• १३ साउन २०८१, आइतबार

विद्युतीय सवारी साधन अबको भविष्य : मन्त्री मगर

blog

कपिल ज्ञवाली
सिद्धार्थनगर, जेठ २८ गते ।
लुम्बिनी प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री पूर्मति ढेंगा मगरले विद्युतीय सवारी साधन अबको भविष्य भएको बताउनुभएको छ ।

उपभोक्ताहरु महँगीकाे मारमा पर्दै गइरहेको र पेट्रोलियम पदार्थको विकल्पका रुपमा विद्युतीय साधनलाई प्राथमिकता दिन उहाँको आग्रह थियो ।

लुम्बिनी अटोमोबाईल्स एशोसियसन अफ नेपाल नाडाका दोस्रो वार्षिक साधारणको रुपन्देहीको तिलोत्तमामा उद्घाटन गर्दै उहाँले विद्युतीय गाडीका चार्जिङ स्टेशन बनाउने तयारी भइरहेको र त्यसपछि विद्युतीय बस चलाउन निजी क्षेत्रसँग सहकार्य गरिने बताउनुभयो । मन्त्री मगरले उपभोक्ताको रुची अनुसारका सवारी साधन भित्र्याउन पनि यातायात क्षेत्रका व्यसायीलाई आग्रह गर्नुभयो ।

मन्त्री मगरले युवाहरुलाई देशमै रोजगार दिन अटो व्यवसायको ठूलो योगदान रहेको बताउनुभयो । प्रदेश सरकारले अटो व्यवसायलाई उकास्ने गरी अटो तालिमका साथै उद्यम व्यवसायी बनाउने रुपमा उद्यमशीलतामुखी कार्यक्रमहरु ल्याएको बताउनुभयो ।

युवा र अटो क्षेत्रलाई समेट्ने गरि नीतिगत रुपमा आफुले काम गर्ने प्रतिबद्धता जनाउदै उहाँले सडकको मर्मत,सडक प्रयोगका बारेमा जानकारी दिने,सवारी ब्यवस्थापनका लागि आवश्यक ट्राफिक ब्यवस्थापनको लागि समेत सरकारले पहल गर्ने बताउनुभयो ।

सरकारका कानुन नीति नियम व्यवसायीमैत्री बनाउन आफ्नो पहल रहने र यसमा आफू संवेदनशील रहेको बताउनुभयो ।

सडक दुर्घटना न्यूनिकरण गर्न, पार्किङ व्यवस्थापन, सडकमा सीसी टिभी जडानलगायतका काम हुन गइरहेको समेत उहाँले जानकारी दिनुभयो ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डयले अटो क्षेत्रका व्यवसायीको अनुहार निरास भइरहेको भन्दै उहाँहरुलाइ ऊर्जा भर्न प्रदेश सरकार र स्थानीय सरकार तयार रहेको बताउनुभयो । उहाँले व्यवसायीमैत्री बन्न र हातेमालो गर्न बुटवल उपमहानगर सधैं तयार रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा नाडाका केन्द्रीय अध्यक्ष ध्रुवबहादुर थापाले प्रदेशस्तरमा संस्थालाई विकेन्द्रीकरण गरी व्यवसायीहरुलाई सङ्गठित र मजबुत बनाउने कामलाई अघि बढाएको बताउनुभयो । इतिहासमै अटो क्षेत्र सबैभन्दा कठिन समस्यामा रहेकोले सरकारको विशेष ध्यान जानुपर्नेमा जोड दिनुभयो ।

साढे ३ खर्बको लगानी, एक लाख प्रत्यक्ष र राजस्वमा २५ प्रतिशत योगदान दिएको क्षेत्रलाई राज्यबाट योगदानको महत्तव बुझ्न नसकेको दुखेसो गर्नुभयो । विद्युतीय सवारीलाई प्राथमिकता राख्ने भनेपनि व्यवहारमा कार्यान्यनमा चुकेको उहाँले दुखेसो गर्नुभयो ।

नाडा लुम्बिनीका अध्यक्ष गणेश भट्टराईले लुम्बिनी प्रदेशका १२ जिल्लाका व्यवसायीहरुलाई सङ्गठित गर्दै अगाडि बढेको बताउनुभयो । देशको राजस्वमा २५ प्रतिशत योगदान दिएको र लाखौं युवाहरुलाई रोजगार दिन सफल भएको र कुल आयको दोब्बर राजस्व अटो मोबाइल्स व्यवसायीहरुले उपलब्ध गराउने गरेको उहाँले बताउनुभयो ।

सरकारले पछिल्लो समय सवारी आयातमा प्रतिबन्धले आर्थिक समस्या उत्पन्न हुने देखिएको बताउनुहुँदै उहाँले अटोमोबाइल्स व्यवसायमा सङ्कटमा परेको बताउनुभयो । समृद्धिको यात्रामा अघि बढेको देशकै विकास गर्न पर्यटन र कृषि प्रमुख मानिने भएकाले पनि यसमा अटो मोबाईल्सको महत्वपूर्ण योगदान रहेको उहाँको भनाइ छ  ।

यसैगरी, ट्राफिक प्रहरी कार्यालय लुम्बिनी प्रदेशका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले ट्राफिक नियमको पूर्ण पालना नभई दुर्घटनामा कमी नआउने भन्दै यसतर्फ सबै सचेत हुनुपर्ने बताउनुभयो ।