कामको खोजी गर्दै भारतको दिल्ली पुगेका पाल्पाका गणेशमान महर्जनले कपडा बुन्ने सिप त्यतै सिक्नुभयो । त्यो समय थियो, सन् १९५० को दशक । श्रीमती ८८ वर्षीय पूर्णमाया महर्जनले पति गणेशमानसँगै तान बुन्न सिक्नुभयो । त्यसपछि पाल्पा फर्किएको दम्पतीले खोल्यो– पाल्पामा कपडा बुन्ने तान । त्यो समय थियो, २०१४ सालतिर । महर्जन दम्पतीले तानसेनस्थित आफ्नै घरको छिँडीमा कपडा बुन्ने तीन वटा तान राखे । उनीहरूलाई तानसेनमै बसेर कपडा बुन्ने कारखाना खोल्न प्रेरित गर्ने व्यक्ति चाहिँ तानसेन टक्सार टोलका पूर्णमान शाक्य हुनुहुन्थ्यो । आफ्नै घरको छिँडीमा खोलिएको कपडा उद्योगमा महर्जन दम्पतीले ‘ट्वाक्क ठ्याक्क ट्वाक्क ठ्याक्क’ गर्दै तानको साँचो लामै समय चलाइरहे । पाल्पाली कपडा उद्योग खोल्दा ती दिन स्मरण गर्दै पूर्णमाया भन्नुहुन्छ, “त्यस बेला तीन हजार रुपियाँ ऋण खोजेर तान राख्दा धेरैले बौलायो भनेका थिए । त्यो दिन अहिले जस्तै लाग्छ ।”
तथापि उहाँले हिम्मत हार्नु भएन । श्रीमान्को स्वर्गवास भएपछि पनि चार सन्तान हुर्काउँदै पूर्णमाया निरन्तर तानमा धागो खिप्ने कार्यमा खटिइरहनुभयो । यो खटाइलाई चानचुने खटाइ मान्न सकिँदैन; जसले आज पाल्पाली ढाकाटोपीको ‘ब्रान्ड’ देशविदेशमा स्थापित बनिसकेको छ । ‘आफैँ साहु आफैँ मजदुर’ बनेर खोलिएको तानलाई २०१५ सालमा विधिवत् दर्ता गरियो– पाल्पाली ढाका कपडा उद्योगका रूपमा । महर्जन दम्पतीले त्यस समय पाल्पा कारागारमा रहेका थुनुवाहरूबाट कपडा बुन्ने काम सिकाउन पनि थाले । त्यसले बन्दीलाई आम्दानीको राम्रो माध्यमसमेत बनेको थियो । उनीहरूले सिपसमेत सिक्ने मौका पाएका थिए ।
प्रारम्भिक चरणमा तानमा खद्दरका सारी र अन्य कपडा बुन्ने गरिएको थियो । बङ्गलादेशको राजधानी ढाकामा बुन्ने कपडाको डिजाइन भित्र्याइएपछि मात्र ढाका कपडाले पूर्ण रूप पाएको थियो । यो डिजाइन पहिलो पल्ट नेपाल भित्र्याउने श्रेय पनि महर्जन परिवारलाई जान्छ । यसपछि ढाका कपडाको बजार विस्तार भएको थियो । सन् १९८७ मा राजधानी काठमाडौँमा भएको सार्क शिखर सम्मेलनले पाल्पाली ढाका कपडालाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउन सफल भएको बताइन्छ । तत्कालीन राजा महेन्द्र र पछि वीरेन्द्रबाट पनि पाल्पाली ढाकाको विषयमा सोधीखोजी हुन्थ्यो रे भन्ने भनाइ छ ।
नेपालमा ढाका कपडाको सुरुवात कसरी भयो भन्नेमा एकमत देखिँदैन । केही अनुसन्धान अनुसार राणा प्रधानमन्त्री चन्द्रशमशेरकी नातिनी, राजकुमारी नानीकी नर्स जेसी ब्राउनमार्फत ढाका नेपाल भित्रिएको बताइन्छ । अर्को दृष्टिकोण अनुसार राणा प्रधानमन्त्री जङ्गबहादुरकी बहिनी डम्बरकुमारीले बङ्गलादेशबाट ढाकाटोपी उपहार ल्याएपछि यसको सिलाइबुनाइ नेपालमा व्यापक भएको भनाइ छ यद्यपि केही जानकार ढाका नेपालकै मौलिक उत्पादन भएको दाबी गर्छन् । लिम्बू समुदायको मुन्धुम अनुसार तान बुन्दा ‘थाक थाक’ आवाज आउने भएकाले यसको नाम ‘थाका’ रहन गयो र पछि अपभ्रंश हुँदै ‘ढाका’ भएको हो । पूर्वी नेपालमा ‘लिम्बुनी ढाका’ भनिनु पनि यसैको प्रमाणका रूपमा प्रस्तुत गरिन्छ । कतिपय विशेषज्ञले ढाकाको उत्पत्ति पूर्वी बङ्गालको ‘जामदानी ढाका’ सँग तुलना गरेका छन् ।
