• १६ जेठ २०८२, शुक्रबार

किन बन्द हुन्छ हेटौंडा सिमेन्टको उत्पादन

blog

हेटौडामा रहेको सिमेन्ट उद्योग ।

स्मिता अर्जेल

मकवानपुरगढी, जेठ १४ गते । कहिले प्राविधिक समस्या त कहिले आर्थिक समस्या । यिनै रुकावटका कारण देखाउँदै हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द हुने गरेको छ ।

पूर्ण सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योग आर्थिक सम्भावनाका दृष्टिकोणल उच्च स्थानमा छ । उद्योग करिब चार दशकअघि सञ्चालनमा आएको थियो । यसको उत्पादन बढाउन सक्ने हो भने यसले अर्थतन्त्रमा सुधार मात्र नभई कैयौंलाई रोजगारीको अवसर सिर्जना गर्ने धेरैको बुझाइ छ ।   

यद्यपि, हेटौंडा सिमेन्ट उद्योग फष्टाउनुको सट्टा चुहावटले थला परेको छ । उद्योग व्यवस्थापन समिति नियमित उत्पादनमा लागे पनि व्यवस्थानपको पाटो चुहिदै गएको कर्मचारीको भनाइ छ । त्यसो त सांसद भवनसम्म पनि उद्योग सञ्चालनको कुरा उठ्ने गरेको छ । 

संघीय सरकारको स्वामित्वमा रहेको उद्योग व्यवस्थापनका लागि सरकारमा पुगेका विभिन्न राजनीतिक दलहरुले चासो व्यक्त गरेको देखिन्छ । पुराना मेसिनरी समान र वित्तीय समस्याका कारण समाधान हुन नसकेको बुझिन्छ ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले संघीय सरकारले नीजिकरण गर्न लागेको हेटौँडा सिमेन्ट उद्योगलाई प्रदेश सरकारको जिम्मामा दिए दुई वर्षभित्र मुनाफामा पुगाउने दावी गर्नुभएको छ । 

उहाँले प्रदेशको राजधानी हेटौंडामा केही साताअघि सम्पन्न प्रदेश युवा सम्मेलनमा ‘युवासँग मुख्यमन्त्री’ कार्यक्रममा सयौं युवाका सवाललाई सम्बोधन गर्दै सो कुरा बताउनुभयो ।  

कार्यक्रममा सहभागी एक युवाले मुख्यमन्त्री लामासँग प्रश्न गर्दै भन्नुभयो, ‘हेटौंडा सिमेन्ट उद्योग बन्द छ । तपाईं कसरी रोजगारीको सिर्जना गर्न सक्नुहुन्छ ?’ जवाफमा मुख्यमन्त्री लामाले संघीय सरकारले अझसम्म औद्योगिक क्षेत्रको अधिकार प्रदेश सरकारलाई नदिएको बताउनुभयो । 

यता उद्योगका निमित्त महाप्रबन्धक नवीन कर्णले करिब दुई साताअघिदेखि बन्द भएको सिमेन्ट उत्पादन पुनः सुचारु हुन अझै एक साता लाग्ने बताउनुभयो । गत वैशाख २० देखि हेटौंडा सिमेन्टको उत्पादन बन्द भएको छ । उद्योगमा सिमेन्ट उत्पादन गर्ने उपकरण बिग्रिएको र त्यसको मर्मत कार्य सम्पन्न भएलगतै सिमेन्ट उत्पादन नियमित रुपमा सुचारु हुने उहाँ बताउनुहुन्छ । 

हाल उद्योगबाट दैनिक १२ हजार बोरा सिमेन्ट उत्पादन हुने गरेको उहाँ बताउनुहुन्छ  । हेटौंडा सिमेन्ट उद्योग आर्थिक वर्ष २०७५÷७६ देखि निरन्तर घाटामा चल्दैआएको सरकारी तथ्यांकले देखाएको छ । 

यसको वार्षिक उत्पादन क्षमता ७ सय २२ टन बराबर छ । तर उद्योगले क्षमता भन्दा कम उत्पादन गर्ने हुँदा उद्योग सञ्चालन खर्च धान्न धौधौ भएको देखिन्छ । ‘आगामी आर्थिक वर्षमा सोचेअनुरुपको उत्पादन गर्न सकियो भने उद्योगको घाटा घटाउन सकिने उहाँको भनाइ छ । 

आउँदो वर्षमा कम्तीमा २५ लाख बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य उद्योगको छ । यद्यपि अहिले उद्योगमा ५६ हजार बोरा सिमेन्ट मौज्जाद छ । अहिले प्याकेजिङ्ग र क्रसिङको मात्र काम भइरहेको छ’ कर्णले भन्नुभयो ।     

उद्योग एक अर्ब बढीको घाटामा छ । उत्पादन ठप्प र आर्थिक भार उच्च हुँदा उद्योगको अवस्था खस्किदै गएको कर्मचारीको भनाइ छ । उद्योगमा हाल ३ सय ९ जना कर्मचारी कार्यरत छन् । सिमेन्ट उत्पादनका लागि कच्चा पदार्थको अभाव तथा निरन्तर मूल्यवृद्धि, कम मूल्यमा सिमेन्ट बिक्री गर्नुपर्ने बाध्यताले गर्दा उद्योगको अवस्था कमजोर बनेको व्यवस्थापन समितिका पदाधिकारीको बुझाइ छ । 

उद्योग वि.सं. २०३३ सालमा स्थापना भएको थियो । वि.संं. २०४३ सालदेखि उद्योगले निरन्तर उत्पादन गर्दैआएको छ ।