• १७ जेठ २०८२, शनिबार

ताप्लेजुङमा लागुऔधषसहित तीन जना पक्राउ

blog

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ । तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ १६ गते । ताप्लेजुङमा प्रतिबन्धित लागुऔषधसहित शुक्रबार तीन जना पक्राउ परेका छन् । प्रहरीका अनुसार प्रतिबन्धित ट्रामोडोल हाइड्रोक्लोरिक र डिसाइक्लोमिन एचसिआई नामक लागुऔषधसहित तीन जना पक्राउ परेका हुन् ।

लागुऔषधसहित पक्राउ पर्नेमा जिल्लाको सिरिजङ्घा गाउँपालिका–७ खेबाङका १९ वर्षीय आदर्श भट्टराई, फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिम घर भई हाल फुङ्लिङ नगरपालिका–६ बस्ने २७ वर्षीय विमर्श सुन्दास र फुङ्लिङ नगरपालिका–१० फुरुम्बुका १९ वर्षीय नवीन गुरुङ रहेका छन् । शङ्कास्पद अवस्थामा पक्राउ परेको तीनै जनाको साथबाट उक्त प्रतिबन्धित लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक बस्नेतका अनुसार पक्राउ परेका तीन जनाको साथबाट ट्रामोडोल हाइड्रोक्लोरिक क्याप्सुल आइपी लेखिएको क्याप्सुल ११६ थान र डिसाइक्लोमिन एचसिआई ट्याब्लेट आइपी लेखिएको ट्याब्लेट ५९ थान बरामद भएको छ । पक्राउ परेकालाई लागुऔषध नियन्त्रण ऐन २०३३ तथा प्रचलित कानुनबमोजिम ताप्लेजुङ जिल्ला अदालतबाट सात दिनको म्याद लिएर विस्तृत अनुसन्धान सुरु गरिएको बस्नेतले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार सदरमुकाम फुङ्लिङको पाथीभरा चौक क्षेत्रमा लागुऔषध बिक्री वितरण गर्ने गरिएको भन्ने गोप्य सूचना पाएपछि बिहीबार प्रहरी टोली सो क्षेत्रमा परिचालित भएको थियो । प्रहरी टोलीले शङ्कस्पद अवस्थामा तीन जनालाई नियन्त्रणमा लिएर जाँच गर्दा लागुऔषध बरामद गरेको जनाएको छ ।