गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ १५ गते । कृषिप्रधान मुलुक नेपाल मकैमा समेत आयातमै भर पर्नु परेको छ । स्थानीयस्तरमा उत्पादन गर्ने पर्याप्त सम्भावना भए पनि आन्तरिक उत्पादनले माग धान्न नसक्दा आयातमै भर पर्नु परेको हो ।
भन्सार विभागको तथ्याङ्क अनुसार मुलुकमा चालु आर्थिक वर्ष २०८१/८२ को १० महिना (साउन–वैशाख) सम्म १५ अर्ब ९३ करोड ४९ लाख रुपियाँ बराबरको दुई लाख ९९ हजार ९८९ मेट्रिक टन मकै आयात भएको छ ।
गत वर्ष सो अवधिमा १२ अर्ब ५६ करोड पाँच लाख १५ हजार रुपियाँ बराबरको दुई लाख ७८ हजार ४७५ मेट्रिक टन मकै आयात भएको थियो । स्थानीय उत्पादनले बजार माग धान्न नसक्दा ठुलो परिमाणमा मकै आयात भएको हो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नौ लाख ४० हजार हेक्टर क्षेत्रफलमा २९ लाख ७६ हजार मेट्रिक टन मकै उत्पादन हुने गरेको छ । मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत रामकृष्ण रेग्मीले कुखुराको दानाका लागि मकैको खपत बढी हुने हुँदा बाहिरी मुलुकबाट आयात हुने गरेको उहाँको भनाइ छ । कुखुराको दानाका लगि उच्च गुणस्तरको मकै आवश्यक पर्ने भएकाले पनि व्यवसायीले ठुलो परिमाणमा आयात गर्ने गरेको बताइएको छ ।
दाना उद्योग सङ्घका अनुसार एक क्विन्टल दाना बनाउनका लागि ५० देखि ५५ किलो मकै आवश्यक पर्ने भएकाले माग बढ्दो छ । सङ्घका अध्यक्ष रविन पुरीले अन्डा र कुखुरामा आत्मनिर्भर भए पनि कुखुराका लागि आवश्यक पर्ने दाना भने आयात गर्नुपर्ने बाध्यता रहेको जानकारी दिनुभयो । स्थानीय उत्पादनमा मकैको उत्पादन बढाउन सके आयात गर्नुपर्ने अवस्था हट्ने उहाँको भनाइ छ ।
छिमेकी मुलुक भारत, चीन, अर्जेन्टिना, थाइल्यान्ड, ब्राजिल, दक्षिण अफ्रिका र ट्रर्कीबाट मकै आयात हुने गर्छ । पछिल्लो समय मकै पोल्टीफार्ममा कुखुराका लागि दानाको प्रयोग हुनुका साथै च्याख्लाको समेत खपत धेरै हुने गरेको छ । नेपाल कृषि अनुसन्धान परिषद्ले मकैको उन्नत जात अनुसन्धान गरी सिफारिस गर्दै आएको छ ।