फिदिम,जेठ १४ गते। गोरखापत्र दैनिककी फिदिम समाचारदाता राधा लुइटेल पुरस्कृत हुनुभएको छ। नेपाल पत्रकार महासंघ पाँचथर शाखा उपाध्यक्ष समेत रहनुभएकी उहाँ नेपाल प्रेस युनियन पाँचथरले वितरण हुँदै आएको स्वर्गीय देवमान केरुङ स्मृति पत्रकारिता पुरस्कारबाट नगद १० हजार सहित सम्मानित हुनु भएको हो।
लुइटेललाई नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको सन्दर्भमा आयोजित एक कार्यक्रममा नगद पुरस्कार, कदर पत्र र दोसल्लासहित सम्मान गरिएको हो।
लुइटेललाई कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका सह महामन्त्री भिष्मराज आङदेम्वे, कोशी प्रदेश सभा सदस्य मैया श्रेष्ठ लावती र पुरस्कार संस्थापक नरेन्द्रकुमार केरुङ र सुरेन्द्र कुमार केरुङ लगायतले पुरस्कार र कदर पत्र अर्पण गर्नुभएको थियो।
यस्तै इमेज टेलिभिजनका संवाददाता जितेन्द्र भण्डारीलाई स्वर्गीय लोकमन स्मृति पत्रकारिता पुरस्कार अर्पण गरिएको छ। उहाँलाई पुरस्कार संस्थापक परिवारका सदस्य सिर्जना बास्कोटा सहित प्रमुख अतिथि आङदेम्बे र कांग्रेसका जिल्ला सभापति रुपनारायण जवेगूले पुरस्कार र सम्मान अर्पण गर्नुभएको थियो।
दुवै सम्मान र पुरस्कार प्रत्येक वर्ष नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसर पारेर वितरण गरिँदै आएको छ।
यसैबिच प्रेस युनियन पाँचथरले जिल्लामा कार्यरत एकसय जना पत्रकार र सञ्चारकर्मीको सामूहिक दुर्घटना बिमा गरेको छ।