• १५ जेठ २०८२, बिहिबार

लोप हुँदै मसक बाजा

blog

गोकर्ण दयाल 

बैतडी, जेठ १४ गते  ।  केही दशकअघिसम्म विवाह, व्रतबन्ध र  शुभकार्यमा गुञ्जने मसक बाजा पछिल्लो समयमा लोप हुने अवस्थामा पुगेको छ । आकर्षक कपडाले बेरिएको छाला र रबरको थैलामा हावा भरेर बाँसुरी जस्तै पिपिर जडान गरी बजाइने मसक बाजाका सिपालु मानिस भेटिन पनि मुस्किल हुन थालेको छ । सुदूरपश्चिम र भारतको उत्तराखण्डमा यो बाजा प्रचलित छ । कुनै समय सुदूरपश्चिमका वैवाहिक समारोहमा अनिवार्य जस्तै हुने यो बाजा पछिल्लो समय विदेशी ब्यान्डबाजाको प्रयोगले सङ्कटमा परेको छ । मसक बाजा बजाउने नयाँ पुस्ताले पनि यो पेसा छोड्दै गएकाले यसको संरक्षणमा चुनौती थपिएको बैतडीका मसकबाधक ६५ वर्षीय कुर्रु दमाईंले बताउनुभयो । 

दशरथचन्द नगरपालिका–४ मा सिलाइको काम गर्दै आउनुभएका कुर्रु दमाईं विगत ४० वर्षदेखि यो बाजा बजाउने बैतडी सदरमुकामका एक्ला बाधक हुनुहुन्छ । केही वर्षअघिसम्म विवाहमा मसक बाजाको माग हुने गरेकोमा पछिल्लो समय माग घट्दै गएको उहाँले दुःखेसो व्यक्त गर्नुभयो । जन्ती/विवाहमा मसक बजाएको पाँच हजार रुपियाँ पारिश्रमिक लिने गरेको बताउने उहाँ भन्नुहुन्छ, “पछिल्लो समय विदेशी ब्यान्डबाजा भित्रिएपछि बाजाको माग घट्दो छ ।  सिलाइको काम गरेर जीविका चलाउनुपर्ने बाध्यता छ ।” 

मसक बाजाको धुनमा परम्परागत भाका, देवीदेउताका गाथा र सुख, दुःख र विरहका भाका बजाइने दमाईं भन्नुहुन्छ, “बाजाको धुन सुन्न मानिसको भिड लाग्ने गर्दथ्यो ।” अहिलेका विवाहमा मसक बाजा गुञ्जिन छाडेको दशरथचन्द नगरपालिका–६ का गोविन्दराज जोशीले बताउनुभयो । छलिया बाजामा मसक बजाउँदाको रौनक बेग्लै हुने उहाँले स्मरण गर्नुभयो । विवाह र शुभकार्यमा विदेशी बाजाको प्रयोग बढ्न थालेपछि मौलिक भाकासमेत लोप हुने अवस्थामा पुगेको मेलौली बैतडीका देउडा कलाकार मनोहर परियार बताउनुहुन्छ । उहाँले आजभोलिका विवाहमा छलिया, हुड्को र मसक बाजाको प्रयोग घट्दै गएको बताउनुभयो । एउटा बाजा लोप हुनेबित्तिकै त्योसँग जोडिएका मौलिक भाका पनि सङ्कटमा पर्दै जाने उहाँको भनाइ छ । देउडा गीतका स्थानीय मौलिक भाका हिरा होटलैमा ..., झा वसन्ती घाँस काटिल्या...जस्ता मौलिक धुन हराइसकेको परियारले बताउनुभयो । 

 लामो स्वास तानेर हावाको थैलो भर्दै बजाउने सिप भएका मानिस मात्रै बाजा बजाउन सक्ने मनोहर परियारले बताउनुभयो । यो बाजाको धुन घण्टौँसम्म निरन्तर बजिरहने खालको हुने भएकाले सबै मानिसले बजाउन नसक्ने अगुवा कलाकारको भनाइ छ । सुदूरपश्चिमका मौलिक बाजा हुड्को र मसक बाजाको संरक्षणका लागि स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने सरोकारवालाको भनाइ छ । स्थानीय भाषाको पाठ्यपुस्तकमा मौलिक बाजाको विशेषता समेटिनुपर्ने शिक्षा क्षेत्रका अगुवा गलिनाथ मावि, पुर्चौडीका प्रधानाध्यापक दिनेश नागारीले बताउनुभयो । उहाँले मौलिक गीत, सङ्गीत र संस्कृतिको जगेर्ना गर्न स्थानीयस्तरमै सङ्ग्रहालय र कला केन्द्र स्थापना हुनुपर्नेमा जोड दिनुभयो ।