• १८ असार २०८१, मङ्गलबार

मतदाता नामावलीमा सुधार

blog

लोकतन्त्रलाई संस्थागत गर्ने पहिलो आधार नै निर्वाचन हो । निर्वाचनले नै लोकतान्त्रिक अभ्यासलाई निकै परिस्कृत र उन्नत बनाउँछ । निर्वाचनले लोकतान्त्रिक प्रणालीप्रति आस्था पनि जगाउँछ । निर्वाचनका सन्दर्भमा स्वस्थ, स्वच्छ मतदाता र मतदान कार्यको व्यवस्थापन पनि महत्वपूर्ण पक्ष हो । यो पद्धतिले मतदाताले आफ्नो सरकार आफैँ छान्ने अधिकार राख्ने भएकाले पनि निर्वाचनमा महत्व राख्दछ । निर्वाचनमा मतदातामा उत्साह जगाउनु निर्वाचनको मूलभूत विशेषता पनि हो ।

हालैको स्थानीय तहको निर्वाचन र यसबेला मतदाता नामावलीमा देखिएका समस्या पनि सच्चिने आधार बन्न सक्छन् । मतदाता लोकतान्त्रिक प्रणालीका आधार भएकोले निर्वाचनमा मतदान गरी आफूले चाहेको र छानेको नेतृत्व ल्याई आफ्नो सरकार आफैँ छान्न गाउँ गाउँसम्म पुगे र आफ्ना ठाउँमा उत्साहपूर्वक सहभागी भई मतदान गरे ।

यसले निर्वाचन र मतदानप्रतिको विश्वास जाहेर गरेको हो । यस्तो प्रक्रियामा नक्कली मतदाता र मृतक व्यक्तिको नाममा समेत मत हालिन्छ भन्ने तथ्य बाहिरिँदा लोकतन्त्र र निर्वाचनप्रतिको विश्वास, आस्था, स्वच्छता, मतदाताको नेतृत्व छान्ने अधिकार, निर्वाचन प्रणाली र लोकतन्त्रमा कस्तो प्रभाव पर्छ ? यो सोचनीय पक्ष हो ।

यस्ता गलत प्रवृत्तिले लोकतान्त्रिक प्रणाली र मतदाताको विश्वासमाथि आघात पु-याउँछ । लोकतान्त्रिक पद्धति मतदाताको विश्वास र चाहनाअनुरूप नेतृत्व चयन गरिने पद्धति भएकाले त्यसमा कहीँ कतै त्रुटि र अस्वस्थ काम नहुन् भन्ने कुरामा हेक्का राख्नैपर्छ । निर्वाचनबाट चयन भएको प्रतिनिधिले सुशासन, विकास निर्माणलगायत विविध विषयको जिम्मा जनमतले पत्याएका व्यक्तिलाई सुम्पिने प्रक्रिया भएकाले पनि आमजनमानसमा विश्वास जगाउनु सबैको चासोको विषय हो । 

तापनि भरखरै सम्पन्न निर्वाचनमा मृतक र अर्काका नाममा पनि मतदान भए भनेर उठेका प्रसङ्गले निर्वाचनको विश्वसनीयतामाथि थप आशङ्का पैदा गरेको तथ्य आएको छ । त्यस्ता तथ्यलाई पनि केलाउन जरुरी भएको छ । यहाँ मतदाता नामावलीमा मृतकको नाम नहटेको पाइयो । अझ दुःखद पक्ष त कतिपय मतदान पनि भएको पाइएको छ ।

मधेश प्रदेशअन्तर्गत धनुषाको लक्ष्मीनियाँ गाउँपालिका ७ कुम्हरौडाका जैवीर झाको निधन भएको छ वर्ष भइसकेको छ तर निर्वाचन आयोगले स्थानीय तह निर्वाचन–२०७९ का लागि जारी गरेको मतदाता नामावलीमा उहाँको नाम यथावत् छ । झाकी श्रीमती उषा देवीको पनि मृत्यु भएको करिब दुई वर्ष भयो । उहाँको नाम पनि गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतदाता नामावलीको सूचीमा छ । 

मतदाता नामावलीमा वर्षौंअघि मृत्यु भएका मतदाताको नाम अझै सूचीकृत रहेको लक्ष्मीनियाँ गाउँपालिकाको उक्त वडा एकल भने होइन । उपत्यकाको ललितपुरको गोदावरी नगरपालिकामा पनि पाँच–सात प्रतिशत मृत्यु भएका मतदाताको नाम नामावलीमा सूचीकृत छ ।

नगरपालिकामा कुल मतदाता करिब ५४ हजार रहेकोमा कम्तीमा दुई हजार पाँच सयसम्म मृत्यु भएका व्यक्तिको नाम अझै मतदाताको सूचीमा छन् । भरतपुर महानगरपालिका ९ मा पनि करिब १५० जना मृतक मतदाता छन् । यी त केही वडाका नमुना मात्र हुन् । देशव्यापी तथ्याङ्क हेर्दा ३–७ प्रतिशतसम्म मृत्यु भएका मतदाताको नाम अझै पनि मतदाता नामावलीमा छ । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्दा मृतकको नाम हटाउने कार्यमा स्थानीय तह भएको स्पष्ट गरेको छ । स्थानीय पञ्जाधिकारीले जन्म, मृत्यु, बसाइँ–सराइलगायत घटना दर्ताको काम गर्दै आएका छन् । 

आयोगका अनुसार आगामी असार १ देखि मतदाता नामावली दर्ता, मतदाताको नामावली सङ्कलन कार्य अद्यावधिक गर्न लागेको छ । मतदाताको सूचीमा नाम दोहोरिएको, विवाह भएर अन्य पालिकामा गएको, बसाइँ–सराइ गरेका समेत उल्लेख्य सङ्ख्यामा रहेको तथ्याङ्क छ । मतदातामा निर्वाचनप्रति विश्वास जगाउन र निर्वाचन प्रणाली स्वच्छ बनाउन सम्बन्धित पक्षले यस्ता कार्य तत्काल सच्याउन आवश्यक छ । बिग्रेको नामावली सच्याउने, नाम हटाउने अवसर पनि यही हो । स्थानीय तह र निर्वाचन आयोगले यसमा विशेष ध्यान दिनुपर्नेछ ।

निर्वाचनको समयमा मतदाता नामावलीमा आफ्नो नाम खोज्ने तर नामावली दर्ता गर्ने बेलामा ध्यान नदिने प्रवृत्ति हामी धेरैमा छ । राजनीतिक दलका नेता, निर्वाचनमा उम्मेदवार हुने व्यक्ति, नागरिक समाजले पनि यो बेला स्थानीयवासीको नाम समावेश गरी सबैलाई पत्यारलाग्ने मतदाता नामावली समयमै अद्यावधिक र सुधार गराउने कार्यमा जुट्नु वाञ्छनीय छ ।