गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ १५ गते । धादिङको त्रिपुरासुन्दरी गाउँपलिकामा कृषि तथा पशुपन्छी सेवा केन्द्र सञ्चालनमा आएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सेवा केन्द्रको उद्घाटन गर्नुभएको कृषिमन्त्रीको सचिवालयले जनाएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (रिड) ले निर्माण गरेको उक्त भवनको हस्तान्तरण एवं उद्घाटन गर्दै उहाँले सेवा केन्द्रको सञ्चालन सँगै माटो, खेतीबाली तथा पशुपन्छीमा लाग्ने रोगको परीक्षणका लागि सहज र सुलभ सेवा किसानले प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । यस्ता सेवा केन्द्रको निर्माण र सञ्चालन हुनु कृषि कर्म गर्ने किसानका लागि महत्वपूर्ण उपलब्धि हुने बताउनुभयो ।
किसानलाई आफ्नै गाउँठाउँमा सहज तरिकाले सेवा प्रदान होस् भन्ने उद्देश्यले मन्त्रालयले काम गरिरहेको उहाँले बताउनुभयो । मन्त्री अधिकारीले मन्त्रालयले गरेका पछिल्ला निर्णय र प्रयासले कृषि क्षेत्रमा छिट्टै सकारात्मक परिवर्तन देखिने विश्वास व्यक्त गर्नुभयो ।
पछिल्लो समय रासायनिक मल खरिदलाई सरलीकृत गर्न खरिद नियमावलीमै केही संशोधनसमेत भएको चर्चा गर्दै मन्त्री अधिकारीले यसबाट मल खरिदमा लाग्ने समय केही छोटो जनाउनुभयो । समयमै मल किसानको बारीमा पु¥याउनका लागि आफूले प्रयास गरेको भए पनि किसानले मागे जति मल उपलब्ध हुन नसकेको उल्लेख गर्दै मन्त्री अधिकारीले रासायनिक मल कम गर्दै प्राङ्गारिक मलको प्रवर्धनका लागि मन्त्रालयले कार्य गरिरहेको बताउनुभयो । धादिङको सल्यानटार आसपासमा कृषि अनुसन्धान परिषद् (नार्क) को अनुसन्धान केन्द्र स्थापनाको गृहकार्य अन्तिम चरणमा पुगेको र यस कार्यका लागि पालिकालाई अग्रसरता लिन पनि मन्त्री अधिकारीले आग्रह गर्नुभयो ।
त्रिपुरासुन्दरी गाउँपलिकाका अध्यक्ष राजु उप्रेतीले सेवा केन्द्रमार्फत वरपरका पालिकालाई समेत सेवा प्रदान गर्न सकिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । माटोलगायतको परीक्षणका लागि काठमाडौँसम्म जानुपर्ने बाध्यताको अन्त्य हुने र यसबाट कृषि उब्जनीमा वृद्धि हुने अपेक्षा पनि उहाँले व्यक्त गर्नुभयो । रिडका परियोजना निर्देशक डा. चन्द्रप्रसाद रिसालले सेवा केन्द्रको सञ्चालनमार्फत किसानले आफ्नै पालिकामा एकै छानामुनि विशिष्टीकृत सेवा प्राप्त गर्न सक्ने बताउनुभयो । कार्यक्रममा जिल्लाका विभिन्न पालिकाका पदाधिकारीले कृषिको उत्पादन र बजारीकरणमा मन्त्रालयको सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।
कुल दुई करोड ४३ लाख रुपियाँ लागतमा निर्माण भई पालिकालाई हस्तान्तरण गरिएको सेवा केन्द्रमा कृषि तथा पशुपन्छीमा लाग्ने रोगका साथै माटो परीक्षणका लागि अत्याधुनिक प्रयोगशालासहितको सुविधा रहेको छ ।