गोरखापत्र अनलाइन
काठमाडौं, जेठ १६ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अहिलेको अवस्थामा पत्रकारिताको गरिमा जोगाउने चुनौती भएकाले सम्पादकहरू बढी जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ ।
प्रेस काउन्सिल नेपालद्वारा आयोजित पुस्तक लोकार्पण तथा सम्पादक संवाद कार्यक्रममा उहाँले आज सो कुरा बताउनुभएको हो । पत्रकारिताको सम्पत्ति भनेको विश्वसनीयता भएकाले त्यसलाई नबिर्सन उहाँले सम्पादकहरू सँग आग्रह गर्नुभयो । प्रेस काउन्सिल नेपालले प्रकाशन गरेको नेपाली मिडियाको इतिहासः छापादेखि डिजिटलसम्म पुस्तकको लोकार्पण गर्दैै उहाँले काउन्सिलले पनि आफ्नो भूमिका प्रभावकारी बनाउनुपर्ने सुझाव दिनुभयो ।
प्रेस काउन्सिलले गर्ने पत्रपत्रिका वर्गीकरणको काममा अझ मेहनत गर्नुपर्ने उहाँले सुझाव दिनुभयो । मिडिया काउन्सिल विधेयक पनि संसदमा रहेकाले त्यसबारेमा छलफल जारी रहेको भन्दै उहाँले मिडिया काउन्सिल गठन भएमा त्यसको कार्यक्षमता बढाएर प्रभावकारी काम गर्नुपर्ने बताउनुभयो । पत्रकार जिम्मेवार बनेमा समाज पनि जिम्मेवार बन्ने उहाँले चर्चा गर्नुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले नागरिकलाई सुसुचित गर्ने जिम्मेवारी मिडियाको रहेकाले अरूभन्दा सञ्चार जगत सम्वेदनशील पेसा भएको बताउनुभयो । मिडियाको कामलाई जिम्मेवार बनाउन र पत्रकारको क्षमता अभिवृद्धिमा मन्त्रालय सहजीकरण गर्न तयार रहेको बताउनुभयो ।
वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीले अभिव्यक्ति स्वतन्त्रताभन्दा अहिले मिडिया स्वतन्त्रताको मुद्दा महत्त्वपूर्ण रहेको चर्चा गर्नुभयो । पुराना र नयाँ पुस्ताका पत्रकारलाई जोड्न सार्थक संवादको खाँचो रहेको उहाँले बताउनुभयो । छापा, टेलिभिजन, रेडियो र न्यूज पोर्टल न्यूमिडियाको भूमिका र जिम्मेवारी समयअनुसार फरक–फरक देखिए पनि मूल ध्येय पाठक तथा श्रोतालाई सुसूचित गराउने र जागरण ल्याउने रहेको उहाँले बताउनुभयो ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मा, गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक जुनारबाबु बस्नेत, कान्तिपुर टेलिभिजनका सम्पादक विजय पौडेल, बाह्रखरी अनलाइनका प्रधान सम्पादक प्रतीक प्रधान, नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेल, दृष्टि साप्ताहिकका प्रधान सम्पादक शम्भु श्रेष्ठ, वरिष्ठ पत्रकार तीर्थ कोइराला, मोनिका सिंह लगायतले नेपाली पत्रकारिता र यसको चुनौती र अवसरका बारेमा धारणा राख्नुभएको थियो । कार्यक्रममा मन्त्री पन्तसहित अतिथिहरूले पुस्तक लोकार्पण गर्नुभएको थियो ।