जयकृष्ण यादव
इनरुवा, जेठ १५ गते । सुनसरीका सयौँ मिटरब्याजपीडितले साहु महाजनका कारणले घरबारविहीन बनेको गुनासो गरेका छन् । आफ्नो तत्कालको आवश्यकता पूर्तिका लागि कपाली तमसुक गरेर र जग्गा पास गरेर ऋण लिएको र साँवाब्याज तिर्दासमेत कपाली तमसुक र जग्गा फिर्ता नदिँदा मिटरब्याजपीडितहरू घरबारविहीन बनेको कोशी प्रदेश मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर आन्दोलन समिति जिल्ला संयोजक इलियास आलमले जानकारी दिनुभयो ।
आलमका अनुसार मिटरब्याजी मालिकले घर, महल बनाए पनि पीडितको घरबारविहीन मात्रै नभई सम्बन्ध पनि बिग्रिएको छ ।
सुनसरीको देवानगन्ज गाउँपालिका–२ का विनोद यादव र सुमित्रा यादवले स्थानीय रामानन्द यादवसँग २०७१ सालमा तीन लाख रुपियाँ मासिक १० प्रतिशत ब्याजमा ऋण लिँदा जग्गा धरौटीमा धितो पास गराउनुभएको थियो । यादवले रकम दिएर कपाली तमसुक पनि बनाएको र समयमा रकम फिर्ता नदिएको भन्दै जग्गा किनेको दाबी गर्दै पीडितलाई जग्गा फिर्ता नगरी धम्की दिँदै जग्गा कब्जा गर्ने प्रयास गरेको गुनासो बाहिर आएको छ ।
विनोद यादवले २०७४ सालसम्म आधा रकम फिर्ता गरेको भए पनि जग्गा फिर्ता नगरेको आरोप लगाउनुभएको छ । रामानन्द यादवले २०८० मङ्सिरमा पीडितबाट छ लाख ५९ हजार १२५ रुपियाँ तिरे जग्गा फिर्ता गर्ने जिल्ला प्रशासन कार्यालयमा सहमति गर्नुभएको तर रकम तिर्दासमेत फिर्ता गर्न अस्वीकार गरेको अर्का पीडित सुमित्रा यादवले गुनासो गर्नुभयो । अझैसम्म जग्गा फिर्ता नगरेको र थप रकम माग गरिरहेको गुनासो पीडितले गरेका छन् ।
त्यसै गरी दुहवी नगरपालिका धर्मनारायण विश्वासले समेत साहुमहाजनसँग केही वर्षअघि पाँच हजारदेखि एक लाख रुपियाँ ऋण लिएकोमा समयमा सावाँ तिर्न नसक्दा हालसम्म ८८ लाख रुपियाँ तिरिसकेको भए पनि कुनै जग्गा फिर्ता नुहँदा घरबारविहीन बनेको गुनासो गर्नुभयो । आफूलाई जग्गा नदिएर अदालतमा मुद्दा चलाएर घरघडेरी लिलाम गरी हडपेको गुनासो गर्नुभयो । उहाँ भाडाको घरमा बस्न बाध्य भएको र भाडा तिर्न समस्या भएकाले अहिले घरबारविहीन हुनुभएको छ । देवानगन्ज–३ का जहरु यादवबाट छ जना स्थानीय पीडित भएका छन् ।
इनरुवा–९ की स्थानीय सबैला खातुनले पनि जग्गा खरिद गर्दा चार लाख ७० हजार रुपियाँ अपुग रकम विनोद स्वर्णकारबाट लिएकोमा जग्गा र १० लाखको कपाली तमसुक बनाएको, हाल आएर जग्गा बेमाइमानी गरेको र आफ्नो घरसमेत रहेको जग्गामा झुक्याएर घरभाडा लेखाएको र मार्ने, घर भत्काइदिने भनेर दिनहुँ धम्की दिइरहेको गुनासो गर्नुभयो । बर्जु–५ की मौजादेवी रामले बर्जु गाउँपालिका–५ का मनमोहन यादव राहुलसँग बिरामी छोराको उपचारका लागि छ कट्ठा जग्गा धितो पास गरेर लिएको १० लाख रुपियाँको सावाँब्याजसहित ३० लाख ५० हजार रुपियाँ फिर्ता गर्दा जग्गा फिर्ता नदिएको गुनासो गर्नुभयो ।