काठमाडौँ, जेठ १४ गते । नेपाल र चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव तथा अन्तर्राष्ट्रिय सगरमाथा दिवस–२०८२ को सम्मानमा नेपाल र चीनको सगरमाथा आरोहीबिच मैत्रीपूर्ण खेल सम्पन्न भएको छ ।
अल्पाइन स्पोर्ट्स फेडेरेसन नेपालको आयोजना तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को प्राविधिक सहयोगमा बुधबार ललितपुरको एन्फा कम्प्लेक्स मैदानमा सगरमाथा फ्रेन्डसिप टिम (नेपाल) र माउन्ट चोमोलोङ्मा फुटबल टिम (चीन) बिच प्रतिस्पर्धा भएको थियो । जसमा नेपालको सगरमाथा फ्रेन्डसिप टिम ४–१ गोलले विजयी भयो ।
मैत्रीपूर्ण फुटबलको नेपालका लागि चिनियाँ राजदुत चेन सोङ, राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङ, अल्पाईन स्पोर्ट्स फेडेरेसनका उपाध्यक्ष रोमनाथ ज्ञावली लगायतको सहभागिता रहेको थियो ।
यस्तै सगरमाथा आरोहणको ७२ वर्षको इतिहासमा मङ्गलबार एभरेष्ट एलायन्स नेपालले काठमाडौँमा एरभेष्ट समिटिएर्स समिट–२०२५ कार्यक्रम आयोजना गरिएको थियो ।
एभरेष्ट समिटियर्स समिटमा नेपाल र चीनसहित २० भन्दा बढी देशका तीन सय सगरमाथा आरोहीलाई सम्मान गरिएको थियो । पहिलो पटक आयोजना गरिएको समिट अर्को वर्षपनि भब्य रुपमा गरिने एभरेष्ट एलायन्सका अध्यक्ष सुदर्शन नेपालले जानकारी दिनुभयो ।