• १९ जेठ २०८२, सोमबार

बिहुँ-ताराखोला जोड्ने ‘सहिद मार्ग’ जीर्ण

blog

बजेट अभावमा स्तरोन्नति नहुँदा काठेखोला गाउँपालिका ४ रिजालचोकदेखि ताराखोलाको वडा नं. १, २ र ४ जोड्ने सहिद मार्ग । तस्बिर : रामकृष्ण बोहरा

रामकृष्ण बोहरा

बागलुङ, जेठ १७ गते । सशस्त्र द्वन्द्वको बेला माओवादीको अगुवाईमा श्रमदान गरेर बनाइएको सहिद मार्ग जीर्ण बनेको छ । काठेखोला गाउँपालिका ४ रिजालचोकदेखि ताराखोलाको वडा नं. १, २ र ४ जोड्ने सडक जीर्ण बनेको हो । 

द्वन्द्वकालमा ट्रयाक खुलेपनि स्तरीय र कालोपत्रे गर्ने गाउँपालिकाको योजना बजेट अभावमा अलपत्र परेको छ । पटकपटक धाएर पनि बजेट नआएको गाउँपालिका अध्यक्ष धनबहादुर विक ‘हिमाल’ बताउनुहुन्छ । "सङ्घ वा प्रदेशको बजेट बिना सडक कालोपत्रे गर्न संभव नै छैन’ विकले भन्नुभयो, ‘नेताहरूले चासो नदेखाएसम्म यो सडक कालोपत्रे गर्न सकिँदैन ।" 

ताराखोलामा मात्रै द्वन्द्वको बेला २६ जना मारिएका थिए भने २ जना बेपत्ता छन् । उनीहरुकै स्मृतिमा निर्माण गरिएको सहिद मार्गमा बजेट विनियोजन नहुँदा जीर्ण बनेको हो । काठेखोलाको रिजालचोकदेखि ताराखोला जोड्ने सडकको दुरी ४० किमी रहेको छ । जनश्रमदानबाट सडकको ट्रयाक खुलाइए पनि स्तरोन्नतीमा ढीलाई हुँदा सडक जीर्ण हुँदा नागरिकले जोखिम मोलेर सास्तीपूर्ण यात्रा गर्न बाध्यक्ष भएको अध्यक्ष विकको भनाइ छ । 

यो सडक कालोपत्रका लागि डिपिआर बनेको ६ वर्ष भैसकेको छ । ठेक्कामा जान नसक्दा सहिदमा वर्षौंदेखि जोखिम मोलेर यात्रा गर्न स्थानीय बाध्य छन् । यो सडक ताराखोलादेखि म्याग्दी जिल्लाको रुमसम्म जोडिन्छ । २०७५ सालको डिपिआरमा १ अर्ब लागतमा सडक कालोपत्रे गर्न सकिने स्टिमेट गरिएको थियो । पहिलो चरणमा बाह्रै महिना सवारी चल्ने बनाउन पालिकाले पहल गरेको थियो । बहुवर्षे ठेक्काका लागि गण्डकी प्रदेश सरकारमा लागिएकोमा २०७७ मा बजेट र योजना कटौती गर्दा यो सडकको पनि काटिएको थियो । 

ताराखोला आलु उत्पादनले प्रख्यात मानिन्छ । यहाँ अल्लोको धागो, भाँगो, नेपाली कागज, मुला, गेडागुडी, रातो च्याउ समेत उत्पादन गरेर स्थानीयले बजार पठाउने गर्छन् । तर सहज सडकको अभावमा वर्षातमा निकै सास्ती खेप्नुपर्ने बाध्यता त छदैँछ हिउँदमा पनि सहज यातायात नहुँदा किसानले उचित मूल्य समेत पाउन सकेका छैनन् । सडक अभावमा स्थानीयले ढुवानीमा सास्ती खेपेको किसान अमृत घर्ति मगरले गुनासो गर्नुभयो ।

ट्रयाक खोल्दा ताराखोलाका अधिकांशले तीन महिनासम्म श्रमदान गरेका थिए । २०५७ देखि २०६० सम्मको निरन्तरको श्रमदानबाट सडकको ट्याक खुलेको थियो । गाउँपालिकाले उक्त फाइल गण्डकी प्रदेश सरकारलाई बुझाएको पूर्व अध्यक्ष प्रकाश घर्ती बताउनुहुन्छ । पटक पटक ताकेता गरे पनि पछिल्लो कार्यकालमा त्यो पहल नपुगेको घर्तिको भनाइ छ । 

"हामीले चक्रपथकै योजना बनाएका थियौं, त्यसमध्ये २५ किमी खण्ड रिजालचोकदेखि त्रिशुली सम्मको थियो," घर्तीले भन्नुभयो, "बाँकी खण्ड गलकोटदेखि जोड्ने योजना हो ।" दुवै सडक निर्माण हुँदा चक्रपथ बन्ने, सदरमुकाम र गलकोट नगरपालिकासँग पनि जोडिने अवस्था थियो । ताराखोलादेखि गलकोटहुँदै बुटवलतर्फ र रिजालचोक हुँदै पोखरा जाने सवारी छुटाउने योजना पनि पालिकाले बनाएको थियो । 

कम्तिमा १० मीटर चौडा बनाएर स्तरोन्नती गर्ने योजना र कालोपत्रे बनाउने लक्ष्य पुरा हुन नसकेको सहायक प्रशासकीय अधिकृत जितबहादुर सुनारले बताउनुभयो । अघिल्लो वर्ष २ करोड र गत वर्ष १ करोड ५१ लाख रुपियाँ खर्चेर बनेको संरचना बाहेक सहिद मार्गमा अन्य प्रगती हुन सकेको छैन । उक्त बजेटले काठेखोला तर्फको केही खण्ड स्तरोन्ती भएको भने पालिकाको लगानीमा २०७४-०७५ मा ४० लाख खर्चेर घुम्ती चक्ल्याएको थियो ।