• १८ जेठ २०८२, आइतबार

कनकासुन्दरी-२ बाल विवाह मुक्त तथा शतप्रतिशत विद्यार्थी विद्यालय भर्ना वडा घोषणा

blog

कनकासुन्दरी गाउँपालिका २ बाल विवाह तथा शतप्रतिशत विद्यार्थी विद्यालय भर्ना घोषणा वडा । तस्बिर : नेत्र शाही

नेत्र शाही 

जुम्ला, जेठ १७ गते । जुम्लाको कनकासुन्दरी गाउँपालिका बाल विवाह मुक्त वडा पालिका घोषणा गरिएको छ । वडाले आधारभुत सूचक तयार गरेर बाल विवाह  मुक्त घोषणा गरेको हो । 

कनकासुन्दरी गाउँपालिका २ को आयोजना तथा प्लान नेपाल, क्याड नेपालको साझेदारीमा उक्त वडाका नागरिक सरोकारवाला निकायको बिचमा घोषणा तथा प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेर बाल विवाह मुक्त तथा शतप्रतिशत विद्यार्थी विद्यालययमा भर्ना वडा घोषणा गरिएको हो । 

विहेवारी २० वर्ष पारि हामी सबैको एक्यबद्धता, बालबिवाहमुक्त कनकासुन्दरी गाउँपालिका हामी सबैको प्रतिबद्धता भन्ने मुलनाराका साथ स्थानीय सरकार र राजनैतिकदल, बाल क्लब, विद्यालय, स्वास्थ्यचौकी प्रयास तथा उपस्थितिमा वडा बाल विवाह मुक्त वडा तथा शतप्रतिशत विद्यार्थी विद्यालययमा भर्ना वडा घोषणा गरिएको वडा पालिकाले जनाएको छ । बाल विवाह मुक्त वडा घोषणा कार्यक्रममा यस वडाको ३५० घरधुरी तथा एक हजार नौ सय ५० जनसङ्ख्या रहेको छ । 

वडापालिकाका अनुसार आर्थिक वर्ष २०८१/०८२ अनुसार बाल विवाह दर १८ बाट १२ मा झरेको छ । सरकारको निति अनुसार २० प्रतिशतभन्दा कम बाल विवाहमा न्यूनीकरण भएमा बाल विवाह मुक्त घोषणा गर्न सक्ने प्रावधान अनुसार वडालाई घोषणा गरिएको हो । वडापालिकाका अनुसार यहाँका शत प्रतिशत बालबालिकाहरू विद्यालयमा अध्ययन गर्न सफल भएका छन् । गाउँपालिका अध्यक्ष दामोदार आचार्य, उपाध्यक्ष प्रेमकली बुढा, वडाध्यक्ष खाम्मा रावतले संयुक्त रूपमा वडालाई बाल विवाह र शतप्रतिशत विद्यार्थी विद्यालयमा भर्ना भएको घोषणा गरेका हुन् ।  

गाउँपालिका अध्यक्ष दामोदर आचार्यले सामाजिक कुरितिलाई हटाउने काम मध्यको बाल विवाह भएकाले यो वडा घोषणा गरिएको बताउनुभयो । उहाँले गाउँपालिकालाई नै बाल विवाह मुक्त गर्ने अभियानमा गाउँपालिकाको प्राथमिकता रहेको बताउनुभयो । उपाध्यक्ष प्रेमकली बुढाले छोरीहरूको जीवन वालविवाहले निकै कठिन बनाउने बताउँदै यसमा सचेत हुँदै सबैको सहयोगमा यो कार्य भएको जोड दिनुभयो । वडाध्यक्ष खाम्मा रावतले वडाका सबै बालबालिका विद्यालय भर्ना अभियान तथा बाल विवाह मुक्त वडा घोषणा कार्यक्रममा सघाउ पुर्‍याउने सबै महानुभावलाई धन्यवाद ज्ञापन गर्नुभयो । 

घोषणा कार्यक्रममा देउडासहित विभिन्न सांस्कृतिक कार्यक्रमहरू समेत गरिएको थियो । यसैगरी कनकासुन्दरी गाउँपालिका वडा नं ४ र ५ यस अगाडि बाल विवाह मुक्त घोषणा भइसकेका छन् । गाउँपालिकाका सूचना अधिकारी नेत्रबहादुर खत्रीका अनुसार शुक्रबार वडा नं २ घोषणा  भइसकेपछि ३ वटा वडा घोषणा गरिएको र अन्य तयारी भइरहेका छन् ।