• ३१ जेठ २०८२, शनिबार

गणतन्त्र महत्वपूर्ण उपलब्धि : प्रमुख देवकोटा

blog

बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा । फाइल तस्बिर

अनिल पराजुली

हेटौँडा, जेठ १५ गते । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको राजनैतिक इतिहासको एक महत्वपूर्ण उपलब्धि रहेको बताउनुभएको छ । गणतन्त्र दिवस २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले नेपाली जनताको लामो सङ्घर्ष, बलिदान र अथक प्रयासको देन गणतन्त्र भएको स्पष्ट पार्नुभएको छ ।  

“यस ऐतिहासिक तथा गौरवपूर्ण अवसरमा बागमती प्रदेश, स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा  हार्दिक शुभकामना व्यक्त गर्दछु“ उहाँले सन्देशमा भन्नुभएको छ । आजको स्वर्णिम दिन ल्याउन आफ्नो प्राणको आहुति दिने ज्ञात अज्ञात सहिदहरूप्रति प्रदेश प्रमुख देवकोटाले हार्दिक श्रद्धाञ्जली अर्पण  गर्नुभएको छ । 

ऐतिहासिक जनआन्दोलन २०६२–६३ को सफलतासँगै मुलुकमा स्थापित गणतन्त्रले नेपाली जनतालाई सार्वभौम सम्पन्न  बनाउँदै सबैलाई राष्ट्र निर्माणको मूल प्रवाहमा समाहित गरेको छ । देशमा सबैखाले निरंकुशताविरुद्ध सम्पूर्ण राजनीतिक दल र आम नागरिक समाज एकजुट भएर इतिहास बदलेजस्तै गणतन्त्र, राष्ट्रियता र जनजीविकाको सवालमा पार्टीगत स्वार्थ र सिद्धान्त त्यागेर एक ढिक्का भई सकारात्मक सन्देश प्रवाह गर्न जरुरी रहेको उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ । 

“सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासबाट देशमा सुशासन र समृद्धि भित्र्याउन सकिने हुँदा यसलाई संस्थागत गरी समृद्ध देश निर्माणको दिशामा सबै लाग्नु पर्दछ । अभ्यासमा कहीँ कतै कमजोरी भए होलान् तर विकल्प व्यवस्था  परिवर्तन नभई अवस्था परिवर्तन हुनुपर्दछ । हाम्रो एक पुस्ता व्यवस्था परिवर्तनमा ऊर्जाशील समय खर्चिन बाध्य भयो, तर आजको युवा पुस्तालाई आन्दोलन होइन, विकास र समृद्धिको पथमा प्रोत्साहित गर्नु पर्दछ“ उहाँले सन्देशमा भन्नुभएको छ । 

हामीले गणतन्त्रको मूल मर्म जनताको सर्वोच्चता, समावेशिता, समानता, विधिको शासन, सामाजिक न्याय र उत्तरदायिपूर्ण शासन प्रणालीको स्मरण गर्नु आवश्यक रहेको उहाँको भनाइ छ । “समग्र राष्ट्रको प्रगति र समृद्धिका लागि हामी सबैले आफ्नो स्थानबाट सक्रिय भूमिका निर्वाह गर्नुपर्दछ“ उहाँको सन्देशमा भनिएको छ । 

नयाँ पुस्तामा निराशाको बादल छाउनु, अप्रिय कुरा भएको हुँदा कतै कमी कमजोरी भए सच्याएर द्रुत विकासको लय पक्रिनुपर्नेमा उहाँले सुझाव दिनुभएको छ । “परिणाममुखी कार्यहरूमा जोड दिएर युवापुस्ता र आम नागरिकको विश्वास जित्नुपर्दछ, हामी यो र त्यो भनेर घटना परिघटनामा विल्कुल अलमलिनु हुँदैन, इतिहासका विभिन्न कालखण्डका जनआन्दोलनका सहिदहरूको सहादत, घाइतेहरूको आहत अनि आश्रितहरू र आफन्तको पीडालाई उपेक्षा गर्नु अक्षम्य भूल हुनेछ“ सन्देशमा उल्लेख छ ।