छविलाल पाण्डे
बुटवल, जेठ १७ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशलाई सबैखाले विपदबाट सुरक्षित बनाउने गरी सरकारले विपद् प्रतिकार्यको योजनालाई पहिलो प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।
मुख्यमन्त्री आचार्यले भूकम्प, बाढी, पहिरो, आगलागी, चट्याङ, सवारी दुर्घटनालगायतका विपदबाट प्रदेशलाई सुरक्षित बनाउने रणनीतिअन्तर्गत सरकार योजनाबद्ध रूपमा अघि बढिरहेको बताउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशको छैटौं वार्षिक साधारणसभाको शनिबार बुटवलमा उद्घाटन कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री आचार्यले समाजसेवाको भावना हराउँदै जाँदा मानवीय सेवा समेत कमजोर बन्ने जोखिम रहेको उल्लेख गर्नुभयो ।
उहाँले हराउँदै जान थालेको समाजसेवाको भावनालाई पुनः जागृत गर्न अभियान केन्द्रित गर्नुपर्ने आवश्यकता औंल्याउनु भएको छ ।
मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘‘समाजसेवाको भावना कता कता हराउँदै गइरहेको छ । आदर–सम्मानको भावना पनि कता–कता हराउँदै गइरहेको छ, हामीले यसलाई जबसम्म पुनःस्थापित गर्न सक्दैनौं, तबसम्म हामीमा रहने नैतिकता, आचरण र सद्भावका कुराहरू करिब–करिब मेटिँदै जान्छन ।’’
मुख्यमन्त्री आचार्यले रेडक्रस अभियानलाई अझ व्यापक बनाउँदै समाज सेवाको भावना पुनःस्थापित गर्न जोड दिनुभयो । साथै, विद्यालय–केन्द्रित कार्यक्रम सञ्चालन गरेर अभियानलाई जनस्तरसम्म पुर्याउनुपर्नेमा पनि उहाँले आह्वान गर्नुभयो ।
‘‘विपद अघि, विपदको बेलामा र विपदपछि पनि रेडक्रसको साथ रहने भएकाले यसको भूमिका अझ महत्त्वपूर्ण छ,’’ मुख्यमन्त्री आचार्यले स्मरण गराउनुभयो । रेडक्रस लुम्बिनी प्रदेशका अध्यक्ष लालप्रसाद पंगेनीको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा रेडक्रस अभियानकर्मि, जनप्रतिनिधि लगायतको सहभागीता थियो ।