चन्द्र पन्दाक
ताप्लेजुङ, जेठ ९ गते। ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको छ। नयाँ शैक्षिक वर्ष सुरु भएसँगै गाउँपालिकाभित्रका सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको हो।
यसअघि गाउँपालिकाले पालिकाभित्रका सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गर्ने निर्णय गरेसँगै यस वर्षदेखि पठनपाठन सुरु गरिएको हो। गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाका अनुसार यसवर्र्ष बालविकास कक्षादेखि अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु भएको छ।
गाउँपालिकाभित्र २९ वटा सामुदायिक विद्यालय रहेका र सबै विद्यालयको बालविकास कक्षादेखि अङ्ग्रेजी माध्यमको पढाई सुरु भएको थापाले जानकारी दिनुभयो।
अङ्ग्रेजी माध्यमबाट पठनपाठन गरिएसँगै गाउँपालिकाले पाठ्यपुस्तक वितरण गर्न थालेको छ। गाउँपालिकाभित्रका २९ वटा सामुदायिक विद्यालयमा बालविकास कक्षामा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या ३६० रहेको र सो सङ्ख्यामा रहेका विद्यार्थीलाई अङ्ग्रेजी माध्यमको पाठ्यपुस्तक वितरण गर्न सुरु गरिएको स्वकीय सचिव थापाले जानकारी दिनुभयो।
उहाँका अनुसार बिहीबार वडा नम्बर ४ साँवास्थित साँवा माध्यमिक विद्यालयमा बालविकास कक्षमा अध्ययन गर्ने विद्यार्थी (बालबालिका) लाई पाठ्यपुस्तक वितरण गरिएको छ। गाउँपालिका अध्यक्ष कार्की, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विमल गौतम, गाउँपालिका शिक्षा शाखा प्रमुख पवन भट्टराई लगायतको उपस्थितिमा पाठ्यपुस्तक वितरण गरिएको हो।
यसवर्ष बालविकास कक्षादेखि सुरु भएको पठनपाठन अर्को वर्ष कक्षा १, त्यसपछि कक्षा २ हुँदै क्रमशः माध्यमिक तहसम्म नै अङ्ग्रेजी माध्यमको पठनपाठन सञ्चालन गर्ने गाउँपालिकाको योजना रहेको छ। दूरदराजका गाउँदेखिसमेत अभिभावकले आफ्ना बालबालिकालाई मोटो रकम खर्च गरेर अङ्ग्रेजी माध्यमको शिक्षा पढाउन शहर बजारमा सञ्चालित बोर्डिङ स्कूलमा पु¥याउने चलन बढ्दै गएपछि गाउँमै अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको बताइएको छ।