बबई समाचारदाता
बबई (बर्दिया), जेठ १५ गते । विगतका वर्षभन्दा यस वर्ष छिटो मनसुन भित्रिने भएपछि बर्दिया जिल्लाका कृषक खेत जोत्न व्यस्त छन् तर कृषकले खेतबारीमा प्रयोग गर्ने युरिया र डिएपी मलको भने अभाव छ । सबै जसो खेतीपातीको समयमा मलको अभाव खेप्दै आएका बर्दियाका कृषकलाई यस वर्ष मौसमले साथ दिए पनि युरिया र डिएपी मलको अभाव भने कायमै रहने भएको छ ।
बर्दिया जिल्लामा करिब ५० हजार २५० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । जिल्लाका कृषकले प्रत्येक वर्ष धान लगाउने समयमा मलको अभाव खेप्ने गर्छन् । समयमा मल नपाउँदा उत्पादन घट्दै जाने गरेको कृषकको भनाइ छ । विशेष गरी बर्दिया जिल्लाको राजापुर क्षेत्रलाई धान पकेट क्षेत्रका रूपमा विकास गरिँदै आएको छ । तथापि कृषि सामग्री कम्पनी लिमिटेड र स्थानीय सरकारमा दर्ता रहेका सहकारीसमेत युरिया दिन नसक्ने अवस्थामा छन् ।
“धान लगाउने समय आइसक्यो खेतबारीमा यतिबेला खेत जोत्न व्यस्त छौँ तर खेतमा प्रयोग हुने मल नभएका कारण हामीलाई समस्या छ,” गुलरिया नगरपालिका–७ का प्रवेश यादवले भन्नुभयो, “प्रत्येक वर्ष हुने मल अभावले कृषक समस्यामा छन् तर कृषकको सुनुवाइ कतैबाट हुँदैन ।”
गुलरिया नगरपालिका–५, बालापुरकी छोटकी थरुनीले सहकारीले गाउँ गाउँमा बिक्री गर्ने मल एक बोरामा चार जनासम्मलाई भाग लगाएर दिने गरेको र त्यो मलले कुनै काम नगर्ने बताउनुभयो । गुलरिया नगरपालिका–४, सुहेलवाका कृषक कमल ज्ञवालीले खेतबारीमा पहिला जस्तो खेती नहुने बताउँदै समयमा मल पाउने हो भने उत्पादकत्वसमेत बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
बर्सेनि धान, गहुँ लगाउने समयमा कृषकको ध्यान खेतबारीमा काम गर्नेभन्दा पनि मलको जोहो गर्नमा नै बढी समय केन्द्रित हुने गरेको छ । बर्दिया जिल्लामा मात्र असारसम्ममा १० हजार मेट्रिक टन युरिया मलको आवश्यकता पर्छ । गत वर्षको तथ्याङ्क हेर्ने हो भने वर्षभरिमा छ हजार ३४४ मेट्रिक टन मात्र युरिया बर्दियामा भित्रिएको देखिन्छ ।
एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दिया प्रमुख सागर ढकालले प्रत्येक वर्ष मागका आधारमा मलको आपूर्ति हुन नसकेको बताउनुभयो ।