शिवशङ्कर मिश्र
बारा, जेठ १८ गते । बाराको सदरमुकाम कलैयामा टिप्परको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका –१ बाल मन्दिर अगाडि बीरगञ्जबाट कलैयातर्फ आउँदै गरेको ना १ क ८०५६ नम्बरको टिप्परले बाटो काट्दै गरेको बालिकालाई आइतबार साँझ ६ बजे ठक्कर दिएको हो ।
गम्भीर घाइते बालिकाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको बिहार राज्यको मोतिहारी अठमुहान घर भइ हाल बाराको कलैया उपमहानगर पालिका –१ मोतिबागमा डेरा गरी बस्ने हरेराम साहको ६ वर्षिया छोरी सिवानी गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितले बताउनुभयो ।
टिप्परले ठक्कर दिँदा ढाडमा चोट लागी उपचारका लागि आशीर्वाद अस्पताल कलैया बारामा लगिएको थियो । अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि एल.एस.न्यूरो अस्पताल परवानीपरमा ल्याउने क्रममा बाटोमा मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
टिप्पर चालक कलैया उपमहानगरपालिका –१८ का ३७ वर्षीय सत्यनारायण साह प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।