बुटवल समाचारदाता
बुटवल, जेठ १५ गते । बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउने उद्देश्यसाथ कोरला नाकादेखि लुम्बिनी र भारतदेखि कोरला नाकासम्म पर्यटक भित्र्याउन बुटवल उपमहानगरपालिकाले पहल थालेको छ ।
भारतबाट मुक्तिनाथ भ्रमणका लागि आउने हिन्दु र चीनबाट लुम्बिनी आउने बुद्धिस्ट पर्यटक ल्याउने र बुटवलमा विश्राम गर्ने गरी बुटवल उपमहानगरपालिकाले पहल थालेको हो । जस अनुसार बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको नेतृत्वमा पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, म्याग्दी र मुस्ताङका विभिन्न स्थानीय तहसँग भेटेर आपसी सहकार्य र पर्यटक भित्र्याउन साझा पहल थाल्ने गरी छलफल भएको छ ।
स्याङ्जाको कालीगण्डकी, पाल्पाको तानसेन, गुल्मीको कालीगण्डकी, बागलुङको जैमिनी, मुस्ताङको ल्होमन्थाङ, घरपझोङ, लो घेकर दामोदर कुण्ड, बारागुङ मुक्तिक्षेत्र गाउँपालिकालगायतका स्थानीय तहसँग भेटघाट गरी पर्यटन प्रवर्धनमा सहकार्य गर्ने र छिट्टै पालिकाबिच सम्मेलन आयोजना गर्ने निर्णय भएको नगरप्रमुख खेलराज पाण्डेयले बताउनुभयो ।
उहाँका अनुसार स्याङ्जाको कालीगण्डकी गाउँपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकासँग बुटवल उपमहानगरपालिकाले भगिनी सम्बन्ध कायम गर्ने सहमतिसमेत भएको छ ।
नगरप्रमुख पाण्डेयले बुटवलमा सबैका लागि उपयोगी हुने पर्यटक सूचना केन्द्र निर्माण गर्ने र पर्यटन व्यवसायीसँगको सहकार्यमा टुर प्याकेज तयार गरेर भारत र चीनका पर्यटक आकर्षित गर्ने गरी कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।
यसैक्रममा बुटवल उपमहानगरपालिका र मुस्ताङको घरपझोङ गाउँपालिकाबिच धार्मिक पर्यटन प्रवर्धनमा सहकार्य गर्ने सहमति भएको छ । कालीगण्डकी कोरिडोरलाई धार्मिक पर्यटकीय मार्गका रूपमा विकास गर्ने गरी दुई पालिका अघि बढ्ने भएका हुन् ।त्यस्तै बुटवल मुक्तिनाथ पदमार्ग क्षेत्रमा अवस्थित सबै स्थानीय सरकारको भेला आयोजनामा धार्मिक पर्यटन प्रवर्धनका लागि बृहत् अन्तर्क्रियाका लागि दुई स्थानीय सरकारले पहल गर्ने प्रमुख पाण्डेयले बताउनुभयो । घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले बुटवल मुक्तिनाथ पर्यटकीय प्रवर्धनले समग्र देशको अर्थतन्त्रलाई चलायमान गराउने बताउनुभयो ।
त्यस्तै मुस्ताङमा उत्पादित स्थानीय उत्पादनको प्रवर्धन तथा बजार व्यवस्थापनमा बुटवल उपमहानगरपालिकाले पहल गर्ने र बुटवल उपमहानगरपालिकाको उत्पादन प्रवर्धनमा घरपझोङ गाउँपालिकाले पहल गर्ने सहमतिसमेत भएको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बताउनुभयो ।
यस्तै बागलुङको जैमिनी नगरपालिका, स्याङ्जाको कालीगण्डकी, गुल्मीको कालीगण्डकी, मुस्ताङको ल्होमन्थाङ, घरपझोङ, लो घेकर दामोदर कुण्ड, बारागुङ मुक्तिक्षेत्र गाउँपालिकालगायतका जनप्रतिनिधिले पनि बुटवलको अभियानमा सँगै अगाडि बढ्ने र पर्यटन प्रवर्धनमा सहकार्य गर्ने बताउनुभएको थियो ।