काठमाडौँ, जेठ १६ गते । सत्तारुढ नेपाली कांग्रेसले संसदमा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटलाई पारित गर्न विपक्षी दलहरूले सहजीकरण गर्ने विश्वास लिएको छ ।
शुक्रबार सभामुख देवराज घिमिरेले बोलाउनुभएको प्रमुख सचेतकहरूको बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे यस्तो बताउनुभएको हो ।
उहाँले बिहीबारको संसद बैठकमा प्रस्तुतिलाई सहजीकरण गरेको भन्दै प्रतिपक्षी दलहरूलाई धन्यवाद दिनुभयो । उहाँले जेठ १५ मा बजेट ल्याउने संवैधानिक दायित्व रहेकोले उक्त दायित्व पूरा गर्ने विषयमा प्रतिपक्षी दलहरूले जिम्मेवारी बोध गरी सहजीकरण गरेको जिकिर गर्नुभयो ।
प्रमुख सचेतक घिमिरेले बजेटलाई पारित गर्नुपर्ने विषय पनि संवैधानिक दायित्वभित्रै पर्ने भएकोले विपक्षी दलहरूले बजेटको सेसनलाई अगाडि बढाउने कुरामा सहजीकरण गर्नेमा आफूहरूले विश्वास लिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, “प्रतिपक्षीलाई धन्यवाद छ, हिजोको बजेट प्रस्तुतिलाई सहजीकरण गर्नुभयो । जेठ १५ मा बजेट ल्याउने जुन संवैधानिक दायित्व थियो, उक्त संवैधानिक दायित्व पूरा गर्ने कुरामा उहाँहरूले आफ्नो जिम्मेवारी बोध गरेर सहजीकरण गर्नुभयो । त्यसका लागि धन्यवाद छ । बजेटलाई पारित गर्नुपर्ने कुरा पनि संवैधानिक दायित्वभित्र नै पर्छ । त्यो संवैधानिक दायित्वको बोध गरेर उहाँहरूले बजेटको सेसनलाई अगाडि बढाउने कुरामा सहजीकरण गर्नुहुने छ र उक्त वातावरण निर्माण गर्नुहुने छ भन्ने हामी विश्वास गर्छौं ।”
उहाँले सभामुख घिमिरेको नेतृत्वमा बसेको बैठक संसदको क्यालेन्डर बनाउने विषयमा केन्द्रित रहेको बताउनुभयो । उहाँले बजेटमाथि छलफल र विनियोजित विधेयकमाथिको छलफललाई लिएर क्यालेन्डर बनाउने विषयमा मोटामोटी सहमति भएको समेत जानकारी दिनुभयो ।