• १७ जेठ २०८२, शनिबार

‘गणतन्त्र आएपछि मुलुकमा आमूल परिवर्तन सम्भव भयो’

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङ । फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ १५ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था आएपछि मुलुकमा आमूल परिवर्तन सम्भव भएकाले यो शासन व्यवस्थाको विकल्प नरहेको बताउनुभएको छ । गणतन्त्र दिवस २०८२ को अवसरमा आज शुभकामना सन्देश दिनुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

अभिव्यक्ति स्वतन्त्रताको विषयमा दक्षिण एसियामै अगाडि रहेको, सूचना तथा सञ्चार क्षेत्रमा नेपालले ठुलो सफलता प्राप्त गरिसकेको उहाँको भनाइ छ । सञ्चार क्षेत्रसँगै पर्यटन, शिक्षा, स्वास्थ्य, नागरिक उड्डयन क्षेत्रमा ठुलो सफलता प्राप्त गरेको उहाँले बताउनुभयो । यो शासन व्यवस्था आएकै कारण सफलता सम्भव भएको उहाँले प्रष्ट पार्नुभयो ।  

राजतन्त्रकालमा एउटै व्यक्तिमा राज्यको सबै स्रोत साधन केन्द्रित थियो, जनताको अधिकार २५० वर्षसम्म खोसेको राजतन्त्र अब कल्पना गर्न नसकिने उहाँले बताउनुभयो । नयाँ पुस्ताले विगतको राजतन्त्रले मुलुक र जनतामा गरेको दमन, शोषण र उत्पीडनबारे अध्ययन गर्न आवश्यक रहेको चर्चा गर्नुहुँदै मन्त्री गुरुङले राजतन्त्रको २५० वर्ष र लोकतन्त्र आएपछिको पछिल्लो शासन व्यवस्था हेर्दा आर्थिक, शैक्षिकरुपले मुलुकले फड्को मारेको चर्चा गर्नुभयो । 

लोकतन्त्रमा जहिले समृद्धिको सम्भावना रहिरहने तर राजतन्त्रमा त्यो सम्भव नभएको उहाँले बताउनुभयो ।  गणतान्त्रिक कालमा राजनीतिक अस्थिरता देखिए पनि जनताले एउटा दललाई बलियो बनाएर कम्तिमा पाँच वर्षसम्म एउटै दलले शासन गर्नेगरी मतदान गरेमा मुलुकको समृद्धि अझ छिटो हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

मन्त्री गुरुङले भन्नुभयो, “गणतान्त्रिक शासन व्यवस्थाबारे गलत भाष्य निर्माण गर्न खोजिएको छ, गणतन्त्र आएपछि मुलुकमा आर्थिक, राजनीतिक, शैक्षिक क्षेत्रमा महत्वपूर्ण परिवर्तन सम्भव भएको छ । यो कुरा आजको युवाले मनन गर्नुपर्छ ।” यसअघि ६२ प्रतिशत रहेको गरिबी अहिले २० प्रतिशतमा झरेको उहाँले बताउनुभयो । कोभिड समस्या नआएको भए गरिबी १० प्रतिशतमा झरिसक्ने थियो उहाँले बताउनुभयो ।

अहिले हजारौं किलोमिटर नयाँ लोकमार्ग कालोपत्रे भइसकेको चर्चा गर्नुहुँदै सञ्चारमन्त्री गुरुङले भन्नुभयो, “सडक निर्माणमा अभूतपूर्व उपलब्धि भएको छ । साक्षरता दर पहिले ४२ प्रतिशत थियो, अहिले ७५ प्रतिशतमा पुगेको छ । नेपाली जनताको औषत आयु ७२ वर्ष पुगेको छ” उहाँले थप्नुभयो, “अहिले नेपालमै क्यान्सर रोगको उपचार हुन्छ । किडनी प्रत्यारोपण यहीँ सम्भव भएको छ । गाउँ टोलमा बाटो पुगेको छ । यो यही गणतन्त्र आएपछि सम्भव भएको हो ।”

यस अवधिमा सिँचाइ क्षेत्रमा राम्रो प्रगति भएको छ । ठुलो परियोजना अझै निर्माणको क्रममा रहेकाले सो परियोजना सम्पन्न भएमा तराईमा हरित क्रान्ति आउने र खाद्यान्न निर्यात मुलुकमा रुपान्तरण हुनसक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । अहिले ३४०० मेगावाट बिजुली उत्पादन भइसकेको बहुदलअघि सो अवस्था नरहेको उहाँले प्रष्ट पार्नुभयो । 

लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था आएपछि युवालाई प्रशस्त अधिकार दिइएको छ तर युवाको ध्यान अमेरिका, अष्ट्रेलिया, जापानतिर छ । युवालाई यसबारे प्रशिक्षित गराउनुपर्छ भन्नुहुँदै मन्त्री गुरुङले भन्नुभयो, “लोकतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, समाजवादको विकल्प सामन्तवाद हुन सक्दैन, गणतन्त्रको विकल्प निरंकुश राजतन्त्र हुनै सक्दैन ।” गणतान्त्रिक कालमा केही काम भएन भन्ने भाष्यलाई हामीले चिर्नुपर्छ उहाँले भन्नुभयो । 

गणतन्त्र दिवस २०८२ को अवसरमा देश तथा विदेशमा रहनुभएका सबै नेपालीलाई उहाँले शुभकामना व्यक्त गर्नुभयो ।