• १७ जेठ २०८२, शनिबार

रैथाने उत्पादन जोगाउनका लागि ‘कृषि जैविक विविधता मेला’

blog

मेलामा राखिएका किसानले उत्पादन गरेका रैथाने बिउ, बाली तथा उत्पादनहरू । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, जेठ १६ गते । रैथाने उत्पादनहरूको पहिचान, संरक्षण, सम्वर्धन एवम् प्रवर्धन गर्नका लागि बाँकेको कोहलपुरमा कृषि जैविक विविधता मेलाको आयोजना गरिएको छ ।

राष्ट्रिय जीन बैँक खुमलटार काठमाडौँ, कृषि ज्ञान केन्द्र बाँके, कोहलपुर नगरपालिका, कृषि बजार व्यवस्थापन समिति र संयुक्त राष्ट्रिय सङ्घको खाद्य तथा कृषि सङ्गठनको संयुक्त आयोजनामा कोहलपुर नगरपालिका ११ स्थित कृषि बजारमा शुक्रबार एक दिने मेलाको आयोजना गरिएको हो ।

राष्ट्रिय जीन बैँकका वरिष्ठ वैज्ञानिक दीपासिंह श्रेष्ठले स्थानीय बाली तथा विशेष गुणहरुको महत्त्व, खाद्य र पोषण सुरक्षाका लागि यसको भूमिका तथा दिगो विकासमा यसको योगदानबारे जनचेतना फैलाउने मुख्य उद्देश्यका साथ मेलाको आयोजना गरिएको बताउनुभयो ।

उहाँले मेलाले आम नागरिकलाई स्थानीय बालीको महत्त्वबारे शिक्षित गर्नुका साथै कृषकहरूलाई आपसमा बिउ आदानप्रदान गर्ने, परम्परागत ज्ञान साटासाट गर्ने र जैविक विविधताको संरक्षण र दिगो उपयोगलाई प्रोत्साहन दिने प्लेटफर्म प्रदान गर्ने बताउनुभयो ।

“यस्ता कृषि जैविक विविधता मेलाहरुले दुर्लभ र अनौठा जातसमेत समेटिएको हाम्रो मौलिक बाली विविधता पहिचान तथा दस्ताबेजीकरण गर्न मद्दत पुग्दछ, जुन भावी संरक्षण प्रयास र नयाँ जात विकासमा उपयोगी हुन सक्छ,” उहाँले भन्नुभयो, “कृषकहरूलाई जैविक विविधता संरक्षकका रूपमा सम्मान गर्दै, उहाँहरूको योगदानलाई मनन गर्ने र उहाँहरूलाई सशक्त बनाउन यस मेलाले महत्त्वपूर्ण भूमिका खेल्दछ ।”


उहाँले यस्ता मेलाबाट सामुदायिक बिउ बैँक स्थापनाको सम्भावना अध्ययन मार्ग खुल्ने, बिउ बैँकको सुरक्षित संरक्षण र कृषकबिच आदानप्रदान सम्भव हुने भन्दै क्षेत्रीय रूपमा रहेका अनौपचारिक बिउ प्रणालीको पहिचानमा सहयोग पुर्‍याउने, कृषक नेतृत्वमा अधारित बिउ प्रणालीको मजबुतीकरणका लागि रणनीति विकासमा मद्दत पुग्ने बताउनुभयो ।

कोहलपुर नगरपाकिाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले मेलामा प्रदर्शन गरिएका विभिन्न रैथाने बाली बिउका बारेमा अवलोकन गर्ने नागरिकहरूलाई यसको इतिहाससमेत जान्ने मौका मिलेको भन्दै यसको संरक्षण, सम्वर्धन र प्रवर्धन गर्न जरुरी रहेको बताउनुभयो ।

पछिल्लो समयमा कृषकहरूले पनि बाली छिटो उत्पादन गर्ने भन्दै परम्परागत खेती प्रणाली बिर्सँदै गएको, माटो, हावापानी, ठाउँ स्थान सुहाउँदो बिउको प्रयोग गर्न छाडेको भन्दै रैथाने बाली बिउ तथा उत्पादन लोप हुने अवस्थामा पुगेको बेलामा यो मेला महत्त्वपूर्ण रहेको बताउनुभयो । नगरपालिकाले गुरुयोजनानै तयार पारेर रैथाने बाली, बिउ तथा उत्पादन जोगाउनका लागि अगाडि बढेको उल्लेख गर्नुभयो । 

सामुदायिक जिन बैँक गाभर भ्यालीका अध्यक्ष पुरमल बस्नेतले मेलामा बाँके र बर्दियाका दर्जनौँ किसानहरूले लोप हुन लागेका रैथाने बिउ, परम्परागत उत्पादन मेलामा प्रदर्शनीका लागि ल्याएको बताउनुभयो । उहाँले किसानले राखेका सयौँ प्रकारका उत्पादनहरू अवलोकन गर्न तथा खरिद गर्नका लागि स्थानीय नागरिकदेखि विद्यालयका विद्यार्थीहरू मेलामा आएको जानकारी दिनुभयो । 

रैथाने प्रजातिका धेरै बाली, बिउ तथा उत्पादन नासिएको भन्दै यसको संरक्षणमा सबै लाग्नुपर्ने भन्दै जैविक विविधताको संरक्षण सबैको दायित्व भएको उल्लेख गर्नुभयो ।