गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ १५ गते । स्रष्टा प्रेमध्वज प्रधानका नाममा स्थापित ‘गोल्डन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’ ले प्रेमध्वज प्रधानको जन्मजयन्तीका अवसरमा नेपाली सुगम सङ्गीत क्षेत्रमा अमूल्य योगदान पुर्याउने चार स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ ।
प्रत्येक दुई वर्षमा प्रदान गरिने स्रष्टा सम्मान तथा पुरस्कार प्रधानको जन्मदिन जेठ २७ गते दिइने प्रतिष्ठाने जनाएको छ । प्रतिष्ठानले ‘प्रेमध्वज प्रधान राष्ट्रिय सङ्गीत सम्मान–२०८२’ वरिष्ठ गायिका मीरा राणालाई प्रदान गर्ने प्रतिष्ठानका कोषाध्यक्ष भुवन मास्केले जानकारी दिनुभयो । पुरस्कारको राशि एक लाख एक रुपियाँ रहेको छ । यसै गरी ‘प्रेमध्वज प्रधान राष्ट्रिय वाद्यसङ्गीत सम्मान’ वरिष्ठ वाद्य सङ्गीत निर्देशक मोहनकृष्ण कार्कीढली र ‘प्रेमध्वज प्रधान राष्ट्रिय युवा सङ्गीत पुरस्कार’ गायक सुरजकुमार थापालाई प्रदान गरिने भएको छ । दुवै पुरस्कारको राशि ५० हजार एक रुपियाँ रहेको छ । प्रेमध्वज–किरण प्रधान राष्ट्रिय प्रतिभा सङ्गीत पुरस्कार गायक चन्द्र सिं घलेलाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि २५ हजार एक रुपियाँ रहेको छ ।