फडिन्द्र अधिकारी
लेखनाथ, जेठ १६ गते। पोखराको फेवातालको सीमाङ्कन डिजिटल रूपमा सकेर शनिबारबाट भौतिक पोल गाडिने भएको छ। तालमा वर्षाका बेलाको उच्च सतह बाट ६५ मिटरसम्म मापदण्ड कायम गर्ने गरी सर्वाेच्चको आदेश बमोजिम सीमाङ्कन गर्न लागिएको हो।
फेवाताल संरक्षणका लागि सर्वाेच्च अदालतको फैसला कार्यान्वयन सहजीकरण समितिले शुक्रबार पत्रकार सम्मेलन गरी सीमाङ्कनको तयारीबारे जानकारी दिएको हो। समितिका संयोजकसमेत रहनुभएका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तालको सीमामा एक हजार एक ५५ पोल गाडिने उल्लेख गर्नुभयो।
“डिजिटल रूपमा सीमाङ्कन सकिएको छ। शनिबार बिहान बाराही चोकबाट पोल गाड्न सुरु गरिने छ,” उहाँले भन्नुभयो, “प्रदेश सरकारको तर्फबाट मैले, स्थानीय सरकारको तर्फबाट मेयरसापले र सङ्घ सरकारको तर्फबाट प्रमुख जिल्ला अधिकारीले पोल गाडेर यसको सुरुआत गरिने छ।”
पोखरा महानगरका प्रमुख धनराज आचार्यले २०८१ चैतभित्र सीमाङ्कन सक्न सर्वाेच्चको आदेश भए पनि तालको उच्चतम बिन्दु पत्ता लगाउन र नापजाँच गर्न समय लागेको उल्लेख गर्नुभयो। उहाँले अब सीमाङ्कन सकेर दुषित र मुआब्जा दिने जग्गा छुट्याइने उल्लेख गर्नुभयो।
फैसलाको पूर्ण पाठ आएको दुई महिनापछि मङ्सिर १३ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा समिति बनेको थियो। समितिमा पोखरा महानगरका प्रमुख धनराज आचार्य, जिल्लामा रहेका सुरक्षा निकायका प्रमुखसहित कास्कीका प्रमुख जिल्ला अधिकारीलगायत सदस्य हुनुहुन्छ।
यो समितिले सीमाङ्कनका लागि बनाएको उपसमितिले ड्रोन र डिजीबसको प्रयोग गरी डिजिटल्ली सीमाङ्कन गरेको हो। फेवातालको मापदण्ड कायम गर्न र सबै खालका अतिक्रमण हटाउन सर्वाेच्चले गएको २०८१ असारमा परमादेश दिएको थियो। आदेशमा सबै खाले व्यक्तिगत, सरकारी वा सार्वजनिक भौतिक संरचना आदेश प्राप्त भएको मितिले छ महिनाभित्र हटाउन भनिएको थियो। तालको मापदण्ड ६५ मिटरको मध्यवर्ती क्षेत्रलाई पूर्णरूपले हरियाली क्षेत्र घोषित गर्न भनिएको थियो।
२०१८ को नेपाल भारत सहयोग मिसनको रिपोर्टमा तालको क्षेत्रफल १०.३५ वर्ग किमी रहेकोमा २०७७ चैत १७ को राजपत्रअनुसार खुम्चिएर ५.७२६ वर्गकिमीमात्र छ। यसरी मापदण्ड कायम गर्दा एक हजार छ सय भन्दा बढी संरचना क्षतिपूर्ति नदिई हटाउनुपर्ने हुन्छ । २०१८ मा बाँध निर्माणपछि तालको ६५ मिटरभन्दा बाहिरको जग्गालाई मात्र मुआब्जा दिनुपर्ने सर्वाेच्चको फैसलामा छ। यसो गर्दा सात सय रोपनीको क्षतिपूर्ति दिनुपर्ने हुन्छ।