पाल्पामा ढाका कपडा उत्पादन हुनुभन्दा पहिले काठमाडौँमा बङ्गलादेशको राजधानी ढाकाबाट बुट्टेदार ढाका कपडा भित्रिने गथ्र्यो । सोही कपडाको टोपी बनाई धनी साहुमहाजनले लगाउने प्रचलन चलेको थियो । त्यस समयमा एउटा टोपीको मूल्य १० रुपियाँदेखि २५ रुपियाँसम्म पथ्र्यो । टोपीको मूल्य महँगो भएका कारण सर्वसाधारणको पहुँचमा थिएन । ढाकाको जस्तै बुट्टा भएको कपडा पाल्पाको स्वदेशी वस्त्रालयमा पनि उत्पादन हुन थालेपछि आम रूपमा पाल्पाली ढाका प्रचलनमा आउन लागेको थियो । स्वदेशी र आफ्नै मौलिकता बोकेको ढाका र यसका सामग्रीहरू प्राप्त गर्न सकिने भएपछि सर्वसाधारणदेखि मध्यम परिवारको मन जित्न सफल भयो । पाल्पाली ढाकाटोपी पाँच रुपियाँमै पाउन सकिन्थ्यो ।
यसरी सुरुवात भएको पाल्पाली ढाका अहिलेसम्म आइपुग्दा राष्ट्रिय/अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार भइसकेको छ । मुलुकभित्र र बाहिरसमेत ढाका उत्पादनले परिचित बनेको पाल्पालाई २०७८ चैत १२ गते ढाकाको राजधानी घोषणा गरिएको थियो । तानद्वारा उत्पादित ढाका कपडा ‘ब्रान्डिङ’ गरी बजार पठाउन थालिएसँगै पाल्पाली ढाकाको पहिचान प्रवर्धन गर्न थप कदम चालिएको देखिन्छ । युके एड (सिप), लुम्बिनी प्रदेश सरकार, तानसेन नगरपालिका र पाल्पाली ढाका सङ्घको साझेदारीमा ‘नेपाली ढाका समृद्धिका लागि साझेदारी’ परियोजनामार्फत ब्रान्डिङ गरेको ढाका बजारमा ल्याइएको जनाइएको छ । ढाका कपडाको बजारमा पाल्पाली ढाकाको नाम बेचेर मेसिनबाट उत्पादित बाहिरबाट भित्रिएका ढाकाले बजार पाउन थालेपछि उपभोक्ता र उत्पादकलाई परेको समस्या सम्बोधन गर्नसमेत ‘ब्रान्डिङ’ गर्न जरुरी भएको थियो ।
पाल्पाली ढाकाका विभिन्न पहिरनमध्ये सबैभन्दा बढी ढाकाको टोपी चर्चित छ । पाल्पालीको मात्र नभई नेपालीको शिरको सान, मान र पहिचानका रूपमा यस टोपीलाई हेर्ने गरिन्छ । यो टोपी घरेलु तान (ढाका कपडा बुन्ने हाते मेसिन) मा बुनेको कपडाबाट बनाइएको हुन्छ । विभिन्न बुट्टेदार ढाकाका कपडाबाट बनाइएको यो टोपी हेर्दा आकर्षक र पृथक् देखिन्छ । यसलाई नेपालीको पहिचान झल्काउने मौलिक र विशेष शिरपोसका रूपमा हेरिन्छ । यो टोपी सामान्यतया पुरुषहरूले मात्र लगाउने गरेको देखिन्छ । विभिन्न सभा, सम्मेलन, मेला महोत्सव एवं दसैँ, तिहार जस्ता चाडपर्वमा ढाकाटोपीले सजिएका मानिसको भिड लागेको देखिन्छ । टोपीले मानिसलाई शालीन, शिष्ट र सभ्य देखिने भएकाले समेत यसको आकर्षण बढेको पाइन्छ ।
दसैँको समयमा पुरुषले शिरमा ढाकाटोपी ढल्काएर मान्यजनसँग टीका लगाउन जाने चलन छ । निधारमा टीका र टोपीमा पहेँलो जमरा सिउरिएर चटक्क परेर परिवारसहित हाँस्दै रमाउँदै हिँडेका दृश्यहरू देख्न पाइन्छ । तिहारको समयमा दिदीबहिनीले आफ्ना दाजुभाइले दिने विशेष उपहारमध्ये ढाकाटोपी पहिलो नम्बरमा पर्ने गर्छ । पाल्पामा पुग्ने विशिष्ट मानिस एवं पर्यटकको स्वागतमा समेत प्रयोग हुने मुख्य पहिरनमा यही टोपी पर्छ । शिरमा सजिएको ढाकाको टोपीलाई विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोसँग तुलना गरिएकाले समेत पाइन्छ । अहिले जनवरी १ लाई ‘अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ भनेर मनाउन थालिएको पाइन्छ । सुरुका दिनमा टोपीमा मात्र सीमित रहेको ढाका कपडाको व्यवसाय क्रमशः अन्य पहिरनमा