गरेका छौं, उहाँले भन्नुभयो ।

बाहुण्डागीमा हात्ती नियन्त्रण र मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि खटिएको रेपिड रेस्पोन्स टिम (आरआरटी) ले नै चितुवाको निगरानी र चितुवा रहेको स्थानबारे स्थानीयलाई जानकारी गराउँदै आएको छ । हात्ती सूचना केन्द्रमार्फत नै चितुवाको आवतजावतको विषयमा जानकारी गराउने गरिएको कार्कीले बताउनुभयो ।