• १८ जेठ २०८२, आइतबार

गाजामा स्वास्थ्य सामग्री लुटिएको घटनाप्रति राष्ट्रसङ्घद्वारा दुःख व्यक्त

blog

संयुक्त राष्ट्रसङ्घ, जेठ १७ गते । संयुक्त राष्ट्र सङ्घले शुक्रबार गाजाको प्यालेस्टिनी क्षेत्रका गोदामहरूमा आक्रमण गरी ठुलो मात्रामा चिकित्सा सामग्री चोरी गरेको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

आक्रमणकारीको समूहले अस्पतालको गोदामहरूमा आक्रमण गरी ठुलो मात्रामा चिकित्सा उपकरण, आपूर्ति, औषधी र पोषणजन्य सामग्रीको नष्ट गरेको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफन डुजारिकले बताउनुभएको छ । 

चोरी गरिएको सहायता सामग्री युद्धग्रस्त गाजामा एक दिन अघि मात्रै आइपुगेको उहाँले बताउनुभएको छ । गाजा अवस्था अझ बिग्रँदै जादाँ सार्वजनिक व्यवस्था र सुरक्षा व्यवस्था कमजोर हुनाले गाजामा लुटपाटका घटनाहरू बढेको समेत उहाँले बताउनुभएको छ । उहाँले भन्नुभयो, “यो सशस्त्र मानिसहरूद्वारा भएको एउटा आक्रमण थियो ।”

लामो नाकाबन्दीपछि इजरायलले प्यालेस्टिनी क्षेत्रमा सहयोगको अनुमति दिन थालेको छ । नाकाबन्दीले खाद्यान्न र औषधीको अभाव निम्त्याएपछि अहिलेसम्म उपलब्ध सहायता गाजाको आवश्यकताको ‘समुद्रमा एक थोपा’ मात्र भएको उहाँले बताउनुभएको छ । 

संयुक्त राष्ट्रसङ्घको मानवीय निकाले शुक्रबार  शतप्रतिशत जनसङ्ख्या अनिकालको जोखिममा रहेको चेतावनी दिएको थियो ।

गाजाको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार यस क्षेत्रमा इजरायली आक्रमणमा परी अहिलेसम्म ५४ हजार ३२१ जनाको ज्यान गएको छ । युद्धले गाजालाई ध्वस्त पारेको छ र मारिनेमा अधिकांश महिला बालबालिकासहित सर्वसाधारण रहेका छन् ।
यसले क्षेत्रको ठुलो भाग भग्नावशेषमा परिणत गरेको छ, अस्पताल, विद्यालय, आवासीय क्षेत्र र सडक र जलमार्गको आधारभूत पूर्वाधार नष्ट गरेको छ ।

एएफपीका अनुसार  सन् २०२३ अक्टोबर–७ मा हमासले गरेको आक्रमणको प्रतिक्रियामा इजरायलले आफ्नो आक्रमण सुरु गरेको थियो ।

डुजारिकले बिहीबार, राष्ट्रसङ्घ र मानवीय साझेदारहरूले केरेम शालोमको सीमाबाट पाँच वटा देइर अल–बलाह अभियान अस्पतालका लागि चिकित्सा सामग्री बोकेका ट्रकहरू पठाएको र अन्य ६० वटा ट्रकहरू सीमाबाट फर्कनु परेको बताउनुभएको छ । रासस/एएफपी