चितवन समाचारदाता
चितवन, जेठ १४ गते । नारायणी नदी नियन्त्रणका लागि बाँकी रहेका स्थानमा थप तटबन्धको काम सुरु भएको छ । चार वर्ष अगाडिदेखि सुरु भएको पहिलो चरणको तटबन्धको काम सकिनै लाग्दा बाँकी रहेका स्थानमा निर्माणका लागि अर्को ठेक्का सुरु भएको हो ।
नारायणी नदी व्यवस्थापन आयोजना भरतपुरका प्रमुख चक्रविक्रम सिंहले पहिलो चरणमा गरिएको तटबन्धको बिच भागमा छुटेका विभिन्न स्थानमा प्राथमिकताका आधारमा अर्को ठेक्का सुरु भएको जानकारी दिनुभयो । पश्चिम चितवनको सेतीदेवी सामुदायिक वन क्षेत्र, गैँडाकोटको वडा नम्बर २ र ५, मकवानपुरको मनहरी गाउँपालिकाको ६, ८ र ९ नम्बर वडा गरी तीन स्थानमा तटबन्धको काम सुरु भएको हो ।
तिनै स्थानमा निर्माण कार्य अगाडि बढेको नारायणी नदी व्यवस्थापन आयोजना, भरतपुरका सूचना अधिकारी प्रकाश लम्सालले जानकारी दिनुभयो । तीन वटै प्याकेजका लागि ३० करोड रुपियाँको स्रोत सुनिश्चित भएको छ । चितवनको सेतीदेवी सामुदायिक वन क्षेत्रमा निर्माण सामग्री ल्याएर काम अगाडि बढाइएको छ । अन्य क्षेत्रमा सामग्री ल्याउने र निर्माणको तयारी भएको सूचना अधिकारी लम्सालले बताउनुभयो ।
नारायणी नदीको मुख्य स्थानमा तटबन्धको काम भएको छ । बाँकी रहेका केही स्थानमा अझै तटबन्ध गर्नुपर्ने देखिएको छ । बजेट अभावमा नयाँ ठेक्का लाग्न नसकेको कार्यालय प्रमुख सिंहले जानकारी दिनुभयो । नारायणगढ बजारबाट दक्षिणतर्फ अहिले भइराखेको पुलदेखि करिब दुई किलोमिटर दक्षिणमा पनि निर्माण गर्नुपर्ने जरुरी देखिएको छ । त्यस स्थानमा गत बर्सातमा नारायणीको एउटा भँगालोले जोखिम बढाएको थियो । तारजाली राखेर सामान्य रोकथामको काम भएको कार्यालयले जानकारी दिएको छ । यस वर्ष नयाँ ठेक्का प्रव्रिmयाबाट नदी नियन्त्रण गर्ने काम अगाडि बढाउने योजना रहेको कार्यालय प्रमुख सिंहले बताउनुभयो ।
भरतपुर महानगरपालिका–३ का वडाध्यक्ष विकास थापाले नदीको धेरै तल तटबन्ध बनेकाले पानी पस्ने स्थानमा तटबन्ध नहुँदा बस्ती जोखिममा परेको जनाउनुभयो । “गत वर्ष नदीले नगरवन जाने झोलुङ्गे पुल बगायो, वडा कार्यालय भएको स्थानमा कटान गरेको छ । यस वर्ष केही रोकथामका उपाय नगरे कुनै पनि समयमा नदी पस्ने सम्भावना रहेको छ,” थापाले बताउनुभयो ।
नारायणी नदी व्यवस्थापन आयोजना, भरतपुरले नारायणी नदीसँगै राप्ती र त्रिशूली नदीले कटान गरेको क्षेत्रलाई समेत हेर्दै आएको छ । देवघाटधामको त्रिवेणी क्षेत्रमा रहेको वृद्धाश्रम भएको स्थान र संस्कृत अध्यापन हुने आश्रममा पहिरो गएर जोखिम बढेको छ । त्यस स्थानमा पहिरो रोक्नका लागि पर्खाल लगाउने काम भइराखेको छ । कार्यालयसँग छुट्टै बजेट नभए पनि निर्माण कम्पनीलाई अनुरोध गरेर केही रोकथामका काम गर्न लगाएको कार्यालयले जानकारी दिएको छ । त्यसै गरी पूर्वी चितवनको लोथर खोलाले गर्ने कटान रोक्ने गरी सानो तटबन्ध गर्ने कामलाई पनि अगाडि बढाएको कार्यालयले जानकारी दिएको छ ।
निर्माण सकिँदा पनि भुक्तानी छैन
चितवन र नवलपरासीको नदी किनारमा लगाइएको विभिन्न प्याकेजका ठेक्काको काम सकिएको छ । चितवनतर्फ पाँच वटा खण्डमा निर्माण गरिएको तटबन्धमध्ये तीन वटा सम्पन्न भइसकेको नारायणी नदी व्यवस्थापन आयोजना भरतपुरका सूचना अधिकारी इन्जिनियर प्रकाश लम्सालले जानकारी दिनुभयो । दुई वटाको काम अन्तिम चरणमा रहेको छ । पाँच वटा ठेक्कामध्ये सिसुवार बालुवा खण्ड र शिवघाट रामघाट खण्डको तटबन्ध मात्र बाँकी रहेको छ । दुवै ठेक्काको काम अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । साढे पाँच किलोमिटर लम्बाइको सो तटबन्धका लागि ३७ करोड रुपियाँको ठेक्का सम्झौता भएको छ । रामघाटदेखि काभ्रेघाटसम्म पाँच किलोमिटर क्षेत्रका लागि एक अर्ब १५ करोड रुपियाँमा ठेक्का सम्झौता भएको छ ।
चितवनतर्फको बालुवादेखि गोलाघाट नारायणी र राप्ती नदीको सङ्गम क्षेत्रमा साढे दुई किलोमिटर तटबन्ध निर्माण कार्य सकिएको छ । यसका लागि २६ करोड रुपियाँमा ठेक्का सम्झौता भएको थियो । गाजीपुरदेखि हिरापुरसम्म पाँच किलोमिटर लम्बाइको तटबन्धका लागि ४८ करोड रुपियाँमा ठेक्का सम्झौता भएको थियो । यो खण्डको पनि निर्माण सकिएको छ । नारायणी नदी पुलबाट उत्तरतर्फको ‘सी–बिच’ मोडलको ६४० मिटर लम्बाइको तटबन्ध निर्माण दुई वर्षअगाडि नै सकिएको छ । सम्पन्न भएका तटबन्धको भुक्तानी नभएको कार्यालयले जानकारी दिएको छ । एउटै निर्माण कम्पनीलाई ६० करोड रुपियाँभन्दा बढी रकम भुक्तानी दिनुपर्ने भएको कार्यालयका सूचना अधिकारी लम्सालले जानकारी दिनुभयो ।