नवलपुर समाचारदाता
नवलपुर, जेठ १५ गते । जल र जङ्गलमा आश्रित र आर्थिक हिसाबले पछि रहेका नवलपुरका माझी, मुसहर र बोटे समुदायका युवा वैकल्पिक पेसातिर आकर्षित हुन थालेका छन् । नारायणीमा माछा मार्ने, डुङ्गा चलाउने र जङ्गलमा निगुरो, च्याउ टिपेर जीविकोपार्जन गर्ने यो समुदायको युवापुस्ता वैकल्पिक पेसातिर आकर्षित हुन थालेको हो ।
यो समुदायका ४१ जना युवाले २१ दिनसम्म पथप्रदर्शकसम्बन्धी तालिम लिएर परम्परागत पेसालाई छोडी वैकल्पिक पेसालाई प्राथमिकता दिएको माझी, मुसहर, बोटे कल्याण सेवा समिति नवलपुरका सचिव ज्ञानबहादुर बोटेले बताउनुभयो ।
कावासोती, देवचुली र मध्यविन्दु नगरपालिकाका ४१ जनाले परीक्षा दिएकामा शतप्रतिशत पास भएको बोटेले जानकारी दिनुभयो । उहाँका अनुसार २१ दिनसम्म उनीहरूले होमस्टेमा सामान्य सैद्धान्तिक कक्षा लिएपछि पूरै दिन जङ्गलमै गएर व्यावहारिक कक्षा लिएका छन् ।
सफारी जाँदा अपनाउनुपर्ने सुरक्षा सावधानी, जैविक विविधता, वन, वातावरण र पर्यावरणबारे जङ्गलमै जानकारी लिएको र स्वदेशी तथा विदेशी पर्यटकलाई बुझाउनका लागि पर्याप्त ज्ञान बटुलेको बोटेको भनाइ छ ।
नवलपुरको अमलटारी, दिव्यपुरीलगायत वनबाट चितवन राष्ट्रिय निकुञ्ज घुम्न जाने पर्यटकको सङ्ख्या बढेसँगै युवापुस्तामा पथप्रदर्शक पेसाप्रति आकर्षण बढेको अमलटारी होमस्टे भिलेजका सञ्चालक एवं होमस्टे महासङ्घका केन्द्रीय अध्यक्ष प्रेमशङ्कर मर्दनियाले बताउनुभयो ।
यहाँ आउने पर्यटकको पथप्रदर्शकको जिम्मेवारी पाए पारिश्रमिकका साथै राम्रो थप आम्दानी पनि पाइने भएपछि पथप्रदर्शक बन्नेको लहर बढेको छ । कक्षा १२ को परीक्षापछि तालिममा सहभागी कावासोती–१५, बाघखोरकी १९ वर्षीय सुजिता बोटेले पहिलो पटक यस्तो तालिम लिन पाउँदा हर्षित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै कुरा सिक्ने अवसर मिलेको छ । वन, वातावरण र जैविक विविधताको संरक्षणका साथै पर्यटन प्रवर्धनमा लाग्ने हौसला मिलेको छ, यसले मलाई यो पेसामा लाग्न अभिप्रेरित गर्न थप मद्दत गरेको छ ।” जङ्गल सफारी गर्दा एउटा समूहमा कम्तीमा एक जना पथप्रदर्शक अनिवार्य हुनुपर्ने नीति अवलम्वन गरेसँगै अहिले यो पेसामा रोजगारीको अवसर बढेको छ ।
चितवन राष्ट्रिय निकुञ्ज र नवलपुरको मध्यवर्ती क्षेत्रमा बाघ, भालु, जङ्गली हात्ती, गैँडा, जरायो, मृग, हरिण, नीलगाईलगायत जङ्गली जनावरका साथै यहाँको जैविक विविधता, पर्यावरणको अवलोकन र जटायु रेस्टुरेन्ट, नारायणीमा पाइने जलचर, गोही प्रजनन केन्द्र र तालतलैयाको अवलोकनका लागि पर्यटक आउने क्रम बढ्दो छ ।
यसअघि यही समुदायलाई चितवनको माडीमा दिइएको तालिममा एक जना पनि बोटे, माझी, मुसहरको सहभागिता नभए पनि अहिले भने सहभागिता र चासो बढेको सचिव बोटेले बताउनुभयो । अहिले माझी, मुसहर र बोटे समुदायका तीन जनासँग मात्र पथप्रदर्शकको अनुमतिपत्र रहेको उहाँको भनाइ छ तर पछिल्लो समय पर्यटक आउने क्रम बढेसँगै पर्यटन व्यवसायीबिच अस्वस्थ प्रतिस्पर्धा चलेको पथप्रदर्शक प्रशिक्षक डिबी चौधरीले बताउनुभयो । चौधरीले भन्नुभयो, “अस्वस्थ प्रतिस्पर्धा हटाउन सके यस क्षेत्रको भविष्य राम्रो छ तर अस्वस्थ पर्यटन व्यवसायका कारण यो व्यवसाय नै धरापमा छ । गाइड उत्पादन गर्न धेरै समय लाग्छ । यो विषयमा जिम्मेवार निकाय गम्भीर बन्न जरुरी छ ।”
लामो समय लगाएर उत्पादन गरेका पथप्रदर्शक स्वदेशमा रोजगारीको राम्रो अवसर नहुँदा बिदेसिने गरेकाले यो पेसामा थप चुनौती रहेको चौधरीले बताउनुभयो । यो तालिम लिएकाहरू अब चितवन राष्ट्रिय निकुञ्जले लिने परीक्षामा सहभागी हुने छन् ।