गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ १५ गते । अग्रज चित्रकार हरिप्रसाद शर्माका ‘समयक्रममा नेपाल : चित्रकलामा नेपालको इतिहास, संस्कृति र जनजीवन’ चित्रहरूको विशेष प्रदर्शनी नेपाल आर्ट काउन्सिलमा भइरहेको छ । ८८ वर्षीय शर्माको यो पाँचौँ एकल प्रदर्शनी हो ।
चित्रमा दर्शकले उपत्यकाको समृद्ध नेवारी लोकसंस्कृति, जनजीवन, तत्कालीन नेवारी परिवेश र प्रचलनलाई अनुभव गर्न पाउँछन् । उहाँका चित्रहरू यथार्थवादी त लाग्छन् नै; त्यसमा ऐतिहासिकता पनि प्रस्टसँग समेटिएको भेटिन्छ ।
विभिन्न संस्कृति र जनजीवनका कतिपय चित्रकला चित्रकार शर्माले आफ्नो बाल्यकालीन स्मृतिमा आधारित भएर कोरेको बताउनुभयो । ७० वर्षअघि देखेका, भोगेका प्रसङ्ग, दृश्य र घटनालाई उहाँले आफ्नो कलामा जीवन्त रूपमा उतार्नुभएको चित्रहरू नियाल्दा अनुभव गर्न सकिन्छ ।