गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ १५ गते । विद्यालयकेन्द्रित ‘एक गुरु बहुकला संस्कृति प्रशिक्षण कार्यक्रम’ सम्पन्न भएको छ । सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिकामा १० दिनसम्म चलेको कार्यक्रममा शिक्षकलाई सङ्गीतसम्बन्धी प्रशिक्षण दिइएको थियो । मुख्य प्रशिक्षक छेडुप लामा रहनुभएको कार्यक्रममा डम्फु, मादल, खैँजडीलगायतका साङ्गीतिक प्रशिक्षण दिइएको थियो ।
अर्का प्रशिक्षक छेवाङ तेन्जिङ लामाले शिक्षकलाई गायनको प्रशिक्षण दिनुभएको थियो । गाउँपालिकाका २० विद्यालयबाट छानिएर आएका शिक्षक/शिक्षिकालाई प्रशिक्षण दिइएको प्रशिक्षक लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले विद्यार्थीले शिक्षण सिकाइमा खासै ध्यान दिएका छैनन् । त्यसैले पनि सङ्गीतसम्बन्धी केही ज्ञानवर्धक कुरा सिकाउन खोजिएको हो ।”
बालबालिकामा मोबाइलको प्रभाव बढ्दै गएका बेला उनीहरूको ध्यान सङ्गीततर्फ तान्न कार्यक्रम आयोजना गरिएको लामाले बताउनुभयो । कार्यक्रममा शिक्षा अधिकृत विनोद कार्कीले विद्यार्थीलाई शिक्षणसँग सम्बन्धित रहेर नृत्य, सङ्गीत र वाद्यवादन सिकाउनु एउटा प्रभावकारी माध्यम हुन सक्ने बताउनुभयो ।