• १० जेठ २०८२, शनिबार

दार्चुला र बैतडीका ३४ ठाउँको पहिरो नियन्त्रण

blog

बैतडीको पुर्चौडी नगरपालिका–३ सल्लेवनका दिलबहादुर धानुकको खेतमा लगाइएको पर्खाल । तस्बिर : कृष्णबहादुर धामी

कृष्णबहादुर धामी
दार्चुला, जेठ १० गते ।
सुदूरपश्चिम प्रदेश सरकारले पहाडी जिल्ला दार्चुला र बैतडीका ३४ ठाउँको पहिरो नियन्त्रण गरेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ मा सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गतको भू–तथा जलाधार व्यवस्थापन कार्यालय दार्चुलाबाट वर्षातका बेला वा विभिन्न कारणले खसेको पहिरो नियन्त्रण गरी घर, खेतीयोग्य जमिन र पाखो जमिनलाई जोगाएको छ । 

भू–तथा जलाधार व्यवस्थापन कार्यालय दार्चुलाले बैतडी र दार्चुलामा पहिरो नियन्त्रण, तटबन्ध निर्माण र पानी मुहान संरक्षण तथा रिचार्ज पोखरी निर्माण गर्ने कार्य गरेको कार्यालय प्रमुख विनोद शाहले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा दार्चुला र बैतडीमा गरी ३४ वटा पहिरो नियन्त्रणका योजना सञ्चालनमा छन् । जसमध्ये २७ पहिरो नियन्त्रणका योजनाहरू निर्माण सम्पन्न भई अन्तिम भुक्तानी भइसकेको उहाँले जानकारी दिनुभयो । 

प्रदेश सरकारले चालु आर्थिक वर्षमा भू–तथा जलाधार व्यवस्थापन कार्यालय दार्चुलालाई पहिरो नियन्त्रण, तटबन्ध निर्माण, पानी मुहान सङ्रक्षण र रिचार्ज पोखरी निर्माणका गरी १०५ वटा कार्यक्रम/योजना स्वीकृत गरी पठाएको थियो । कार्यालयलाई चालु आर्थिक वर्षमा १० करोड १६ लाख रुपियाँ पुँजिगत बजेट प्राप्त भएकोमा सात करोड ३० लाख बजेट खर्च भइसकेको उहाँले जानकारी दिनुभयो ।

पहिरो नियन्त्रणको योजना हालेर प्रदेश सरकारले आफ्नो कमाइ खाने खेत र घर जोगाइदिएको पुर्चौडी नगरपालिका–३ सल्लेवनका स्थानीय दिलबहादुर धानुकले बताउनुभयो । “वर्षातको बेला सधैँ पहिरो खसेर खेतबारी लग्थ्यो यो वर्ष योजना आएर ढुक्क भएका छौँ ।” उहाँले भन्नुभयो ।

कार्यालयले खोलाको कटानबाट बस्ती जोगाउन दार्चुला र बैतडी जिल्लामा गरी ५९  वटा तटबन्ध निर्माणका योजनाहरू सञ्चालन गरेको छ भने ४३ योजनाको निर्माण कार्य सम्पन्न गरेको छ । १२ वटा पानी मुहान संरक्षण र रिचार्ज पोखरी निर्माणका योजना मध्ये नौ वटा योजनाको निर्माण कार्य सम्पन्न गरी अन्तिम भुक्तानी गरिएको कार्यालय प्रमुख शाहले जानकारी दिनुभयो ।
खोला किनारमा तटबन्ध निर्माणपछि कटानको समस्या हल भएको तथा वर्षातको बेला बाढीको जोखिम कम भएको दुहुँ गाउँपालिका–५ दार्चुलाका स्थानीय प्रेमराज भट्टले बताउनुभयो । “यसवर्ष सिमित बजेटमा सिमित काम गर्न सकियो, तटबन्ध थप निर्माण गर्न अगामी वर्षमा पनि प्रदेश सरकारले बजेट देओस् ।” उहाँले भन्नुभयो । कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा ७१ दशमलव ८५ प्रतिशत पुँजिगत बजेट खर्च गर्न सफल भएको छ ।