• १७ जेठ २०८२, शनिबार

गणतन्त्रपछि सेवासँगै विकासमा प्रगति

blog

सङ्घीयतापछि तिला–४ मा निर्माण भएको नयाँ भवन । तस्बिर : नेत्र शाही

नेत्र शाही

जुम्ला, जेठ १५ गते । जुम्लाको हिमा गाउँपालिका–२ स्थित ओदीगाउँका खड्कबहादुर रोकायालाई सिफारिस लिन मात्र तत्कालीन गाविस कार्यालय बड्की जान एक दिन लाग्ने गथ्र्यो । अब गाउँमै वडा कार्यालय स्थापना भएपछि सहज भएको छ । 

यो देशमा गणतन्त्र आएका कारणले सम्भव भएको रोकाया सम्झनुहुन्छ । खड्कबहादुर जस्तै सो गाउँका मानिस सरकारी काम गर्नका लागि तत्कालीन गाविस कार्यालयमा पुगेर आउन हैरान हुन्थ्यो । ओदीबाट बड्की आउनलाई खोला तरेर, जङ्गल पार गर्दै हिँड्न जोखिम पनि थियो । जब नेपालमा गणतन्त्र स्थापना भयो, ओदीगाउँलाई छुट्टै वडा पालिकाका लागि प्रस्ताव भएपछि त्यहाँका सबैलाई निकै सहज भएको छ । 

गणतन्त्रको स्थापनापछि जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको स्थापना भयो । तत्कालीन संविधान सभा सदस्य नरेश भण्डारी २०६४ सालमा संविधान सभा सदस्यमा निर्वाचित भएपछि २०६८ कात्तिक २३ गते तत्कालीन संविधान सभाबाट प्रतिष्ठान पारित भई प्रतिष्ठानको जन्म भयो । 

अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विशेषज्ञ स्वास्थ्य सेवाको विस्तार मात्रै होइन, जुम्लाले डाक्टर पढाएर स्वास्थ्य सेवामा सहयोग पु¥याएको छ । स्थानीय युवाको रोजगारी तथा यहाँ व्यापार व्यवसाय बढिरहेको छ । कर्णाली प्रतिष्ठान यो गणतन्त्रको उपहार भएको भन्ने गरिन्छ । सङ्घीयतापछि विद्युत्, सडक विस्तार, शैक्षिक उन्नति, धौलीगाड खानेपानी आयोजना साबिक कर्णालीका उपहार हुन् । 

जीवनरेखा : कर्णाली राजमार्ग

विसं २०६१ मा कर्णाली राजमार्गको कच्ची ट्र्याक खुल्यो । कच्ची बाटोबाट गाडी सुर्खेतदेखि जुम्ला पुगेपछि पहिलो पटक जुम्ला र कालीकोटवासीले तामझामका साथ स्वागत गरे तर कच्ची बाटो भएकाले सयौँ दुर्घटना यस राजमार्गमा भइरहे । देशमा गणतन्त्र आएपछि सरकारले यस सडकलाई कालोपत्रेदेखि मर्मतसम्भार र निर्माणमा प्राथमिकता दिँदै आयो । सडक सञ्जाल पुगेपछि यातायातमा सहज मात्रै होइन, कर्णालीको जीवनरेखाका रूपमा स्थापित भयो । 

निर्माण सामग्री, खाद्यान्न आयात तथा निर्यातमा ठुलो परिवर्तन भयो । यही सडकबाट करोडौँको स्याउ, सिमीसहित रैथाने बाली निर्यात भइरहेको छ । अहिले सुर्खेतदेखि जुम्ला एक दिनमा यात्रा गरेर पुग्न सकिन्छ । बाटो बनेपछि रारा र सिँजा जाने पर्यटक बाक्लो मात्रामा आउने गरेका छन् । सुर्खेत, दैलेखदेखि कर्णाली नदीको तिरैतिर हुम्लाका लागि सरकारले कच्ची ट्र्याक निर्माणका लागि लगानी गरिरहेको छ । यति मात्र होइन, बहुचर्चामा रहेको नेपालको हुम्ला जिल्ला गणतन्त्रपछि राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । यद्यपि सदरमुकाम जोडिन बाँकी छ । 

सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र चौधरीका अनुसार स्थानीय तहमा समेत सडक सञ्जालको तीव्र विकास भइरहेको छ । उहाँका अनुसार जुम्लाबाट डोल्पा कच्ची ट्र्याक बाटो जोडिएको छ । 

