• ९ जेठ २०८२, शुक्रबार

बैतडीमा भूकम्पपछि दश वटा पराकम्पन

blog

बैतडी सदरमुकाम खलङ्गा गढी क्षेत्र। तस्बिरः गोकर्ण दयाल

गोकर्ण दयाल  

बैतडी, जेठ ९ गते। बैतडी सदरमुकाम खलङ्गा क्षेत्रमा शुक्रबार राति १ बजेर ४८ मिनेट जाँदा गएको ५.१ रेक्टर स्केलको भूकम्पपछि ३.७ रेक्टर स्केलको एक र त्यसपछि १० वटा साना परकम्पन गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ। भूकम्पको पहिलो धक्का बैतडीसहित सुदूरपश्चिमका अन्य जिल्लामा महसुस गरिएको छ। भूकम्पबाट मानवीय र भौतिक क्षति भने भएको छैन। 

भूकम्प मापन केन्द केन्द्र सुर्खेत कार्यालयका प्रुमख चिन्तन तिमिल्सिनाका अनुसार ५.१ रेक्टर स्केलको भूपकम्प गएको २० मिनेटपछि ३.७ रेक्टर स्केलको दोश्रो र त्यसपछि १० वटा साना पराकम्पन गएका हुन्। उहाँका अनुसार बैतडीसहित पश्चिम नेपालमा भूकम्पको जोखिम कायमै रहेकाले भौतिक संरचना भूकम्प प्रतिरोधी बनाउन आवश्यक देखिएको छ। 

भूकम्पपछि बैतडी सदरमुकाम आसपासका भौतिक संचरनाको स्थलगत निरीक्षण गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्ययले बताउनुभयो। उहाँले शुक्रबार राति गएको भूपम्पले मानवीय र भौति क्षति भने नभएको बताउनुभयो। 

प्रजिअ उपाध्यायले पश्चिम नेपाल भूकम्पको जोखिममा रहेको कुरा विभिन्न अध्ययनबाट सार्वजनिक भएकाले  जनचेतना र भूकम्पप्रतिरोधी भौतिक संचरना निर्माण हुन जरुरी देखिएको बताउनुभयो। 

२० प्रतिशत संरचना जोखिममा  

बैतडी सदरमुकामको मुख्य बजार गोठालापानीदेखि शाहीलेक हुँदै गढीसम्म करिब एक हजार भन्दा बढी पक्की घरहरु विभिन्न समयमा निर्माण भए पनि ८० प्रतिशत घर नक्सा पास नगरी निर्माण भएका छन्। 

विभिन्न अध्ययन र शुक्रबार राति गएको भूकम्पले बैतडी सदरमुकाम उच्च जोखिममा रहेको पुष्टि गरेको छ। भौतिक संचरनाका हिसाबले बैतडी लगायत सुदूरपश्चिमका अन्य जिल्लाका भौतिक संचरना मझौला खालको भूकम्प थेग्न सक्ने खालका नभएको भूकम्प मापन केन्द केन्द्र सुर्खेत कार्यालयका प्रमुख चिन्तन तिमिल्सिनाले बताउनुभयो। 

भूकम्प आयो भने बैतडी सदरमुकाम गोठापानी बजारमा भाग्ने ठाउँसमेत छैन। नगरपालिकाले नयाँ घर निर्माण गर्दा अनिवार्य नक्सा पास गर्न भने पनि आफूखुसी घर प्रचलन हट्न सकको छैन। जिल्लामा भूकम्प दिवसका दिन मात्रै जोखिमको चर्चा हुने गरेको छ। व्यवहारतः भूकम्प प्रतिरोधी घर बन्न सकेका छैनन्।  

२०७२ सालको भूकम्पपछि दशरथचन्द नगरपालिकाले अनिवार्य घरको नक्सा पास गराएर मात्रै नयाँ भवन निर्माण गर्ने नीति सार्वजनिक गरे पनि कार्यान्वयन हुन सकेको छैन। नगरपालिकाकै जग्गा र बाटो मिचेर घर निर्माण भइरहँदा पनि जनप्रतिनिधिको ध्यान जान सकेको छैन।