समेत विस्तार भएको पाइन्छ । परापूर्वकालदेखि नेपाली महिलाले पहिरिँदै आएको गुन्यूचोली, सारी, पछ्यौरा जस्ता कपडाका साथै हातमा लिएर हिँड्न मिल्ने पर्स, जुत्ता, चप्पलसम्म ढाकाको बन्ने गरेका छन् । यसै गरी पुरुषले लगाउने कोट, स्टकोट, दौरासुरुवाल, टाई जस्ता पहिरनसमेत ढाकाकै पाउन सकिन्छ । महिलाले लगाउने चोली, साडीसमेत ढाका बुट्टाको पाइन्छ । देश र विदेशबाट पाल्पा भ्रमण आउने जोकोहीले यहाँबाट फर्किंदा उपहारका रूपमा ढाकाटोपी र अन्य ढाकाका पहिरन खरिद गरेर लैजाने गरेका पाइन्छ ।
पाल्पामा मात्रै अहिले १५ भन्दा बढी ढाका कपडा उद्योग छन् । तीन दर्जनभन्दा बढी व्यापारी ढाका कपडा व्यवसायमा छन् । पाल्पाको सदरमुकाम तानसेनसँगै ग्रामीण भेग कसेनी, मदनपोखरा, कुसुमखोला, चिर्तुङधारा, बन्दीपोखरा, अर्गलीमा ढाका कपडा बुनिँदै आएको छ । घर घरमै ढाकाका कपडा बुनेर यहाँका तीन सयभन्दा बढी महिलाले राम्रो आम्दानी गरिरहेका छन् । उनीहरूले ढाकाबाट सारी, कुर्ता, टोपी, पछ्यौरा, पर्स, झोलालगायत गरी ५० भन्दा बढी थरीका सामान बनाउने गरेको पाइन्छ । यसै गरी प्रत्यक्ष अप्रत्यक्ष रूपमा हजारौँले रोजगारी पाइरहेका छन् । पाल्पाली ढाकाको वार्षिक आम्दानी १० करोड रुपियाँभन्दा बढी रहेको पाल्पाली ढाका सङ्घको तथ्याङ्कमा पाइन्छ । अहिले ढाका कपडाको उत्पादन पाल्पामा मात्र सीमित छैन ।
एक अध्ययन अनुसार नेपालभर झन्डै २० हजार हाते तान छन्; जसमा अधिकांश महिला संलग्न छन् । यस उद्योगले करिब ५० हजार जनालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी दिएको अनुमान छ । ढाकाको उत्पादन र बजार हाल झापा, मोरङ, ताप्लेजुङ, धनकुटा, सुनसरी, उदयपुर, खोटाङ, भोजपुर, रामेछाप, सिन्धुली, बुटवल, काठमाडौँ, भक्तपुर, ललितपुर, बनेपा, नुवाकोट, धादिङ, हेटौँडा, पोखरा, बागलुङ, म्याग्दी, सुर्खेत, सोलुखुम्बु, गुल्मीलगायत जिल्लामा फैलिएको छ । अन्तर्राष्ट्रिय बजारतर्फ हेर्दा अमेरिका, जापान, जर्मनी, क्यानडा, स्विट्जरल्यान्ड, नेदरल्यान्ड्सलगायत नेपाली समुदाय रहेका विभिन्न देशमा ढाकाका सामग्री निर्यात भइरहेको छ ।
आफ्नै मौलिकता, पहिचान, मानसम्मान बोकेको ढाका कपडाको विकास र विस्तारमा जोड दिनुपर्ने आवश्यकता देखिएको छ । अहिले पनि यसमा प्रयोग हुने अधिकांश कच्चा पदार्थ आयात गर्नुपर्ने बाध्यता छ । यसै गरी भारत र चीनबाट भित्रिएका ढाका कपडा बजारमा अस्वस्थ प्रतिस्पर्धामा उत्रिएका देखिन्छ । यसबाट स्वदेशी उत्पादनलाई बचाइराख्ने चुनौती उत्तिकै छ । यसैकारण आमउपभोक्ताले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने आवश्यकता देखिन्छ ।
पाल्पाली ढाकाटोपीको लोकप्रियताकै कारणले होला, सायद साहित्यकारले समेत विम्बका रूपमा पाल्पाली ढाकाटोपी प्रयोग गरेको पाइन्छ । पाल्पाली ढाकाटोपीबाट लोभिएर नै होला सायद बुद्धवीर लामाले गीत लेख्नुभयो–
चोली राम्रो पाल्पाली ढाकाको
हेराइ राम्रो मायालु आँखाको...
त्यो गीतमा शीलाबहादुर मोक्तानले मिठो धुन भर्नुभयो अनि कुन्ती मोक्तानले स्वरको जादु छर्नुभयो । यो लोकप्रिय भाका नसुन्ने सायदै कोही नेपाली सङ्गीतप्रेमी होला र ?
न्यानोमा न्यानो पस्मिना बर्को
काठमाडौँ सहरको
ल्याइदेउन साइँला हाकुपटासी
भादगाउँले खाँडीको