यता भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय कर्णालीको तथ्याङ्क अनुसार छ वर्षको अवधिमा सरकारले कर्णालीमा १५६.७६ किलोमिटर कालोपत्रे सडक बनाएको छ । मन्त्रालयका अनुसार कर्णालीका पक्की सडक निर्माणभन्दा पनि ट्र्याक ओपन, ग्राभेल पहिलो प्राथमिकतामा परेको छ । 

गाउँमै सिंहदरबार

विसं २०७२ मा संविधान निर्माण भएपछि २०७४ सालमा स्थानीय तहको पहिलो चुनाव भएको थियो । सो चुनावपछि आफ्नै गाउँमा प्रशासनिक केन्द्र स्थापित भएपछि घरमै सरकार आएको जनतालाई अनुभूति भएको छ । जिल्लाको तातोपानी गाउँपालिकाका उपाध्यक्ष रेवती रावल स्थानीय तहका काम, बजेट, नीति तथा कार्यक्रम प्रक्रिया हेर्ने हो भने साँच्चिकै गाउँमा सिंहदरबारको पूर्ण अनुभूति भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यो व्यवस्था नआएको भए कर्णालीका नागरिकले यसरी आफ्नो नीति आफैँ बनाउने र विकास गर्ने दिन आउँदैनथ्यो ।”

उहाँले सङ्घीयतासँगै स्थानीय तहलाई वित्तीय अधिकारसहितको जनताको नजिकको सरकारका रूपमा स्थापित गरिदिएपछि स्थानीय तहकै जनप्रतिनिधिको अगुवाइमा काम भइरहेको छ । हिमा गाउँपालिका जुम्लाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले गाउँपालिकाको दोस्रो कार्यकालमा आफू आउनेबित्तिकै भौतिक विकाससँगै सामाजिक कुप्रथाका रूपमा रहेको बालविवाहलाई अन्त्य गर्ने उद्देश्यले अभियान थालेको र स्थानीय सामाजिक संस्थाको सहकार्यमा हिमा गाउँपालिकालाई कर्णालीकै पहिलो बालविवाहमुक्त गाउँपालिका घोषणा गर्न सफल भएको बताउनुभयो । यो जुम्लाकै पहिलो साक्षरता गाउँपालिका पनि रहेको उहाँले बताउनुभयो ।  

जिल्लाको सिँजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धिताल गणतन्त्र स्थापनापछि सङ्घीयता नभएको भए यति विकास र सुविधा नहुने दाबी गर्नुहुन्छ । उहाँले स्थानीय तहको अधिकारले प्रदान गरेका कामसहित केही महत्वपूर्ण काम गणतन्त्र र सङ्घीयताको उपलब्धि भएको बताउनुभयो । 

इलाका प्रशासनबाटै राष्ट्रिय परिचयपत्र वितरण, गाउँपालिका प्रशासनिक भवन निर्माण, खस सङ्ग्रहालयको निर्माण सुरु, वाणिज्य बैङ्क स्थापना, केदारनाथ मेलासहित राजमार्गदेखि पालिकासम्मको सडक बनेको छ । 

सूचना प्रविधिमा सहज

सूचना प्रविधिमा गणतन्त्रपछि निकै परिवर्तन भयो । फोन गर्न निकै कठिन हुने अवस्थामा रहेको कर्णालीका गाउँबस्तीमा अहिले टेलिफोन विस्तार भइरहेको छ । कतिपय स्थानमा त इन्टरनेटको विकास भएर काममा सहज भएको छ । नेपाल पत्रकार महासङ्घ शाखा जुम्लाका संस्थापक सभापति नरेन्द्रनाथ योगीका अनुसार कर्णालीबाट पत्रकारिता गर्दा निकै कठिनका दिन सम्झनुहुन्छ । द्वन्द्वकाल, २०६२/६३ को आन्दोलनमा समेत आवाबाट हुँदै फ्याक्सबाट समाचार पठाउने गरेको स्मरण गर्नुहुन्छ । उहाँका अनुसार अहिले टेलिफोन र इन्टरनेटले कर्णालीलाई द्रुत गतिमा अगाडि बढाएको छ, यो गणतन्त्रको उपहार भएकोमा उहाँ जोड दिनुहुन्छ ।