• २० जेठ २०८२, मङ्गलबार

ढुङ्गा लागेर एकको मृत्यु एक घाइते

blog

कृष्णबहादुर धामी

दार्चुला, जेठ १४ गते । दार्चुलामा माथिबाट खसेको ढुङ्गा लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी छत्र रावतका अनुसार आज बिहान ७ बजेतिर नौगाड गाउँपालिका–६ धुलिगडाबाट बझाङतर्फ गइरहेका ठेगाना खुल्न बाँकी ७० वर्षीय कालु जोशीको ढुङ्गा लागेर घटनास्थलमै मृत्यु भएको हो । 

   बाटोमा जाँदै गरेको अवस्थामा स्थानीय रतपडे भन्ने ठाउँ माथिबाट खसेको ढुङ्गा लागेर जोशीको घटनास्थलमै मृत्यु भएको उहाँले जानकारी दिनुभयो । उनीसँगै रहेका नौगाड गाउँपालिका–६ धुलिगडाका ४५ वर्षीय प्रताप धामी घाइते हुनुभएको छ । घाइते धामीको उद्धार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल पठाइएको उहाँले बताउनुभयो । घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षकको कमान्डमा प्रहरीको टोली त्यस क्षेत्रतर्फ गएको बताइएको छ । गोकुलेश्वरबाट घटना स्थल पुग्न २।३ घण्टा लाग्ने बताइएको छ । 

   यसैबिच गए राती भएको अविरल वर्षाका कारण खलङ्गा दल्लेक सडक खण्ड अन्तर्गत मालबेलामा पहिरो खसेर सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा खलङ्गाबाट नौगाड गाउँपालिकाका विभिन्न स्थानमा जाने सवारीका साधनहरू चल्न सकेका छैनन् । अवरुद्ध सडक खुलाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ ।