भौगोलिक क्षेत्र र बनोटका आधारमा भन्ज्याङको संरचना फरक फरक हुन्छन् । कतिपय भन्ज्याङ फराकिला हुन्छन् भने कतिपय साँघुरा । उच्च हिमाली भन्ज्याङ, महाभारत पर्वत शृङ्खलामा पर्ने भन्ज्याङ तथा चुरेका होचा भन्ज्याङको आफ्नै किसिमका संरचनागत विशेषता छन् ।
पहाडी जनजीवनको परिचायक हो भन्ज्याङ । नेपाल जस्तो भूपरिवेष्टित मुलुकमा भन्ज्याङ बहुश्रुत तथा बहुउच्चारित शब्द मानिन्छ । पहाड–पर्वत, डाँडाकाँडा र थुम्काथुम्कीले भरिएको हाम्रो मुलुकमा भन्ज्याङ भौगोलिक वास्तविकता हो ।
भन्ज्याङलाई कसरी चिन्ने ?, के हो त भन्ज्याङ ? पहाडको बीचमा बनेको आवतजावत गर्न मिल्ने होचो स्थान नै सामान्य अर्थमा भन्ज्याङ हो । भन्ज्याङको चर्चा गर्दा देउराली र नेटो पनि सँगसँगै आइपुग्छन् । यी तीन शब्दबीच एकआपसमा सगोत्री नाता देखिन्छ ।
बृहत् नेपाली शब्दकोश (२०७५) ले भन्ज्याङ, देउराली र नेटोलाई क्रमशः यसरी परिभाषित गरेको छ, भन्ज्याङ : १. पहाडको दुई चुलीमाझको घाँटी वा होचो ठाउँ । २. डाँडो पार हुने ठाउँ वा नेटो (पृ.९४१) । देउराली :
१. पहाडको उकालो सिद्धिने ठाउँ, भन्ज्याङ परेको ठाउँमा बटुवाले देवदेवीलाई एक एक ढुङ्गा चढाउँदै जाँदा देवल जस्तो भएको थुप्रो । २. थुम्की वा भन्ज्याङ परेको ठाउँ (पृ.६२४) । नेटो : १. आँखाले भ्याइन्जेलसम्मको टाढाको ठाउँ २. डाँडाको सिरान, भन्ज्याङ (पृ.७०५) ।
रामचन्द्र ढुङ्गानाद्वारा सम्पादित सङ्क्षिप्त नेपाली कोश (२०५२, चौथो संस्करण) ले भन्ज्याङलाई धेरथोर पूर्ववर्ती शब्दकोशले झैँ परिभाषित गरेको छ । जुन यस प्रकार छ, पहाडको शिखरमा घाँटी परेको ठाउँ, गल्छेडो वा देउराली (पृ. ४६३) । त्यस शब्दकोशमा देउराली र नेटोको परिभाषा भने समाविष्ट छैन ।
भौगोलिक क्षेत्र र बनोटका आधारमा भन्ज्याङको संरचना फरक फरक हुन्छन् । कतिपय भन्ज्याङ फराकिला हुन्छन् भने कतिपय साँघुरा । उच्च हिमाली भन्ज्याङ, महाभारत पर्वत शृङ्खलामा पर्ने भन्ज्याङ तथा चुरेका होचा भन्ज्याङको आफ्नै किसिमका संरचनागत विशेषता छन् । उच्च हिमाली क्षेत्रका निर्जन भन्ज्याङ र चुरेका जनघनत्वपूर्ण भन्ज्याङका आआफ्नै विशेषता छन् । भूगोलको आधारमा तय हुने भन्ज्याङको जलवायुले स्थानीय सांस्कृतिक वातावरणमा पार्ने प्रभाव बेग्लै विश्लेषणको हुन सक्छ ।
भन्ज्याङको सामाजिक तस्बिर
पुरानो आँखीझ्यालबाट चियाउँदा भन्ज्याङको तस्बिर चित्रमय देखिन्छ । भन्ज्याङलाई नियाल्दा त्यहाँ नेपाली जनजीवनको सानो संसार दृष्टिगोचर हुन्छ ।
भन्ज्याङमा पाटीपौवा हुन्थे । जहाँ बटुवाले थकित काय बिसाएर सुस्ताउने वा रात पनि बिताउने गर्थे । औँसीपुर्ने तथा अन्य फुर्सदिला समयमा ग्रामीणजनले नुनतेल खरिद गर्ने र सुस्ताउने केन्द्र पनि भन्ज्याङ नै हो ।
हामीकहाँ चौतारी संस्कृति बलियो भएकाले भन्ज्याङमा चौतारी भेटिन्थे । धर्मात्माहरूले जनहितका लागि चौतारी बनाइदिएका हुन्थे । जहाँ भरिया तथा बटुवाले भारी बिसाएर थकाइ मार्थे । भन्ज्याङमा पानीको धारा वा कुवा पनि हुन्थे । धारा वा कुवाको पानी पेटभरि खाएर बटुवाले तिर्खा मेटाउँथे । यसका अतिरिक्त चैत–वैशाखतिर तिर्खाएका बटुवाका लागि भन्ज्याङको चौतारी जलघडा पनि राखिएका हुन्थे । परिवेश अनुसार भन्ज्याङमा विद्यालय तथा स्वास्थ्य चौकी हुन्छन् । विगतमा कतिपय भन्ज्याङमा हुलाकघर पनि हुन्थे । जहाँ मुगलानीले मुटु नै टाँसेर पठाएका चिठीपत्र सङ्कलन र वितरण गरिन्थे । भन्ज्याङमा पोखरी पनि हुन्थे । जहाँ गाईवस्तुले पानी खाने तथा भैँसी आहाल खेल्थे ।
हामीले सुन्दै आएको कुरा हो, तपोभूमि मानिएको हाम्रो भूगोल ३३ कोटी देवदेवीको निवास हो । यहाँका हरेक थुम्को, देउराली अनि भन्ज्याङ देवदेवीका आश्रयस्थल मानिन्छन् । यति हुँदाहुँदै पनि देवीदेउतासँग नाता जोडिएका भन्ज्याङको नाम भने विरलै भेटिएका छन् । यस्ता नाम यदाकदा मात्र भेटिन्छन् । जस्तैः भगीरथी भन्ज्याङ (लमजुङ), देवी भन्ज्याङ (चितवन) आदि ।
कतिपयले देउराली वा भन्ज्याङलाई पवित्र थलो मानेर बटुवा तथा भक्तजनले पाती तथा धजा चढाउने चलन पुरानै हो । यसै सन्दर्भमा डा. हर्क गुरुङले भन्ज्याङका देवीदेउताले यात्रुलाई सुरक्षा प्रदान गर्ने जनविश्वास भएकाले कतिपयले लामो यात्रामा निस्कनुअघि भन्ज्याङका देवीदेउताको पूजाअर्चना गर्छन् भनी नेपाल : सोसल डेमोग्राफी एन्ड एक्सप्रेसन्स् (सन् २००१, दोस्रो संस्करण) मा लेखेका छन् (गुरुङ, सन् २००१, पृष्ठ ९२) ।
आवागमन
विगतमा मोटर गुड्ने बाटो नबन्दासम्म बहुसङ्ख्यक मानिस आवतजावत र व्यापारिक कारोबार गर्ने स्थल भन्ज्याङ हुने गर्थे । पहिले पहिले चार भन्ज्याङ छिचोलेर नेपाल खाल्टो पैदलै भित्रिएको रोचक संस्मरण अग्रज पुस्ताबाट अझै पनि सुन्न सकिन्छ । नेपालको भोटसँगको व्यापार पनि हिमाली भन्ज्याङ भएरै हुने गरेको तथ्य घामजत्तिकै छर्लङ्ग छ ।
मुगलान हिँडेका र फर्किएकाहरू भन्ज्याङ भएर आआफ्ना गन्तव्यतिर लाग्थे । लेकबेँसी धाउने कर्मजीवी तथा वनपात–मेलापात गर्ने ग्रामीणजन भन्ज्याङ भएरै आउजाउ गर्थे । मोटर चढ्ने संस्कृति आमरूपमा भित्रिनुअघि बटुवा, ढाक्रे, भरिया तथा हुलाकी भन्ज्याङ आवतजावत गर्थे । विगतमा भन्ज्याङ एउटा गजबको ‘ट्रान्जिट प्वाइन्ट’ थियो ।
अहिले कतिपय मोटरबाटो पुरानो भन्ज्याङ भएर गएका छन् । जस्तैः त्रिभुवन राजपथको सिमभन्ज्याङ, सिद्धार्थ राजमार्गको आर्यभन्ज्याङ (आरेक भन्ज्याङ), कोदारी राजमार्गको साँगा भन्ज्याङ, पृथ्वीराजमार्गको थानकोट भन्ज्याङ, छिर्कने भन्ज्याङ आदि । नेपालको मध्यपहाडी राजमार्ग (पुष्पलाल राजमार्ग) पूर्वको चिवा भन्ज्याङबाट सुरु भएर विभिन्न पहाडी भन्ज्याङलाई छिचोल्दै बैतडीको झुलाघाटमा पुगेर अन्त्य हुन्छ ।
विगतमा ग्रामीण भन्ज्याङहरू गुल्जार थिए । समयले भाका फेरिसकेको छ । देशको भूगोलभरि माकुराको जालोझैँ मोटरबाटो बनेपछि धेरैजसो भन्ज्याङ एक्लिएका छन् । यद्यपि अहिलेका राजमार्ग कतिपय पुराना भन्ज्याङ हुँदै अघि बढेका छन् तर पनि हिजोको भन्ज्याङको रौनक र भरभराउँदो बैँसालुपन हराइसकेको छ । समयक्रममा भन्ज्याङहरू झन् झन् बिरानो र कान्तिविहीन बन्न पुगेका छन् । अहिलेका अधिकांश भन्ज्याङ बचेरो हुर्केपछिको चराको गुँड जस्तै हुन पुगेको देखिन्छ ।
व्यापारकर्म
प्राचीनकालदेखि नै भन्ज्याङ महत्वपूर्ण व्यापारिक नाका थिए । इतिहास नियाल्दा लिच्छविकाल र मध्यकालमा देशका उत्तरी नाकाबाट तिब्बतमा व्यापार हुने गरेको दृष्टान्त भेटिन्छन् ।
मेरी सेफर्ड स्लसरद्वारा सन् १९८२ मा प्रकाशित नेपाल मण्डल : अ कल्चर स्टडी अफ काठमाण्डू भ्याली शीर्षक शोधपत्रमा इस्वीको सातौँ शताब्दीदेखि नेपाल र तिब्बतबीचको व्यापारिक सम्बन्ध कायम भएको चर्चा गरिएको छ । यसै गरी ऋषिकेश शाहले एन्सिएन्ट एन्ड मिडिभल नेपाल (सन् १९९२) मा प्राचीनकालमा नेपालमा उर्वर उपत्यकाबाट उत्पादित अनाजलाई तिब्बतको नुन, ऊन र घोडाहरूसँग विनिमय गरिन्थ्यो भनी लेखेका छन् ।
ड्यानियल राइटले हिस्ट्री अफ नेपाल (सन् १९७२) जयस्थिति मल्लले नेपाल–तिब्बतबीचको व्यापारसम्बन्धी नियमहरूलाई इस्वीको चौधौँ शताब्दीमा संहिताबद्ध तुल्याएको चर्चा गरेका छन् । राइटले त्यसबेला यी दुई देशबीच व्यापार संस्थागत हुनुका साथै व्यापारको आयातनमा पनि वृद्धि भएको समेत उल्लेख गरेका छन् । मल्लकालपछि राणाकाल हुँदै वर्तमान घडीसम्म आइपुग्दा पनि नेपाल र तिब्बत (चीन) बीच व्यापार कायमै छ । हालका दिनमा पनि रसुवागढी, कोरला जस्ता भन्ज्याङ हुँदै मालसामान ढुवानी भइरहेको छ ।
लिच्छविकाल तथा मल्लकालमा अहिलेको जस्तो हवाईसेवालगायत अन्य वैकल्पिक पारवहन प्रणाली उपलब्ध नभएकाले हिमाली भन्ज्याङ भएरै मालसामान ओसारपसार हुन्थे भन्ने तथ्य स्वयंसिद्ध छ । यस सन्दर्भमा डेविड सेडनले आफ्नो कृति नेपाल : अ स्टेट अफ पुभर्टी (सन् १९९८) मा हिमाली भन्ज्याङहरूले व्यापारिक पारवहनका लागि महत्वपूर्ण भूमिका खेलेको बयान गरेका छन् ।
मध्यकाल भोटसँगको व्यापारबाट काठमाडौँ उपत्यकाको वैभवमा योगदान पुगेको चर्चा पनि पढ्न पाइन्छ । उत्तरतिरका भन्ज्याङले मात्र होइन महाभारत पर्वत र चुरेका भन्ज्याङमा स्थापित व्यापारिक नाकाले स्थानीय अर्थतन्त्रलाई चलायमान तुल्याउन सहयोग गरेका थिए ।
व्यापारकै कुरा गर्दा एकैछिन भूराजनीतिक प्रसङ्ग कोट्याऔँ । एक समयमा छिमेकी मुलुक भारतमा राज गरिरहेका ब्रिटिसले नेपालका भन्ज्याङ हुँदै तिब्बतसम्म व्यापारमार्ग विस्तार गर्ने लक्ष्य राखेका र ती व्यापारमार्गमा पहुँच बढाउन उनीहरूले भरमग्दुर प्रयास गरिरहेका थिए भन्ने भाष्य बाक्लै सुन्न र पढ्न पाइन्छ ।
अलेक्जेन्डर क्याम्पबेलले आफ्नो पुस्तक नोट्स अन दी हिस्ट्री अफ नेपाल एन्ड ब्रिटिस इन्ट्रेन्टस् इन दी हिमालय रिजन (१९९७) मा यही प्रसङ्ग कोट्याएका छन् । क्याम्पबेलले ब्रिटिसहरूले नेपालबाट भोट (तिब्बत) सम्मको व्यापारिकमार्ग सुनिश्चित गर्न सिक्किम र दार्जिलिङसँग जोडिएका नेपालका भन्ज्याङ–मार्गमा भू–राजनीतिक चासो बढाएको थियो भनी लेखेका छन् ।
विविध परिस्थितिले नेपालको भन्ज्याङबाट तिब्बत प्रवेश गर्न सम्भव नभएपछि ब्रिटिसहरूले सिक्किमको नाथुला भन्ज्याङबाट तिब्बतसँगको व्यापारिक मार्ग तयार पारेका थिए । यसपछि नेपाल र भोटबीचको व्यापारमा व्यापक गिरावट आएको देखिन्छ ।
व्यापारिक कारोबारमा भन्ज्याङको भूमिको बखान पेस गर्दा रेशममार्गलाई पनि सम्झनुपर्ने हुन्छ । एसिया र युरोपलाई जोड्ने प्राचीन रेशममार्गमा पर्ने ठूला ठूला भन्ज्याङ हुँदै व्यापारिक मालवस्तु ओसारपसार हुने गरेको थियो । यस्ता भन्ज्याङमा काराकोरम पास (भारत), तेरेक पास (किर्गिस्तान), हिन्दकुश पर्वत पास (अफगानिस्तान तथा पाकिस्तान), ककेसस पर्वत पास, पामिर पर्वत पास (चीन तथा अफगानिस्तान) आदिलाई दृष्टान्तका रूपमा लिन सकिन्छ ।
यी विशाल भन्ज्याङ हुँदै सञ्चालित रेशममार्गले अन्तरमहादेशीय वाणिज्य सम्बन्धलाई मात्र प्रवर्धन गरेन फरक फरक संस्कृतिलाई जोडेर गुनिलो योगदान दिएको थियो ।
रणनीतिक महत्व
नेपालको विभिन्न कालखण्डका शासकले रक्षात्मक रणनीति तथा प्रत्याक्रमणका दृष्टिले भन्ज्याङलाई उपयोग गर्दै आएको ऐतिहासिक अभिलेख भेटिन्छ । लिच्छविकालीन, मल्लकालीन तथा राणाकालीन इतिहास नियाल्ने हो भने उपत्यकालाई बाहिरी आव्रmमणबाट जोगाउन मुख्य मुख्य भन्ज्याङमा सुरक्षा पोस्ट खडा गरी पहरा दिने व्यवस्था गरिएको प्रमाण भेटिन्छन् ।
सुदर्शनराज तिवारीले हाँडीगाउँको पुरातात्त्विक महत्वमाथि लेखेको पुस्तकमा लिच्छविहरूले थानकोटलगायतका उपत्यकाका प्रमुख प्रवेशद्वार (भन्ज्याङ) हरूमा सुरक्षा संरचना तयार पारेको पुराताìिवक प्रमाण भेटिएको उल्लेख गरेका छन् ।
इतिहासकार डिल्लीरमण रेग्मीले मिडिभल नेपाल (सन् १९६५) मा मल्ल राजाले धाकु भनिने पेसेवर योद्धालाई राज्यभरिको रणनीतिक ठाउँमा तैनाथ गर्थे भनी लेखेका छन् । पुस्तकमा उल्लिखित ‘रणनीतिक ठाउँ’ ले उपत्यकाका प्रमुख भन्ज्याङलाई सङ्केत गर्ने कुरा सहजै अनुमान गर्न सकिन्छ ।
लुडविक स्टिलरले आफ्नो कृति नेपाल : ग्रोथ अफ अ नेसन (सन् १९९३) मा राणाहरूले काठमाडौँ उपत्यका प्रवेशका लागि अनुमतिपत्रको प्रावधान राखेर विदेशीको पहुँचलाई सीमित गरेर बाह्य प्रभाव र सम्भावित सुरक्षा खतरा न्यूनीकरण गर्ने उपाय रचेको उल्लेख गरेका छन् । राणाहरूले चिसापानी गढीमा सुरक्षा निकाय खडा गरी उपत्यका प्रवेशमा अनुमतिपत्रको प्रावधान राखेको तथ्य उतिविधि पुरानो बनेको छैन ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियानमा रणनीतिक रूपमा नुवाकोट कब्जा गरेपछि समृद्धशाली मानिएको काठमाडौँ उपत्यकाको भोटसँग व्यापारमार्ग अवरुद्ध भयो । जसबाट उपभोग्य वस्तुको अभावले उपत्यकामा हाहाकार मच्चिएको प्रसङ्ग इतिहासका पानामा अङ्कित छ । यो घटना नेपालको राजनीतिक इतिहासमा एउटा बहुश्रुत प्रसङ्ग हो ।
यसै सन्दर्भमा लुडविक स्टिलरले आफ्नो कृति दी साइलेन्ट क्राइ : दी पिपुल अफ नेपाल (सन् १९९५) मा पृथ्वीनारायण शाहको सेनाले प्रमुख पर्वतीय भन्ज्याङलाई सावधानीपूर्वक नियन्त्रित र सुरक्षित गरेको तथा यसले उनको सेनालाई अरूका ठूला तथा शक्तिशाली सेनासँग भिड्न र विजित क्षेत्रहरूको रक्षा गर्न सक्षम बनायो भनी चर्चा गरेका छन् ।
लियो ई. रोजले आफ्नो बहुचर्चित कृति नेपाल : स्ट्याटेजी फर सर्भाबल (सन् १९७१) ले काठमाडौँ उपत्यकाको वरिपरिका भन्ज्याङलाई गोर्खाली सेनाले नियन्त्रणमा लिएपछि काठमाडौँ उपत्यकामाथिको विजय सम्भव भएको थियो भनी चर्चा गरेका छन् ।
भारतमा राज गरिरहेका र काठमाडौँ उपत्यका भित्रिन खोजेका ब्रिटिस सैन्यदस्तालाई नेपाली सेनाले सिन्धुलीगढीबाटै खेदाएको रोचक र सनसनीपूर्ण ऐतिहासिक घटनाबारे पर्याप्त सुन्न र पढ्न पाइन्छ । यसबारे स्वदेशी तथा विदेशी इतिहासकारले लेखेका छन् ।
जोन पेम्बलले आफ्नो कृति दी इन्भेजन अफ नेपाल (सन् १९७१) मा सिन्धुलीगढीको साँघुरो भन्ज्याङको उपयोग गरेर नेपाली सेनाले हातहतियारबाट सुसज्जित ब्रिटिस सेनामाथि विजय प्राप्त गरेको चर्चा गरेका छन् । यी दृष्टान्तले रणनीतिक दृष्टिले विगतमा भन्ज्याङ कति महत्वपूर्ण थिए भन्ने तथ्य अघि सार्छन् ।
भन्ज्याङ वाङ्मय
भन्ज्याङ भएर आवतजावत गर्दा वा भन्ज्याङमा सुस्ताउँदा कतिका मनभित्र कवित्वपूर्ण भाव अङ्कुरित भए होलान् । त्यसको लेखाजोखा कहाँ भेटिएला र ? ती कवित्वपूर्ण भावलाई थोरैले मात्र लिपिबद्ध गरेको हुनु पर्छ ।
बहुसङ्ख्यकको कवित्वपूर्ण भाव त्यसै बिलाए होलान् । जेहोस् हाम्रा असङ्ख्य भन्ज्याङले साहित्य रचनामा बल पु¥याएको हुनु पर्छ । जसलाई पुष्टि गर्ने धेरथोर कृति नेपाली साहित्यमा भेटिन्छन् ।
साहित्यकार झपटबहादुर राणाको कवितासङ्ग्रहको नाम हो, भन्ज्याङका सुसेली (विसं २०४७) । साहित्यकार कृष्णचन्द्रसिंह प्रधानको पहिलो कवितासङ्ग्रह ‘भन्ज्याङनिरै’ (विसं २००८) स्मरणीय छ । ध्रुवसत्य परियारको भन्ज्याङलाई चिठी शीर्षकमा कविता प्रकाशित छ ।
आख्यानकार रमेश विकलको कथाकृति भन्ज्याङको चौतारो उनी स्वयंलाई मन परेका कृतिमध्ये एक रहेछ । यो कुरा साहित्यिक अध्येता उत्तम कुँवरकृत कृति स्रष्टा र साहित्यमा उल्लिखित छ । यसैगरी साहित्यकार सागर खड्काले भन्ज्याङसँगै साइनो गाँसेर राइपाली भन्ज्याङ (विसं २०८०) उपन्यास प्रकाशनमा ल्याएका छन् ।
साहित्यकार झैँ सञ्चारकर्मीहरू पनि भन्ज्याङबाट अप्रभावित रहन सकेका छैनन् । परिणामस्वरूप अखबारको नामले पनि भन्ज्याङसँग साइनो जोडेको पाइन्छ । तनहुँको सदरमुकाम दमौली (डमाली) बाट प्रकाशन हुँदै आएको भन्ज्याङ दैनिकलाई यसको दृष्टान्त मान्न सकिन्छ । यसका सम्पादक नारायण खड्का भन्ज्याङ ले ४३ वर्षमा प्रवेशको अवसरमा २०८० साल चैत ३० गतेको अङ्कमा लेखेका छन्, २०३९ सालमा कास्कीको पोखरामा साप्ताहिक रूपमा प्रकाशन यात्रा सुरु गरेको भन्ज्याङले विसं २०५९ सालबाट दैनिकमा रूपान्तरण भई तनहुँको दमौलीबाट प्रकाशित हुँदै आएको छ ।
भन्ज्याङसँग नाता जोडिएका यी तमाम ज्ञात वा अज्ञात वाङ्मयले भन्ज्याङ जिन्दगीका अनेकन आयाम उद्घाटन गरिरहेका छन् ।
भन्ज्याङका भाका
लोकस्रष्टा र लोककविले भन्ज्याङलाई कसरी चटक्कै बिर्सन सक्लान् र ? पहाडी जिन्दगानीका धेरैजसो पोयो र पाटाहरू भन्ज्याङसँगै जोडिएका छन् । मानव जिन्दगानीसँग नाता गाँस्ने भन्ज्याङसँग लोकस्रष्टा अलग रहन सक्ने कुरै भएन । लोकस्रष्टा र भन्ज्याङबीचको साइनो लोकभाकाहरूमा छताछुल्ल पोखिन्छन् ।
एक समयमा रेडियो नेपालबाट गुञ्जने ‘भन्ज्याङको डिलमा बसी’ बोलको गीत निकै हिट थियो । राष्ट्रकवि माधव घिमिरेका शब्दमा खिपिएका अनि किरण प्रधानको स्वरमा गुञ्जिएको त्यस भावुक सिर्जनाले भन्ज्याङसँग मीठो साइनो गाँस्छ । त्यस गीति सिर्जनाले भन्ज्याङको परिवेशसँग जोडिएका प्रणय प्रसङ्गको मनोवैज्ञानिक पक्षलाई मजैसँग उघारेको छ, पानी परेपछि उघ्रिएको आकाश झैँ । गीतको सानो अंश :
भन्ज्याङको डिलमा बसी तिम्रो बाटो हेर्छु म त
कतै केही माग्न पाए तिमीलाई नै माग्छु म त
माथि नै चर्चा गरियो, भन्ज्याङ भरियाले भारी बिसाउने र सुस्ताउने ठाउँ हो भनेर । भारी बोक्ने खच्चर तथा ट्रकको प्रवेश नहुँदासम्म तमाम मालसामान भरियाको पिठियुँमा बोकिएर गन्तव्यमा पुग्थे । यही वास्तविकतालाई जनकवि केशरी धर्मराज थापाले अन्तस्करणबाटै अनुभूत गरेको पाइन्छ । थापाले आफ्नो कृति पहाडी सङ्गीतमा पसिनाले नुहाउने भरियाबारे मर्मस्पर्शी गीत लेखेका छन् । गीतको सानो अंश यस्तो छ, भरियाले बिसायो भारी भन्ज्याङको पीपलु छायाँमा ।
तीर्थबहादुर गन्धर्व र साथीहरूले भन्ज्याङसँग जोडेर मुगलानीको मनोभावलाई गुञ्जाएका छन् । परदेशिएका प्रियजन फर्कन आशामा बाटो हेरेर बसेका प्रियजनलाई दरिलो ढाडस दिने ती स्वरकर्मीहरूले गीतमा मुगलानीहरू देउराली भन्ज्याङ आइपुगेको सुखद सन्देश दिने भाका गुञ्जाएको छ । प्रतीक्षाको घडी बिताइरहेका प्रियजनमा उत्साहको सञ्चार गर्ने त्यस गीतको थेगो छ, आइपुग्यो माया देउराली
भन्ज्याङ, नरोऊ धुरुरु ।
नयाँ पुस्ताका स्वरकर्मी तथा सर्जकहरूले देउराली–भन्ज्याङलाई मुटुभरि सजाएका छन् । अन्जान आभुछा किराँतीको शब्दमा झरना राईले यस्तै भावुक प्रकृतिको भाका गुनगुनाएकी छन् । जसको सानो अंश यस्तो छ :
देउराली भन्ज्याङ काटी जानेलाई
यो चोखो माया छाडिजानेलाई
मेरो एउटा सन्देश सुनाइदेऊ
नबिर्स है गाउँको गुन्द्रुक ढिँडोलाई
नभुल है स्वर्ग जस्तै जन्मभूमिलाई
मानव सभ्यताको मिर्मिरेकालदेखि नै देउराली–भन्ज्याङसँगको नातालाई छातीभरि सजाएर गुनगुनाउने पारखीहरू असङ्ख्य थिएन होलान् । वर्तमानमा पनि परिचित–अपरिचित तथा ज्ञात–अज्ञात भावुकजनले भन्ज्याङको भाका गुनगुनाइरहेका छन् । चाहेर पनि ती सबै भावुकजनको नाम उच्चारण गर्न सम्भव छैन ।
स्थाननामले बोलेका भाषा
नेपालका गाउँबस्तीमा भन्ज्याङसँग साइनोपात गाँसिएका स्थाननाम बग्रेल्ती भेटिन्छन् । यस्ता स्थाननामसँग भौगोलिक आयाम त यसै पनि जोडिएका हुन्छन् नै त्यसबाहेक वानस्पतिक, जातीय, धार्मिक, राजनीतिक, प्रशासनिक आयाम पनि जोडिएका हुन्छन् ।
हामीकहाँ वनस्पतिसँग नामसँग जोडिएका भन्ज्याङ पनि छन् । जस्तै : समी भन्ज्याङ (लमजुङ), बेल भन्ज्याङ (तनहुँ), वर भन्ज्याङ (तनहुँ), पीपल भन्ज्याङ (सिन्धुली, धादिङ, उदयपुर आदि), लाँकुरी भन्ज्याङ (ललितपुर), साल भन्ज्याङ (रोसी गाउँपालिका, काभ्रे), प्याउली भन्ज्याङ (भोजपुर), ओखर भन्ज्याङ (ललितपुर) । खोजीपस्दा अरू वनस्पतिसँग नामसँग जोडिएका अन्य भन्ज्याङ नाम पनि भेटिन सक्छन् ।
कतिपय भन्ज्याङको नामकरण पशुपन्छीको नामसँग जोडेर गरिएको पाइन्छ । चरी भन्ज्याङ (पाँचथर), चुली स्याल भन्ज्याङ (काठमाडौँ), बाघ भन्ज्याङ (तनहुँ), चखेवा भन्ज्याङ (भोजपुर) आदिलाई यसको दृष्टान्त मान्न सकिन्छ । यस्ता नामले भन्ज्याङ र पशुपन्छीबीचको नातालाई उजागर गरेको पाइन्छ ।
नेपालको प्रशासनिक विभाजनले पनि भन्ज्याङलाई अङ्गीकार गरेको छ । उदाहरणका लागि वाण भन्ज्याङ (काठमाडौँ), वर भन्ज्याङ (तनहुँ), पोखरी भन्ज्याङ (तनहुँ), समी भन्ज्याङ (लमजुङ), केवारे भन्ज्याङ (स्याङ्जा), चित्रे भन्ज्याङ (स्याङ्जा), जगत भन्ज्याङ (स्याङ्जा), तुलसी भन्ज्याङ (स्याङ्जा) कुनै समयमा गाउँ विकास समिति (गाविस) का नाम थिए । नयाँ प्रशासनिक विभाजन अनुसार माने भन्ज्याङ गाउँपालिका ओखलढुङ्गाको आठ वटा स्थानीय तहमध्ये एक हो । २०२८ सालमा लमजुङको सदरमुकाम बेँसीसहर सर्नुअघि यसको सदरमुकाम कुन्छा (भन्ज्याङ) थियो ।
हामीकहाँ देशको जातीय विविधता झल्कने स्थाननाम त यथेष्ट छन् । यसका अतिरिक्त जातीयतासँग जोडिएका भन्ज्याङको नाम पनि यदाकदा भेटिन्छन् । तिवारी भन्ज्याङ (भोजपुर), बाहुन भन्ज्याङ (लमजुङ) आदिलाई उदाहरणका रूपमा लिन सकिन्छ ।
नेपालमा विद्यालयको नामकरणमा भन्ज्याङ संस्कृतिबाट टाढिएको छैन । देशभरका थुप्रै विद्यालयको नाम भन्ज्याङसँग जोडिएका छन् । भन्ज्याङ मावि (ताप्लेजुङ), तिवारी भन्ज्याङ मावि (भोजपुर), ओखर भन्ज्याङ प्रावि (ललितपुर), बेलकोट भन्ज्याङ मावि (नुवाकोट), डोल भन्ज्याङ मावि (धादिङ), पीपल भन्ज्याङ मावि (धादिङ), सामरी भन्ज्याङ मावि (धादिङ), देवी भन्ज्याङ राष्ट्रिय आधारभूत विद्यालय (चितवन), सामरी भन्ज्याङ मावि (पाल्पा) आदिलाई दृष्टान्तका रूपमा लिन सकिन्छ । यस्ता नामले हाम्रो भू–शैक्षिक वास्तविकता नजानिँदो किसिमले औँल्याएका छन् । यी स्थाननामले हामीकहाँ जैविक विविधता, भौगोलिक विविधता, सांस्कृतिक विविधता, जनप्रशासनिक ढाँचा तथा भू–शैक्षिक वास्तविकता समेट्ने गम्भीर भाषा बोलिरहेका छन् ।
बिसाउनी
नेपाली जनजीवनमा बृहत्तर सामाजिक तथा सांस्कृतिक आयतन समेट्ने भूगोल हो भन्ज्याङ । यो एउटा अपरिमित विषय हो । जसबारे व्यापक अध्ययन र छलफल अपेक्षित छ । यसबारे असङ्ख्य शोधपत्र र शोधग्रन्थ अपेक्षित छ । प्रस्तुत लेख त भन्ज्याङको अपरिमित दायरालाई छेउबाट कोट्याउने दुस्साहस मात्र हो ।
–युवामञ्च